Comments Add Comment

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा, यस्तो छ कारण


१७ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो ।

तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए ।

त्यसपछि मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।

मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गरेका थिए ।

 

राजीनामाको कारण महाअभियोग

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए । प्रधानमन्त्री सामू राजीनामा दिनुपर्ने व्यवस्था थाहा पाएपछि उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।

स्रोतका अनुसार गृहमन्त्री निधीले राजीनामा दिनुको मुख्य कारण प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग नै हो । यसबारे आफूसँग पार्टी सभापतिले कुनै परामर्श नगरेको र १९ गते आईजीपी प्रकरणको फैसलालाई हेरेर नै  प्रधानन्यायाधीशविरुद्ध महाअभियोग आएको गृहमन्त्री निधीको आशंका छ ।

कांग्रेस नेता निधी निकट स्रोतले भन्यो, ‘गृहमन्त्रीको राजीनामाको कारण महाअभियोग नै हो ।’

यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले भने मन्त्री निधीको असन्तुष्टि उनकै पार्टीको नेतृत्वसँग रहेको बतायो ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावसँगै बुझाइएको सांसदहरुको हस्ताक्षरमा पनि कांग्रेस सांसद समेत रहेका निधीको नाम छ । तर, उनको हस्ताक्षरमाथि केरमेट गरेर बदर गरिएको छ ।

अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षर यसमा प्रयोग भएको र निधीले महाअभियोगमा आफ्नो असहमति रहेको बताएपछि केरमेट गरिएको हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment