Comments Add Comment

पोखराका उम्मेदवार भन्छन्- तिब्बतबाट रेल ल्याउँछौं, ताल जोड्छौं !

भ्रष्टलाई भोट हालिन्न, विकासप्रेमी चाहियोः नागरिक अगुवा

१३ बैशाख, पोखरा । क्षेत्रफलको हिसाबले देशकै ठूलो महानगरपालिका मानिएको पोखरामा चुनावी सरगर्मी बढेको छ । अबको एकसाताभित्रै उम्मेदवारी मनोनयनको तयारीमा रहेका दलका नेता तथा सम्भावित उम्मेदवारहरुलाई हामीले तपाईका चुनावी एजेण्डाहरु के हुन् ? भनेर सोधेका छौं ।

कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरुले फेवा, रुपा र बेगनास ताललाई जोड्ने लिंक रोड बनाउनेदेखि तिब्बतबाट लुम्बिनीसम्म रेल कुदाउनेसम्मका एजेण्डा अघि सारेका छन् ।

मेयरका सबै आकांक्षीहरुले पोखराको विकासलाई प्राथमिकता दिने र लेखनाथ, पोखरा र गाउँहरुको समतामूलक विकासमा ध्यान दिने बताएका छन् ।

मतदाता एवं नागरिक समुदायका अगुवाहरुले भने भ्रष्टाचार नगरेको, विकास प्रेमी एवं पार्टीभन्दा जनतालाई प्राथमिकता दिने उम्मेद्वार उठाउन दलहरुलाई आग्रह गरेका छन् ।

पोखरेलीले नेताका चुनावी एजेण्डा उनीहरुकै शब्दमाः

बेरोजगाररहित शहर, ताल जोड्ने लिंकरोड

रामजी कुँवर, मेयरका दाबेदार नेपाली कांग्रेेस

पोखरालाई बेरोजगाररहित सहर बनाउने र यसका लागि अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने लक्ष्य मेरो छ ।

अन्तरराष्ट्रिय पोखरा विमानस्थल ३ वर्षभित्र बनाउने, ग्रेटर रिङरोड निर्माण गर्ने, क्लिन सिटी बनाउने, रोडमा भइरहेको पार्किङ हटाउने, सरकारी, निजी साझेदारी (पीइपीपी) मोडलमा छुट्टै पार्किङस्थल निर्माण गरी ट्राफिक व्यवस्थापन चुस्त बनाउने हाम्रो मुख्य एजेण्डा रहेका छन् ।

फेवा, बेगनास, रुपासहित महानगरमा पर्ने सबै ताल छुने गरी लिंकेज रोड बनाउने लक्ष्य छ ।

ताल संरक्षणसहित प्रदुषणमुक्त बनाउने, फेवाताल वरिपरि फुट ट्रयाक बनाउने, ठाउँठाउँमा पार्क बनाउने, साईकल लेन बनाउने, छोरेपाटनदेखि अर्मलासम्म र गगनगौंडादेखि मालेपाटनसम्म दोहोरो सञ्चालन हुने गरी मेट्रो रेल चलाउने योजना छ । प्रदेशस्तरीय र महानगरस्तरीय बसपार्क निर्माण गर्ने एजेण्डा लिएर हामी चुनावमा जाँदैछौं ।

तालहरु जोड्ने लिंकेज रोड, समतामूलक विकास

मानबहादुर जिसी, मेयरका सम्भावित उम्मेदवार एमाले

तीन मनोविज्ञान अर्थात पोखरा, लेखनाथ र महानगर बन्दा थपिएका गाउँहरुको मनोभावना समेटेर ३ ठाउँलाई केन्द्र मानेर काम गर्ने हाम्रो मिसन हुनेछ ।
फोहरमैला व्यवस्थापन वैज्ञानिक तरिकाले गरेर त्यहीँ रोजगारी सिर्जना गर्ने, समृद्ध महानगर, सुखी महानगरपालिकाबासी बनाउने लक्ष्य छ ।
पर्यटकीय क्षेत्र लेकसाइड मात्रै हो भन्ने मानसिकता तोडेर महानगरका सबै क्षेत्रमा होटल, रेष्टुरेण्ट खोल्दै होम स्टे अवधारणालाई गाउँगाउँसम्म पुर्‍याउने लक्ष्यका साथ काम हुनेछ ।

प्रदेशस्तरीय र महानगर स्तरीय गरी २ वटा बसपार्क बनाउने, सबै वडालाई जोड्नेगरी सडक सञ्जाल विस्तार गर्ने योजना छ ।

पोखरा र लेखनाथमा पर्ने सबै तालहरुलाई जोड्ने लिंकेज रोड बनाउने, पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई ५ वर्षभित्रै निर्माण सम्पन्न गर्ने हाम्रो योजना छ ।

तिब्बतबाट रेल, जसको नीति उसकै नेतृत्व

विश्वप्रकाश लामिछाने, मेयरका सम्भावित उम्मेदवार माओवादी केन्द्र

नेपाली जनताको सरोकार, गाउँ नगरमा सिंहदरबारमा आएकाले यसको प्रत्यानुभुति गराउन माओवादीकै नेतृत्व आवश्यक छ । त्यसैले जसको नीति उसकै नेतृत्व भन्ने नाराका साथ हामी चुनावमा जाँदैछौं ।

यो २० वर्षपछि आएको स्थानीय तहको निर्वाचन नभई ३ पुस्तादेखिको अनवरत संघर्षपछि आएको स्थानीय सरकार भएकाले अहिलेसम्मको केन्द्रीकृत शासन प्रणाली भत्काउन पनि माओवादीको नेतृत्व आवश्यक छ ।

तिब्वत, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म कुद्ने मेट्रो रेलको ट्राञ्जिट प्वाइन्ट पोखरा बनाएर लैजाने हाम्रो योजना छ । पोखरा, लेखनाथ र महानगरमा थपिएका अन्य गाउँलाई पनि पर्यटकीय नगरीको विकास गर्ने योजना छ । लेखनाथसहित सबै क्षेत्रमा पर्यटकीय पूर्वाधारण निर्माण गर्ने हाम्रो एजेण्डा छ ।

राजनीतिक दलका नेताहरुका साथै हामीले सचेत मतदातालाई पनि साध्यौं, तपाई कस्ता उम्मेदवारलाई मतदान गर्न चाहनुहुन्छ ? जवाफ यस्तो आयो-

दलहरुले विकासप्रेमीलाई टिकट देउन्

विश्वशंकर पालिखे, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

स्थानीय तह भनेको स्थानीय सरकार हो । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र पर्ने सबैलाई सरकारको प्रत्यानुभूति दिनेगरी काम गर्न सक्ने हुनुपर्छ । दलहरुले उम्मेदवार बनाउँदा विकास प्रेेमी नेतालाई टिकट दिनुपर्छ ।

भोलिको पोखराको भविश्य कोरेर त्यसको कार्यान्वयन गर्ने दूरदृष्टि भएको, राजनीतिक पार्टीभन्दा माथि उठेर काम गर्नसक्नेलाई उम्मेद्वार बनाउनुपर्छ ।

अहिले पार्टीले उम्मेद्वार बनाए पनि जितिसकेपछि पार्टी बिर्सेर सबै नागरिक मेरा लागि उत्तिकै हुन् भन्ने सोचेर काम गर्न सक्ने व्यक्ति हुनुपर्छ ।

सर्वप्रथमतः पोखरा-लेखनाथ महानगरपालिकाको गुरुयोजना बनाउनुपर्छ । अबको ५० वर्षपछि कस्तो पोखरा महानगर बनाउने ? उसले खाका कोर्नुपर्छ ।

भ्रष्टाचारमा नमुछिएको उम्मेदवार हुनुपर्छ

रामबहादुुर पौडेल, अध्यक्ष, नागरिक समाज पोखरा

स्थानीय तहको निर्वाचनमा दलहरुले उम्मेद्वार उठाउँदा योग्य, सक्षम र भिजन भएको व्यक्तिलाई उठाउनुपर्छ । भ्रष्टाचारमा नमुछिएको स्वच्छ छवि भएकालाई टिकट दिनुपर्छ ।

प्रभाव र दवाबमा नपरी दृढ अठोटका साथ काम गर्न सक्ने निडर व्यक्ति हुनुपर्छ । व्यक्तिगत सम्बन्ध राम्रो भएको र दलभन्दा माथि उठेर जनताको पक्षमा काम गर्न सक्ने पनि हुनुपर्छ ।

चुनाव जितेपछि सबभन्दा पहिले उसले सय वर्षका लागि हुने पोखराको गुरु योजना बनाउनुपर्छ । पोखरा क्षेत्रीय विमानस्थललाई प्राथमिकतामा राखेर सम्पन्न गर्नुपर्छ । पोखरामा आन्तरिक तथा प्रदेश स्तरीय गरी २ वटा बसपार्क निर्माण गरेर ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउने योजना ल्याउनुपर्छ ।

पोखरामा रहेका सम्पदा, तालतलैया, वन, रत्न मन्दिर, हिमागृह तथा अर्मलाकोट, पाउँदुरकोट, कास्कीकोट, फोक्सिङकोट लगायतको कोटहरुको संरक्षणसहित प्रवर्द्धन गरेर पर्यटकीय केन्द्र बनाउनुपर्छ ।

पोखराको विशेषताः देशकै ठूलो महानगर, १६७ प्रतिनिधि चुनिने

पोखरा-लेखनाथ महानगरपालिका क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका हो । पर्यटनको प्रमुख आधार रहेको यस महानगरपालिकामा १ लाख ६८ हजार ६७ मतदाता छन् । यीमध्ये ७७ हजार ३ सय ८१ पुरुष, ९० हजार ६ सय ८४ महिला छन् । २ जना तेस्रो लिङ्गीसमेत छन् ।

३३ वटा वडा रहेको पोखरा-लेखनाथ महानगरपालिकामा ९८ मतदान स्थलमा कुल २१० वटा मतदान केन्द्र तोकिएका छन् । तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका गाभेर यो महानगर बनेको हो ।

बैशाख ३१ गतेको निर्वाचनबाट पोखरा-लेखनाथ महानगरपालिकामा १६७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । एक प्रमुख, एक उपप्रमुख र ३३ जना वडाध्यक्षहरु प्रत्यक्ष निर्वाचनबाट आउने छन् ।

त्यस्तै खुल्लातर्फ प्रत्येक वडाबाट २/२ जनाका दरले ६६ जना चुनिने छन् । प्रत्येक वडामा १/१ जना महिला र दलित महिला गरी ६६ जनासहित कुल १६७ जना निर्वाचित हुनेछन् ।

निर्वाचित नगरसभाले अल्पसंख्यकमध्येबाट ३ जना मनोनित गर्ने ऐनमा प्रावधान छ । सो समेत गरी कुल १ सय ७० जना जनप्रतिनिधि नगरसभामा रहनेछन् ।

अस्थित्वमा कुन-कुन पार्टी छन् ?

पोखरा-लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी, अखण्ड नेपाल पार्टीलगायतका दलहरु अस्थित्वमा छन् ।

यसअघि ०४९ मा कांग्रेस र ०५४ सालको चुनावमा एमालेले मेयर जितेको पोखरामा हाल लेखनाथसहित केही गाविस पनि गाभिएर महानगरपालिका बनेकाले चुनावी परिणाम कता जान्छ भनेर अहिले नै आँकलन गर्नु हतारो हुन सक्छ ।

पोखरा-लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

महानगरमा संघीय समाजवादी र राप्रपाको पनि उपस्थिति रहेकाले उनीहरुको समर्थन जसलाई रहन्छ, उसैले जित्ने अनुमान पनि लगाउने गरिएको छ । दलगत आधारमा नभई उम्मेदवार र एजेण्डा हेरेर मत दिनेहरुको संख्या पनि उल्लेख्य हुने भएकाले चुनावी नतिजाको पूर्वानुमान लगाउन कठिन छ ।

मेयरमा को-को भिड्दैछन् ?

पोखरा-लेखनाथ महानगरपालिकामा एमालेले मेयरका लागि तीन जनाको नाम सिफारिस गरिसकेको छ । एमालेले पूर्वमेयर तथा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पार्टीका बैकल्पिक पोलिटब्यूरो सदस्य तथा कास्कीका निवर्तमान अध्यक्ष मानबहादुर जीसी र मित्रकुमारी गुरुङ (सुबेदी) लाई आन्तरिक मतदानका आधारमा मेयरमा सिफारिस गरेको हो । यीमध्ये जीसीको सम्भावना प्रवल रहेको एमालेनिकट श्रोत बताउँछ ।

नेपाली कांग्रेसबाट टे्रड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष रामजी कुँवर, प्राध्यापक देवराज चालिसे, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिन्दु थापा र पोखरा उद्योग वाणिज्य संघकै पूर्वअध्यक्ष अशोक पालिखेको प्रवल दाबेदारी छ । साथै कांग्रेसमा ऋषि काफ्ले, सुवास कोइराला, नन्दप्रसाद तिवारीलगायतले पनि मेयरको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट पार्टीका कास्की संयोजक तथा नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष दीपक कोइराला ‘रुपक’, पार्टीका कास्की सहईञ्चार्ज रामजी बराल ‘जीवन’ र पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने आकांक्षी छन् ।

यीमध्ये लामिछाने नै उम्मेद्वार बन्ने लगभग पक्का भएको माओवादी केन्द्र स्रोत बताउँछ ।

त्यस्तै नयाँशक्तिबाट केन्द्रीय सदस्य तथा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जितबहादुर तमु ‘मामा’, पोखरा लेखनाथ महानगरपालिका संयोजक नारायणहरी तिवारी र पार्टीका केन्द्रीय सदस्य एवं कास्की संयोजक हेमबहादुर थापा सिफारिस भएका छन् ।

आकांक्षीमध्ये तमु उम्मेद्वार हुने सम्भावना बढी रहेको नयाँशक्ति निकट स्रोतको भनाइ छ ।

राप्रपाले पार्टीका साविक लेखनाथ नगरअध्यक्ष इन्दिरा गुरुङ, कास्की क्षेत्र नम्बर २ की अध्यक्ष गीता गुरुङ र पार्टीका कास्की जिल्ला कोषाध्यक्ष रञ्जना सेन पौडेलमध्ये एकलाई उम्मेद्वार बनाउन केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

सिफारिस गरिएका तीन मध्ये इन्दिरा गुरुङ उम्मेद्वार बन्ने लगभग पक्का रहेको राप्रपाका कास्की प्रवक्ता सूर्य बास्तोलाले बताए ।

संघीय समाजवादी फोरम नेपालमा चुनावी सरगर्मी लागिसकेको छैन । तर, मेयरका लागि तमुवान आन्दोलन परिचालन समितिका संयोजक हुमबहादुर गुरुङ, विदेश विभाग सदस्य सुन्दर गुरुङ, पार्टीका केन्द्रीय सदस्य देवीराज गुरुङ, कास्की अध्यक्ष दीपक तामाङ, सचिव गिरीप्रसाद गुरुङको नाम चर्चामा छ ।

त्यसैगरी आदिवासी-जनजाति जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष पानबहादुर घर्ती, क्षेत्र नम्बर ४ का अध्यक्ष जंगबहादुर गुरुङलगायत संघीय समाजवादीबाट आकांक्षीहरु रहेको श्रोतको भनाइ छ ।

संघीय समाजवादीका आकांक्षी मध्ये सञ्चारकर्मीसमेत रहेका तमुवान आन्दोलन परिचालन समितिका संयोजक हुमबहादुर तमुको सम्भावना प्रवल रहेको बताइन्छ ।

त्यस्तै, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य तथा तमुवान संयोजक भीमबहादुर श्रीस, सन्तबहादुर भुजेल र कल्पना थापामध्ये एकलाई मेयरको उम्मेदवार बनाउन केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment