Comments Add Comment

को बन्ला देशकै ठूलो महानगरको मेयर ? सबै उम्मेदवार भन्छन्-जित सुनिश्चित छ

२८ बैशाख, पोखरा । देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयर को बन्ला ? अहिले पोखरा लेखनाथ महानगरबासीले मात्र हैन देशका सबै नागरिकले चासो पूर्वक हेरेका छन् ।

पोखरामा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम र नयाँशक्ति गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचार उत्साहजनक भएको भन्दै जित सुनिश्चित भएको दाबी गरेका छन् ।

ठूलो पार्टीको उम्मेदवार हुनु नै जितको आधार

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामजी कुँवरले चुनावी प्रचारमा देखिएको उत्साह र समर्थनले आफूलाई उत्साही बनाएको बताए । देशकै ठूलो महानगरमा चुनाव प्रचारका लागि अत्यन्तै कम समय हुँदा दौडधुप धेरै नै गर्नुपरेपनि अन्तिम दिनसम्ममा सबै ठाउँमा पुग्न सकेको बताए ।

कुँवरले आफू जितको नजिक पुगेको दाबी गरे । देशकै सबैभन्दा पुरानो र ठूलो पार्टीको उम्मेदवार हुनु नै जितको आधार भएको उनको भनाइ छ ।

कांग्रेसले शान्ति र संविधान ल्याउन खेलेको भूमिका, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको कारणले पनि आफूलाई जिताउने उनको विश्वास छ ।

माओवादी केन्द्रको समर्थनसँगै जनताको आशा र भरोसा आफूमाथि भएकाले आफ्नो जित हुनेमा ढुक्क रहेको कुँवरले दाबी गरे ।

कतिको अन्तरले जित्ने भन्ने मात्रै हो

एमालेका तर्फबाट मेयरका प्रत्यासी मानबहादुर जिसीले चुनावी प्रचार उत्साहजनक भएको बताउँदै जित सुनिश्चित भइसकेको बताए ।

प्रचारको समय कम भएकाले धपेडी बेहोर्नुपरे पनि मतदाताले देखाएको रेसपोन्सले आफू जितप्रति ढुक्क रहेको बताए । उनले भने, ‘विहानदेखि रातिसम्म त हिंड्नु पर्‍यो नै, त्यसमा कहिले खाना नखाइ पनि दौडनु पर्‍यो । तर, मतदाताले समयको पावन्दीलाई बुझिदिदा सजिलै चुनावी कार्यक्रम सम्पन्न गरियो ।’

चुनावी अभियानका क्रममा तोकिएको निर्धारित समयमा कार्यक्रममा पुग्दा कहिले आयोजक मात्रै त कहिले एकदमै कम मतदाता देख्दा खिन्नता लागेपनि कार्यक्रम मध्यभाग तिर पुग्दा कार्यक्रम स्थल भरिदा आनन्द पनि आएको उनले अनुभव सुनाए । चिन्दै नचिनेको मान्छेले पनि तपाईंलाई म चिन्छु, तपाईं एकदमै राम्रो मान्छे, नपाई नआत्तिनुस्, तपाईंलाई हाम्रो साथ र समर्थन छ भन्दा आनन्दको अनुभुति महसुस भएको उनले बताए ।

उनले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै भने, ‘मसहित हाम्रो पार्टीको जित सुनिश्चित छ, कतिको अन्तरले जित्ने भन्ने मात्रै हो ।’

जिसीले बलियो पार्टी, मजबुत संगठन, आफूहरुको कृयाशिलता, खटाई नै जितको प्रमुख आधार भएको बताए । उन भने, ‘लेखनाथसहित थपिएका गाउ ँविकास समिति पहिले जितका लागि भरथेग गर्ने ठाउँ हो, त्यसैले मजबुत छौं । बलियो छौ र कन्र्फम जित्छौं पनि ।’

जनजातिको साथ छ, जित्छु 

संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तिको संयुक्त गठबन्धनका मेयरका उम्मेदवार हुमबहादुर गुरुङले चुनावी अभियान उत्साहजनक भएको बताए । चुनावी प्रचार एकदमै तनावपूर्ण भएपनि मतदाताको आशिर्वाद र साथ समर्थनले आफूलाई अत्यन्तै उत्साही बनाएको बताए ।

चुनाव लड्ने कि नलड्ने ? भन्ने टुंगो नहुँदा अन्तिम समयसम्म पनि तयारी गर्न नपाएका कारण उम्मेदवारी दर्तापछि बढी तनाव झेल्नुपरेको उनको भनाइ छ । दिनमै १२/१५ वटासम्म कार्यक्रम गरिएको भन्दै उनले ‘विहानै उठेर हिंड्यो, दिउँसो कार्यक्रममै ब्यस्त भइयो, खाना/खाजा खानै बिर्सिईन्थ्यो र एकैपटक बेलुका खाना खाने बाध्यता पनि आईपर्‍यो ।’

चुनावी अभियानका क्रममा मतदाताको सकारात्मक सहयोग, समर्थन र साथले आफू जित्नेमा ढुक्क रहेको उनले बताए । उनले भने, ‘पार्टीगत सांगठनिक आधार, नयाँशक्तिको समर्थन, तमु धिँ नेपाल र उसका ४५ शाखा र ङोय तमु धिँ र उसको २५ शाखाले भोट दिन हृविप नै लगाएको तथा आदिवासी जनजातिको साथ पनि मलाई भएकाले मेरो जित सुनिश्चित छ ।’

महिलाको साथ र समर्थन नै जितको आधार

मेयरकी अर्की प्रत्यासी राप्रपाकी गंगा गुरुङले पनि चुनावी प्रचार सुखद रहेको बताउँदै जित उन्मुख भएको बताइन् । उनले भनिन्, ‘पहिलो महिला मेयर हुने अवसर छ भन्दै सबैले आशिर्वाद दिएका छन्, महिलाले मात्रै ईमान्दार भएर काम गर्छन् र सबैलाई समेट्न सक्छन् भन्दै घरदैलोमा जाँदा तपाईंलाई हाम्रो साथ र समर्थन छ भनेका छन् ।’

चुनावी प्रचारमा शारिरिक र मानसिक तनाव भने बेहोर्नुपरेको उनले सुनाइन् । उनले थपिन्, ‘विहान ३ बजेदेखि नै उठेर साथीहरुलाई फोन गरेर ब्यूँझायो, अनि घरको कामधन्दा सकेर निस्कदा ७ बजिहाल्थ्यो, त्यसपछि दिनभरी चुनावी अभियानमा गएर राती अबेर घर फर्कियो, फेरि दिनभरी आएका फोनको कलब्याक गर्‍यो, आफन्त र साथीभाईले फोन गर्छन्, कुरा गर्दै जाँदा राती १२/१ बज्छ ।’

उम्मेदवार छनोटदेखि नै तनाव शुरु भएको र एमालेसँग समीकरण गर्ने चर्चा चल्दा एकदमै तनाव भएको उनले सुनाइन् । पार्टीको स्पष्ट नीति र महिलाको साथ र समर्थन नै आफ्नो जितको आधार भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment