Comments Add Comment

कांग्रेससँग मिलेर चुनाव प्रचार गर्छौंः माओवादी केन्द्र

चुनावको १० दिन अघि घोषणापत्र सार्बजनिक

२२ बैशाख, काठमाडौं । स्थानीय तहको चुनाव आउनुभन्दा १० दिन अघि माओवादी केन्द्रले घोषणापत्र सार्बजनिक गरेको छ । पार्टी प्रवक्ता पम्फा भुसालले केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी ३० बुँदे घोषणापत्र सार्बजनिक गरेकी हुन् ।

घोषणापत्र सार्बजनिक गर्दै प्रवक्ता भुसालले माओवादी केन्द्र नेतृत्वको सरकारले सिंहदरबारको अधिकारलाई गाउँ तहमा पुर्‍याएकाले स्थानीय तह निर्वाचनको प्रमुख नारा नै ‘माओवादी केन्द्रको उपहारः गाउँ/नगरमा सिंहदरबार’ तय गरिएको बताइन् ।

मतदानको संघारमा घोषणापत्र सार्बजनिक गर्नुपर्नाको कारणबारे प्रष्टिकरण दिँदै प्रवक्ता भुसालले भनिन्, ‘केन्द्रीय संसदको चुनाव जसरी ठूलठूला हवाई सपना हामीलाई बाँड्नु छैन । स्थानीय तहको सापेक्षतामा हामीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौं ।’

स्थानीय तहमा नै पार्टीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्न अधिकार प्रदान गरिएका कारण औपचारिक रुपमा पार्टी केन्द्रले त्यस प्रकारको कार्यक्रम नराखेको उनको भनाइ थियो ।

‘जसको नीति उसको नेतृत्व’ भन्ने नाराका साथ माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै प्रवक्ता भुसालले आफूहरुको ध्यान स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाउनेतर्फ केन्दि्रत रहेको बताइन् ।

तालमेलको सहमति कार्यान्वयन गर्न निर्देशन

प्रवक्ता भुसालले स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग तालमेल भएका स्थानमा इमान्दारीका साथ समझदारी कार्यान्वयन गर्न पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई निर्देशन समेत दिइन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको तालमेल स्वाभाविक हो भन्दै उनले कास्कीमा माओवादीले कांग्रेसका उम्मेदवार र भरतपुरमा कांग्रेसले माओवादी उम्मेदवारलाई मतदान गर्ने विश्वास व्यक्त गरिन् ।

उनले तालमेल भएका स्थानमा संयुक्त चुनावी सभा र प्रचारको काम गर्ने जानकारी पनि दिइन् ।

प्रवक्ता भुसाललका अनुसार माओवादीले धादिङ, दोलखा, म्याग्दी, मकवानपुरलगायत एक दर्जन जिल्लामा कांग्रेससँग तालमेल गरेको छ । सिन्धुपाल्चोकमा राप्रपासँग र लम्जुङमा एमालेसँग तालमेल भएको छ । तर, तनहुँमा एमालेसँग तालमेल गर्ने सहमति अनुसार माओवादीले उम्मेदवारी दर्ता गराए पनि अन्तिममा एमालेले सहमति तोडेर धोका दिएको प्रवक्ता भुसालले बताइन् ।

उनले भनिन्, ‘एमालेले बेइमानी गरेका कारण तनहुँका केही स्थानीय तहमा हामी कतै मेयर बिना र कतै उपमेयर बिना चुनावमा गएका छौं ।’

रेणुको उम्मेदवारी स्वाभाविक

प्रवक्ता भुसालले पार्टीका अन्य उम्मेदवार जस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव रेणु दाहालको उम्मेदवारी स्वाभाविक र नियमित तथा प्राकृतिक भएको बताइन् । उनले भनिन्, ‘जनयुद्धको समयदेखि नै निरन्तर रुपमा पार्टी आन्दोलनमा लागेका अन्य कार्यकर्ता जस्तै देश र जनताको पक्षमा रेणुजी हुनुहुन्छ । उहाँलाई केवल पार्टी अध्यक्षको छोरीका रुपमा मात्रै चित्रित गर्नु गलत हुन जान्छ । उहाँ हाम्रो पार्टीको महिला संठनको महासचिव पनि हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment