Comments Add Comment

तारानाथलाई वसुन्धराश्री, खगेन्द्रलाई मानश्री

७ बैशाख, काठमाडौं । ०७४ सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ भाषासेवी एवम् साहित्यकार तारानाथ शर्मालाई अर्पण गरिने भएको छ ।

वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । १९९१ साल असार ९ गते इलाममा जन्मिएका शर्माका ‘बेलायततिर बरालिंदा’, ‘सम र समका कृति’, ‘घोत्ल्याइँहरु’, ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’, ‘नेपाली साहित्यको इतिहास’ लगायत चार दर्जनभन्दा बढी कृति प्रकाशन भइसकेका छन् ।

यस्तै, प्रतिष्ठानले विभिन्न नेपाली सर्जकका सिर्जनाहरुको श्रव्यकृति बनाएर साहित्यको विस्तारमा सक्रिय सञ्चारकर्मी तथा साहित्यसेवी खगेन्द्र नेपालीलाई यस वर्षको मानश्री पुरस्कार दिने भएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

सन् १९४६ अप्रिल २५ काठमाडौंमा जन्मिएका नेपालीले २७ वर्ष बीबीसी रेडियो नेपाली सेवाको प्रमुखका रुपमा रहेर नेपाली भाषाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान गरेका थिए । उनले विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’, डायमनशमसेर राणाको ‘सेतो बाघ’, रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’, स्वामी आनन्द अरुणको ‘सन्त गाथा’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ लगायत साहित्यिक कृतिहरु स्वरांकन गरी श्रव्यकृति निकालिसकेका छन् ।

वसुन्धराश्री र मानश्री पुरस्कार साहित्य, संस्कृति, कला र संगीतको क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट प्रतिभालाई ०५७ सालदेखि हरेक वर्ष दिइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment