Comments Add Comment

धनगढी र दाङका संक्रमित हेलिकप्टरबाट चितवनमा

२९, वैशाख, चितवन । चितवनका भरतपुरका विभिन्न अस्पतालमा बुधबार ४५६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतालमा चितवनका १९८ र बाहिरका २५८ जनाको उपचार भइरहेको छ ।

चितवनको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा कोरोना संक्रमितको उपचार भइरहेको छ । सम्बन्धित जिल्लामा संक्रमितले भरपर्दो उपचार नपाउने र बेड नपाउने अवस्था आएपछि उपचार गराउने वैकल्पिक ठाउँ चितवन बनेको छ ।

यहाँ कैलालीको धनगढी, दाङ, नेपालगञ्ज, गुल्मीदेखिका कोरोना संक्रमित बिरामीलाई हेलिकप्टरमा ल्याएर उपचार गर्न थालिएको छ । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले हेलिकप्टरमा बिरामी ल्याउनेहरुको संख्या बढ्दै गएको बताए ।

‘धेरै फोनहरू आउँछ, तपाईंको अस्पतालमा बेड खाली छ रे, हामी हेलिकप्टरमा आउन लागेको भन्नुहुन्छ, जति लाग्छ हामी तिर्छौं, मान्छे बचाइदिनुपर्‍यो हजुर भन्नुहुन्छ’ प्रमुख देवकोटाले भने, ‘हामीले खाली भएको अवस्थामा ल्याउनुस् भन्छौं, नभए अन्यत्र प्रयास गर्नुस् भन्छौं, कतिपय त फोनमा क्वाँ क्वाँ रूनुहुन्छ ।’

कलेज अफ मेडिकल साइन्सेस् भरतपुरका जनसम्पर्क अधिकृत दुर्गा न्यौपाने काठमाडौं, जनकपुर, वीरगञ्ज, धनगढी लगायतका विभिन्न ठाँउबाट हेलिकप्टर च्यार्टर्ड गरेर बिरामी उपचारका लागि ल्याउन फोन आउने गरेको बताउँछन् । ‘हाम्रोमा आईसीयू बेड खाली नै छैन, ल्याउनुस् भन्नै सक्दैनौं’ न्यौपानेले भने ।

भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार वुधबार कैलाश एयर र एयर अल्टिच्यूडले चितवनमा कोरोना संक्रमित बिरामी ल्याएका थिए । धनगढी र गुल्मीका ती बिरामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वैशाख २८ गते सिम्रिक एयर र एयर अल्टिच्यूडले एक/एक तथा वैशाख २७ गते सिम्रिक र प्रभु एयरले एक÷एक आकस्मिक उद्धार फ्लाइट गरेका थिए । वैशाख २० गतेबाट आन्तरिक उडान बन्द भएपछि अहिले विमानस्थलमा आकस्मिक उद्धारका उडान मात्रै भएको विमानस्थल प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार चितवनदेखि काठमाडौं, काठमाडौंदेखि भरतपुर तथा पश्चिम नेपालका विभिन्न शहरबाट भरतपुरका लागि आकस्मिक उद्धार उडान भइरहेको बताए ।

‘यसरी कोरोना संक्रमित लिएर आउने हेलिकप्टरलाई सम्भव भएसम्म अस्पतालकै आफ्नै हेलिप्याडमा जान भन्छौं, नभए भरतपुर विमानस्थलमै अवतरण गरेर एम्बुलेन्समा राखेर अस्पताल पठाउँछौं’ कार्यालयका प्रमुख कुँवरले भने, ‘कलेज अफ मेडिकल साइन्सेसमा आउने बिरामीहरुलाई कलेजकै आफ्नै हेलिप्याड प्रयोग गर्न भन्छौं, चितवन मेडिकल कलेजका लागि आउने बिरामीलाई भरतपुर विमानस्थलमा नै अवरण गरेर पठाउँछौं ।’

भरतपुरबाट काठमाडौँका लागिसमेत बिरामी जाने गरेका छन् । सशस्त्र प्रहरी अस्पताल, नेपाली सेनाको अस्पताल, ग्राण्डी र मेडिसिटी अस्पतालमा भरतपुरबाट सिधैं बिरामी हेलिकप्टरमा जाने गरेका छन् ।

हेलिकप्टर कम्पनीहरुले नागरिक उड्डयन प्राधिकरणको ‘रेस्क्यु फ्लाइट’का लागि अनुमति लिएपछि उडान भर्ने गरेको कार्यालय प्रमुख कुँवरले बताए । विमानस्थल प्रमुख कुँवरले विमानस्थलमा कोभिडको संक्रमण नहोस् भनेर सबै खालका सुरक्षा मापदण्डहरुको पालना गरेको बताए ।

प्राधिकरणका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले १२ सय डलर प्रति घण्टा, कोभिड जोखिम वापत अतिरिक्त एक लाख र बाँकी मेडिकल टिमको रकम अस्पतालले लिने गरेको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment