Comments Add Comment

राजकुमार लेखीको ‘यु टर्न’ ले राजेन्द्र महतोलाई के फाइदा ?

थारुको मधेसीकरण विरुद्ध आन्दोलन गर्दा गर्दै आफैं बने मधेसवादी


५ बैशाख, काठमाडौं । राजेन्द्र महतोले एक मधेस एक प्रदेश नभए अलग देश बन्ने चेतावनी दिँदा राजकुमार लेखी सशक्त काउन्टरमा उत्रिएको धेरै वर्ष भएको छैन । यतिसम्म भएको थियो कि मधेस आन्दोलनलाई काउन्टर दिन राजकुमार लेखीले थरुहट आन्दोलनको नेतृत्व समेत गरे ।

थारूहरूलाई मधेसीकरण गर्न खोजिएकै भन्दै लेखीले थारु कल्याणकारी सभाको अध्यक्षको हैसियतमा होसु वा जनजाति महासंघको अध्यक्षको हैसियतमा होस्, सधैं मधेसी मोर्चालाई चुनौती दिइरहे । तराई मधेसमा राजेन्द्र महतोको ‘अतिवाद’विरुद्ध राजकुमार लेखीको ‘अतिवादी’ धार जन्मिएको टिप्पणी समेत भयो ।

अब समय फेरिएको छ । ‘तराईका भूमिपुत्र थारु हुन्, दक्षिणको मैदानी भागलाई मधेस होइन, थरुहट तराई भन्नुपर्छ’ भन्ने राजकुमार लेखी राजेन्द्र महतोकै ‘घर’मा प्रवेश गरेका छन् । लेखीले आफ्नो नेतृत्वको नागरिक समाजवादी पार्टीको भारी राजेन्द्र महतोको सद्भावना पार्टीमा लगेर बिसाएका छन् ।

धेरैले यो एकतालाई अनौठा मानेका छन् । तर, महतो र लेखी दुबैले फाइदाको एकता गरेका छन् । महतोले एउटा शसक्त र राष्ट्रियस्तरमा चिनिएको थारु नेता पार्टीमा भित्र्याउन पाएका छन् । यसका साथै एमाले पृष्ठभूमिका नेताको अभाव पनि पूर्ति भएको छ लेखीको आगमनले । अन्य मधेसवादी पार्टीमा पूर्व एमाले पृष्ठभूमिका नेता भए पनि सद्भावनामा थिएनन् ।
थारु कल्याणकारीसभाको रिमोट कन्ट्रोल बोकेर बसेका लेखीलाई पार्टीमा भित्र्याउदा राजेन्द्र महतोलाई थरुहट क्षेत्रमा संगठन बिस्तारका लागि निकै फाइदा हुन सक्छ । पूर्वका झापा, मोरङ सुनसरीदेखि पश्चिम तराईका थरुहट जिल्लामा लेखीको राम्रो पहुँच छ । ती ठाउँमा अब राजेन्द्र महतोको पार्टीको प्रभाव विस्तारमा लेखीको आगमनले सहज हुनेछ ।

अर्कोतिर नागरिक पार्टी गठन गरे पनि अपेक्षित संगठन बनाउन नसकिरहेका बेला लेखीलाई पनि तराई मधेसमा आन्दोलनको नेतृत्व गर्ने बलियो पार्टी चाहिएको थियो । तराई मधेसमा थारु र मधेसी मिलेरमात्र राज्यसत्तासँग लड्न सकिन्छ भन्ने निचोडमा दुवै पक्ष पुगेपछि एकीकरण हो यो ।

राजेन्द्र महतोको पार्टीमा लेखीले महामन्त्री पाउने समझदारी भएको स्रोतको दाबी छ । लेखीसँग कति व्यक्ति र कत्रो संगठन आयो भन्ने भन्दा पनि थारु समुदायमा महतोको सम्पर्क बिस्तारका लागि यो एकता अर्थपूर्ण हुनेछ ।

एक प्रकारले राजकुमार लेखीको यु टर्न हो यो प्रकरण । किनकी बिगतमा उनी मधेसी मोर्चा र विशेष गरि राजेन्द्र महताको विचारको प्रखर आलोचक थिए । उनले नाकाबन्दीको बेला समेत खुलेर बिरोध गरेका थिए । आदिवासी जनजाति महासंघको अध्यक्ष भएका बेला पनि उनले थारुलाई मधेसीकरण गर्न खोजिएको भन्दै थरुहट अभियान नै चलाएका थिए ।

बिगत केही समययता लेखीले एउटा राजनीतिक शक्ति खोजिरहेका थिए । उनलाई एमालेका केही नेताहरुलाई पूरानै घर फर्काउन नखोजेका पनि होइनन् । एमालेको केन्द्रीय विभागको सदस्यसम्म भइसकेका र एमालेबाटै जनजाति महासंघको अध्यक्ष बनेका लेखी एमालेका लागि आवश्यक पात्र थिए ।

सप्तरीको राजनीतिमा पनि उनको भूमिका एमालेलाई आवश्यक थियो । तर, २०६८ सालमा जुन कारण देखाएर पार्टी छाडेका थिए, त्यो कारण यथावत रहेको भन्दै उनी एमाले फर्किन चाहेनन् । यद्यपि अरुले जस्तो पार्टी छाडेपछि एमाले नेतृत्वलाई गाली गरेनन्, त्यसैले अहिले पनि उनको सम्बन्ध समुधूर नै छ ।

लेखीले यसबीचमा तराई मधेस केन्दि्रत करीव एक दर्जन दलहरुसँग छलफलल गरेका थिए । बिजय गच्छदारको जोड आन्दोलन भन्दा चुनावमै देखिएपछि उनले उपेन्द्र यादवसँग पनि छलफल गरे । उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठसँगको वार्तापछि उनले बाबुराम भट्टराईसँगको बढ्दो हिमचिम रुचाएनन् ।

अन्ततः करीव एक महिनाको प्रयासपछि उनी राजेन्द्र महतो नेतृत्वको सद्भावनासँग पार्टी एकीकरण गर्ने निष्कर्षमा पुगे । थारु कल्याणकारी सभालाई आफ्नो योजना अनुसार चलाइरहेका लेखीलाई लिँदा थारुमा पार्टीको प्रभाव बढ्ने लोभ महतोलाई पनि अवश्य नै भयो ।

उपेन्द्र यादव र बिजय गच्छदार बाहेक अन्य मधेसवादी दलहरुबीच एकताको शुरुवातका रुपमा महतो र लेखीबीचको एकतालाई लिनुपर्ने सद्भावनाका एक पदाधिकारीले बताए । अब मधेसका अन्य पार्टीबीच पनि धमाधम एकीकरण हुने उनको दाबी छ ।

लेखीसँगै सद्भावनामा पुगेका नागरिक पार्टीका नेताहरु रमाकान्त चौधरी, कल्पना थारु, केन्द्रीय सदस्य तुलसी थारु, पूर्णप्रसाद थारु लगायतलाई पनि सद्भावना पार्टीले केन्द्रमा जिम्मेवारी दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment