Comments Add Comment

दलहरुलाई शिक्षकको चूनौती, चुनाव लड्न धमाधम राजीनामा

४ बैशाख, सुर्खेत । आगामी बैशाख ३१ को स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सुर्खेतमा शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

स्थानीय तह चुनावमा उम्मेदवार बन्न्कै लागि सामुदायिक विद्यालयका शिक्षकहरुले राजिनामा दिएका हुन् । उनीहरुले खुला रुपमै राजनीतिक दल र नेताहरुलाई चुनौती दिएर अबको स्थानीय तहको नेतृत्व आफूहरुले गर्ने दाबी गरेका छन् ।

शिक्षकहरुले राजीनामा दिएर आफू निकट राजनीतिक दलहरुसँग नगरपालिकाको मेयर, उपमेयर तथा गाउँपालिकाको अध्यक्षका लागि टिकटको लविङ गरिएका छन् । केही शिक्षकहरुले वडाध्यक्षका लागि समेत लविङ गरेको पाइएको छ ।

राजनीतिक दलबाट टिकट पाउने सम्भावना नभएका केही शिक्षकले भने स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर प्रचार थालेका छन् ।

नेताहरुमा भिजन नभएपछि शिक्षक राजनीति आउनुपर्‍योः दहाल 

गेन्द्रप्रसाद दहाल प्राध्यानाध्यापक पदबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा जुट्ने मध्येका सबैभन्दा चर्चित व्यक्ति हुन् । उनी झण्डै ७ वर्ष सेवा अवधि बाँकी हुँदै प्राध्यानाध्यापक पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका छन् ।

दाहाल श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालयमा प्राध्यानाध्यापक थिए । उनले वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । संविधान कार्यान्वयन र व्यवस्थित गर्नका लागि आफूहरुले लामो शैक्षिक जीवनबाट राजीनामा दिएर मेयरका लागि उम्मेदवारी घोषणा गरेको उनले बताए ।

स्वतन्त्र रुपमा चुनाव लड्न लागेका दाहालले राजनीतिक दलहरुको नेताहरुमा भिजन नहुँदा आफू राजीनामा दिएर राजनीतिमा आएको बताउँछन् । प्रजातन्त्रको पुनर्बहाली भएको २८ वर्षसम्म पनि दलहरुबाट जनताले चाहेको परिवर्तन र विकास हुन नसकेको भन्दै उनले परिवर्तनको नेतृत्व गर्ने क्षमता आफूमा भएको दाबी गरे ।

आफूले सुन्दर नगरको कल्पनासहित समृद्धिको योजना बनाएर जनताको सेवा गर्न राजनीतिमा आएको उनले बताए । ‘शिक्षकले कहिल्यै गलत सिकाउँदैन, सत्यलाई स्वतन्त्र रुपमा नगरबासीले मूल्याङकन गर्नेछन्’ उनले भनेका छन्, ‘नगरबासी कोही दलका अन्धभक्त छैनन्, यो नगरको विकास र युवाहरुको नेतृत्वको लागि जिताउनेछन् ।’

चेलाहरुले नसकेपछि गुरु नै राजनीतिमा आउनुपर्‍योः जिसी

राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा जुट्ने मध्येका अर्का शिक्षक हुन नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काँडाघुवानी मटेलाका बोधविक्रम जि.सी. ।

मो समयदेखि शिक्षक पेसामा रहेका उनले आफ्नो सेवा अवधि बाँकी हुँदै केही समय अघि प्राध्यानाध्यापक पदबाट राजिनामा दिएर चुनावी माहोलमा होमिएका छन् ।

माओवादी केन्द्रका तर्फबाट चिङ्गाड गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि लविङ गरिरहेका जिसीले नयाँ संविधान कार्यान्वयनसँगै परिवर्तन र स्थानीय तहको समृद्धिका लागि शिक्षण पेशा छाडेर राजनीतिमा आएको बताए ।

आफ्ना चेलाहरु नै विभिन्न राजनीतिक दलहरुमा नेतृत्व गरिरहेको भन्दै उनले चेलाहरुले गर्न नसकेको विकास गर्नका लागि गुरु नै राजनीतिमा आउनुपरेको बताए । उनले भने, राजनीति गरिरहेका हाम्रै चेलाहरु हुन्, अब स्थानीय तहका लागि हाम्रो आवश्यकता छ, राजनीति गर्न होइन, म विकास गर्न आएको हुँ ।’

सुर्खेतमा स्थानीय तहको निर्वाचनमा उम्मदवार बन्न कै लागि सामुदायिक विद्यालयको शिक्षकबाट राजिनामा दिनेहरुको लिस्ट ठुलै छ ।
शिखर माध्यामिक विद्यालयका धनसिंह खड्काले पनि राजीनामा दिएका छन् । उनी नेपाल शिक्षक महासंघका केन्द्रीय सचिव पनि हुन् । उनले भेरीगंगा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका लागि लविङ गरिरहेका छन् ।

यस्तै नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वीरेन्द्रनगर-६ की शिक्षिका पार्वती गिरीले पनि राजीनामा दिइसकेकी छन् । गिरी पनि चर्चित शिक्षक नेता हुन् । उनी नेपाली कांग्रेसका तर्फबाट वीरेन्द्रनगर नरपालिकाको उपमेयरका लागि आकांक्षी छन् । कांग्रेसबाट गिरीले नै टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यस्तै प्राथमिक विद्यालयका शिक्षक भुपेन्ऽ वी.सी.ले पनि लेकबेसी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा उम्मेदवारका आकांक्षी हुन् । उनी पनि राजनीतिमा आउने निश्चित छ ।

हरिडिलभूमि आधारभूत विद्यालय तातापानीकी शान्ता योगी, प्रभात मावि कोलडाँडाकी बिमला भारती, नेरा मावि पोखरीकाँडाका झक्कडबहादुर पुलामीले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।

शिव प्राथमिक विद्यालय आँपखोली सहारेका लालबहादुर खत्री, गोकर्ण प्राथमिक विद्यालय पाखापानी रजेनाका कर्ण्बहादुर वली, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सानोजात्री मैनतडाका मानबहादुर राना, श्रीकृष्ण तथा साधारण माध्यामिक विद्यालयका मिनप्रसाद गौतम र बालमन्दिर प्राथमिक विद्यालयका यज्ञकुमार गिरीले पनि राजीनामा दिएका छन् ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चिउरीखेत साल्कोटका विष्णुदेव शाह, जीवनज्योती माध्यामिक विद्यालय दशरथपूरका कृष्णप्रसाद ज्ञवाली, त्रिपूरेश्वर माध्यामिक विद्यालय ढोडेखालीका भिमराज भारतीले पनि राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए ।

उनीहरुले पनि नगरपालिकाका वडाहरु हुँदै गाउँपालिकाको अध्यक्षसम्म उम्मेदवारी दिने तयारी गरेका छन् । राजिनामा दिएकाहरु मध्ये केही शिक्षकहरु भने बिरामी भएकोले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।

इतिहास पनि उस्तै

सुर्खेतमा शिक्षकहरुले सेवा अवधि हुँदै राजीनामा दिएर राजनीतिमा आएको पहिलो पटक भने होइन । यस अघिका निर्वाचनका बेलामा पनि शिक्षकहरुले राजीनामा दिएर सक्रिय रुपमा राजनीतिमा लागि रहेका छन् ।

नेकपा एमाले सुर्खेतका युवा नेता डण्डीप्रसाद शर्माले यस अघि नै राजीनामा दिएर राजनीतिमा आएका चर्चित व्यक्ति हुन् । कांग्रेसमा सक्रिय भएर राजनिति गरिरहेका रामबहादुर सिंहले पनि लामो समय शिक्षण पेसा गरेका थिए ।

यस्तै सारदा उच्च माविका झग्ग बहादुर डांगी र बजेडीचौरका वीरेन्ऽ रावतले पनि यसअघि नै शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका छन् । सिंह र डांगी पनि सुर्खेतका पूर्वी क्षेत्रमा रहेका नगरपालिका र गाउँपालिका उम्मेदवारका आकांक्षी हुन् ।

राजीनामा दिने धेरै प्रावि तहका

जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार राजीनामा दिनेहरु मध्ये धेरै संख्या प्राथमिक तहका शिक्षकहरु रहेका छन् ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार गत मंसिर महिनादेखि हालसम्म राजीनामा दिने शिक्षकहरु मध्ये २ जनाको २० वर्षे सेवा अवधि पुरा भएको थियो भने अन्य शिक्षकहरुले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार मंसिर यता राजीनामा दिने माध्यामिक तहका ५ जना र प्राथमिक तहका १२ जना शिक्षक शिक्षिकाहरु रहेकाछन् ।

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहका अनुसार प्रथामिक तहका शिक्षकहरुको २/३ वर्ष सेवा अवधि बाँकी रहँदा नै राजीनामा दिएका छन् ।

                                           मंसिर, २०७३ पछि राजीनामा दिएका शिक्षकशिक्षिकाहरू ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment