Comments Add Comment

यो गाउँमा बसाई सर्दा पाइन्छ २ लाख ३० हजार पुरस्कार


दुनियामा जग्गाको भाउ छोइनसक्नु बनिरहेको छ । सानो टुक्रा जग्गाको लागि पनि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था रहेको छ । तर यस्तो बेलामा इटालीको बोरमिडा गाउँको कथा चाहीँ सबैलाई लोभ्याउने खालको छ ।

उक्त गाउँका मेयर डानियल ग्याल्लियानोले मानिसहरुलाई उक्त गाउँमा बसोबास गर्नेहरुका लागि विशेष योजना अघि सारेका छन् ।

यद्यपि उनको यो योजना नगर परिषदले पारित गर्न चाहीँ बाकी छ । मेयर डानियलले आफ्नो फेसबुकमा समेत शेयर गरेको उक्त प्रस्तावित योजना अनुसार उक्त गाउँमा बसोबास गर्ने हरेक व्यक्तिलाई एकमुष्ट करीब २ लाख ३० हजार रुपैयाँ बराबरको रकम दिइनेछ । अनि घरभाडा बापत चाहीँ महिनाको झण्डै साढे ५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तो लोभलाग्दो प्लान तयार गर्नुका पछाडि मेयरको एउटै मात्र उद्देश्य छ गाउँलाई जिवन्त बनाउनु । पर्वतीय लिगुरिया क्षेत्रमा अवस्थित यो गाउँमा अहिले जम्मा ३ सय ९४ जना मानिस बस्दछन् । यो गाउँबाट अवसरको खोजी गर्दै अन्य सहरतिर बसाइ सर्नेहरुको संख्या बढिरहेको छ । जनसंख्याको अभावमा गाउँ मृत बन्न थालेसँगै मेयरले गाउँमा मानिसहरुको संख्या बढाउन यस्तो योजना ल्याएका हुन् ।

फेसबुकमा पोष्ट गरेको उनको प्रस्तावित योजनाप्रति सोसल मिडिया प्रयोगकर्ताहरुले चासो राखिरहेका छन् । गाउँमा वाइफाइ जस्ता आवश्यक सुविधा भए नभएको बारेमा फेसबुकमा सोध्नेहरु धेरै देखिएका छन् । सबै सुविधा उपलब्ध भएमा आफु उक्त गाउँमा बसाइ सर्न तयार रहेको भन्नेहरु पनि धेरै छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment