Comments Add Comment

नवलपरासी अपडेट:  ४६ वडामध्ये ३३ मा कांग्रेस, १२ मा एमाले विजयी

२ जेठ, कावासोती । नवलपरासीको नवलपुर क्षेत्रमा वडागत मतपरिणाम आउन थालेको छ ।

नवलपुर क्षेत्रका आठ वटा तहको ४६ वडाको मतपरिणाम आउँदा ३३ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एमालेले १२ वटा वडाध्यक्ष जितेको छ भने माओवादी केन्द्र एउटा वडाध्यक्षमा विजयी भएको छ ।

नवलपरासीको बुङ्गदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बुङ्गदीकालीको वडागत परिणाम हेर्दा भने कांग्रेस र एमालेले ३/३ वडामा जित हासिल गरेका छन् । १, ३ र ४ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका हुन् भने २, ५ र ६ मा एमालेका उम्मेदवारले जितेका छन् ।

त्यस्तै, बुलिङ्गटार गाउँपालिकामा ४ वटा वडामा कांग्रेसको प्यानल विजयी भएको छ । ६ वटा वडा रहेको बुलिङ्गटारमा वडा नम्बर १, २, ३ र ४ मा कांग्रेसको प्यानलले जितेको हो ।

उता, ६ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ३ बाहेक ५ वटै वडामा कांग्रेसको प्यानल विजयी भएको छ ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकामा ७ वटा वडामध्ये एउटा वडामा एमाले विजयी भएको छ भने बाँकी ६ वटा वडामा कांग्रेस विजयी भएको छ ।

मध्यविन्दु नगरपालिकाका वडाहरुमा कांग्रेस र एमालेको मिश्रित परिणाम आएको छ । नगरपालिकाको वडा नम्बर १, १३ र १४ मा एमालेको प्यानल विजयी भएको छ भने ३ र १५ मा कांग्रेसको प्यानलले जितेको छ । वडा नम्बर २ मा भने वडाध्यक्षसहित बहुसंख्यक सदस्यहरुमा कांग्रेसले जितेको छ । त्यहाँ एक सदस्य एमालेको विजयी भएको छ ।

कावासोती नगरपालिकामा वडा नम्बर १ मा कांग्रेसको प्यानल र वडा नम्बर ४ मा एमालेको प्यानल विजयी भएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा वडाध्यक्ष र केही सदस्यहरु एमालेले जितेको छ भने वडा नम्बर ३ को वडाध्यक्षमा कांग्रेस र वडा सदस्यहरुमा एमालेले बाजी मारेको छ ।

त्यस्तै, देवचुली नगरपालिकाको वडा नम्बर १ र ६ मा एमालेको प्यानल तथा २, ३ र ८ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर ७, ८ र १० मा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर १६ मा भने माओवादी केन्द्रका वडा अध्यक्षले जितेका छन् । यहाँ वडा सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ ।

गैंडाकोट नगरपालिकामा कांग्रेसले ४ वटा वडा र एमालेले एउटा वडामा जित हात पारेको छ । जस अन्तर्गत वडा नम्बर १, ३, १७ र १८ मा कांग्रेसको प्यानल विजयी भएको छ । त्यस्तै, वडा नम्बर २ को वडाध्यक्षमा एमाले विजयी भएको छ । ने अन्य वडा सदस्यमा मिश्रित परिणाम आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment