Comments Add Comment

सभागृह डेटलाइनः केपी ओली र रञ्जु दर्शना ‘हट टपिक’

काठमाडौंको मतगणस्थलमा यस्तो देखियो


‘यस्तै पारा हो भने त एक लट कतार गएर टन्न पैसा कमाएर आउन भ्याइन्छ,’ काठमाडौंको सभागृहमा मतगणनाको सुस्त गतिलाई ईंगित गर्दै एक युवाले ‘डाइलग’ हाने । वरिपरि बसेकाहरु गलल्ल हाँसे ।

काठमाडौं महानगरको मतगणना भइरहेको स्थल राष्ट्रिय सभागृह बाहिरको सडकमा बुधबार दिउँसो करिब दुई सय जना झुण्ड-झुण्ड भएर बसेका थिए । उनीहरुबीच हाँसो-ठट्टासहित रोचक चुनावी बहस चलिरहेको थियो ।

विवेकशीलका गफ

सुरुमा विवेकशील पार्टीका दुई युवाको गफ सुनियो ।
‘थर्ड पोजिसन त कन्र्फम छ,’ रातो क्याप लगाएका युवाले ठोकुवा गरे, ‘उस्तै परे सेकेन्ड पोजिसनमा पनि आउन सकिन्छ ।’
‘कांग्रेसलाई उछिन्न त गाह्रो छ, तर साझालाई जित्ने सके पनि ठूलै कुरा हुन्छ,’ क्याप नलगाएका युवाले थपे ।

टीभीको लाइभ अपडेट !

बीच सडकमा एउटा टेलिभिजनका रिपोर्टरले लाइभ रिपोर्टिङ गर्दै थिए, ‘दर्शकवृन्द, केही ढिला भएको छ मतगणना गर्न । करिबन तीन दिन भइसकेको छ । अहिलेसम्म चार हजार प्लस भोट मात्रै गणना भएको छ । करिबन दुई लाख भोट गणना गर्नुपर्ने अवस्था रहेको छ । हामी निरन्तर अपडेट गरिरहने छौं । हेर्दै गर्नुहोला इलेक्सन एक्सप्रेस ।’

माननीयको उछितो !

सभागृहको विपरीततर्फको सडक पेटीमा ५-६ जना झुरुप्प भएर गफिँदै थिए । उनीहरु किन हो, कांग्रेस सांसद रामहरि खतिवडाको विषयमा कुरा गरिरहेका रहेछन् ।

‘अनम्यारिड, त्यागी रे हाहाहा,’ चिउँडोमा मास्क झुण्ड्याएका व्यक्तिले खतिवडालाई उडाए, ‘कृष्णप्रसाद भट्टराईले म अविवाहित हुँ तर, कुमार होइन भनेजस्तै होला ।’

यसपछि सांसद रामहरिका बारेमा विभिन्न आरोपहरु लाग्न सुरु भयो, जुन यहाँ लेख्न अप्ठ्यारो छ ।

मतगणनास्थल परिसरमा यस्तो व्यक्तिगत गफ त्यति सान्दर्भिक नलागेपछि अर्को चार जनाको समुहमा पसियो ।
फेरि रञ्जु दर्शनाकै टपिक !

गफको ‘टपिक’ थिइन् रन्जु दर्शना । समूहभित्रबाट यस्ता गफ सुनिए ।

–     ‘केटीले पारा ल्याई है, कांग्रेसको भोट खर्लप्पै काटी ।’
–     ‘कांग्रेसको मात्रै होइन, सबै पार्टीको काटेकी छे ।’
–     ‘यिनको त भोट माग्ने स्टाइल नै खत्रा रैछ नि । मैले एउटा पम्प्लेट भेटेको थिएँ । त्यहाँ एउटा फोन नम्बर दिएर यसमा मिसकल गर्नु भनेर लेखेको थियो । मैले त्यसमा मिसकल गरेँ । त्यसको भोलिपल्ट त मलाई रन्जु दर्शना आफैंले फोन गरेर भोट मागी ।

–     ‘पोलिसी… पोलिसी… । त्यो बाठी रहिछे । भोट माग्ने पोलिसी त त्यस्तो पो हुनुपर्छ ।’
–     ‘२१ वर्षमै यस्ती छे, पछि त यसले तहल्का मच्चाउँछे । मेरो विचारमा ४० वर्षमा प्रधानमन्त्री पड्काउँछे ।’
–     ‘रुप पनि छ, ट्यालेन्ट पनि छे । केटी मान्छेलाई यी दुई कुरा भएपछि सक्किगो नि ।’
–     ‘यति राम्री केटीले फोन गरेर भोट मागेपछि कसले नदिने ? मैले त दिएँ ।’
–     ‘तर यत्री बच्चीलाई यत्रो मान्छेहरुलाई फोन गर्ने खर्च कहाँबाट आयो भन्नुस त ? पोष्टर पम्प्लेट नपुगेको कहाँ छ ? सानो उ गरेका छन् ? त्यो बच्चीको कुनै कमाइ धमाइ छैन । भर्खर पढ्दैछे । कहाँबाट ल्याई यत्रो पैसा ?’
–     ‘जे होस यो केटीले ठूलो चर्चा कमाई । काठमाडौंका जनताले पनि माया गरेर मत पनि हाले । २१ वर्षकी बच्ची मेयरमा उठेर यति भोट ल्याउनु चानचुने कुरा हो त ?’
–     ‘पञ्चायतकालमा पनि नानीमैया दाहालले नजितेको हो र ? अत्यधिक मतले जितेकै हो नि ।’
–     ‘नानीमैया र रन्जुमा धेरै फरक छ । अहिलेको रन्जु राजनीतिक रुपमा कन्सियस छे । गोविन्द केसीको आन्दोलनबाट हाइलाइटमा आएकी हो । भूकम्प जाँदाखेरि धेरै काम गरेकी थिई ।’
–     ‘यो केटीले राम्रो पोलिटिक्स गर्छे । भोलि गएर राजु थापाको ठाउँ यसले लिन्छे ।’
–     ‘राजु थापा होइन, उज्वल थापा भन्नुस् न ।’

डोनाल्ड ट्रम्प र वृद्धभत्ता !

रञ्जुको गफबाट पनि अघाइयो । र, अर्को समुहको गफमा कान थापियो । त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग चलिरहेको रहेछ ।

–     ‘हेर्नुस त, एउटा पर्खाल लगाइदिन्छु भनेर चुनाव जित्यो ।’
–     ‘हिलारीको स्वाभाव कस्तो छ भने, हिसिला यमीको स्वाभाव छ नि, कुनै स्ट्यान्ड नभएको । ठ्याक्कै त्यस्तै हो । त्यसले गर्दा ट्रम्पले राष्ट्रवादी स्ट्यान्ड लिएर चुनाव जितेको हो । नत्र उसको लोग्ने राष्ट्रपति, उ पनि विदेशमन्त्री भएकी राजनीतिक परिवारको मान्छेलाई एउटा व्यापारी आएर कसरी जित्न सक्थ्यो ? भन्नुस त ।’
–     ‘राजनीति भनेकै ढाँट्नु रहेछ मैले बुझेको । नेताले ढाँट्ने, जनताले विश्वास गर्ने त्यत्ति हो ।
–     ‘ढाँटेर भोट पाइने भए त माओवादीले जित्नुपर्ने नि ।’
–     ‘पत्याउने गरी ढाँट्न जान्नुपर्‍यो नि । एकछिनलाई सपोज, एमालेले हामीले वृद्धभत्ता खुवाएको भन्छ । थोडी त्यसका बाउको गोजीबाट निकालेको हो र ? कुन देशले दिएको हो हामीलाई थाहा छैन ? तर, एमालेको कुरा पत्याइदे नि जनताले ।  बुढीआमाले पनि मनमोहनका पालामा बृद्धभत्ता आएको भन्छिन् र एमालेलाई भोट हाल्छिन् । लाग्यो केही ?’
–     ‘तर, एमालेकै सरकारले लागु गरेको त हो, त्यसको जस त दिनैपर्छ नि ।’
–     ‘बृद्धभत्ता ल्याउँदा एमालेको सरकार थियो त्यत्ति हो, दिएको अर्कै देशले हो ।’
–     ‘होइन, कुनै देशले दिएको होइन । देशकै बजेटबाट दिएको हो ।’
–     ‘अरु दलले पनि त्यस्ता दाउ हेर्नुपरो । बुढाबुढीलाई ५१ वर्षदेखि भत्ता दिए भइगो नि । यस्ता रसिला कार्यक्रम पो ल्याउनुपर्छ ।’

प्रतीक प्रधानको कुरो

डोनाल्ड ट्रम्प र वृद्धभत्ताको कुरो सुनिसकेपछि अर्को समूहमा पसियो । त्यहाँ कांग्रेस र एमाले समर्थक मिसमास भएर बसेका रहेछन् ।

‘हिजो प्रतीक प्रधानको इन्टरभ्यू हेर्नुभएन ? नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने कांग्रेस कस्तो पार्टी भनेर सोधे नि । प्रतीक भनेको कांग्रेसकै मान्छे होइन ? सुशील कोइरालाको सल्लाहकार भएको मान्छे होइन ? उनैले यस्तो भन्छन् भने अरुले के भन्ने ?’ एक एमाले समर्थकले प्रश्न वर्षाए ।

‘होइन, हिजो सल्लाहकार भए भन्दैमा कांग्रेस भनिहाल्न मिल्दैन । अहिले प्रतीकजतिको एन्टी कांग्रेस मान्छे कोही छैन,’ कांग्रेस समर्थकले भने, ‘मलाई उनको कुरा पहिलेदेखि मन पर्दैनथ्यो । जनआन्दोलनका बेला राजासँग मिल्नुपर्छ भन्थे । त्यस्तो मान्छे कसरी कांग्रेस हुन्छ ?’

‘होइन, प्रतीक हन्ड्रेड पर्सेन्ट कांग्रेस हो । परशु प्रधानको छोरा हो ।  कुनै लर्तरो मान्छे होइन । इन्टलेक्चुअल पनि छ । उसको बाबु परशु प्रधान साहित्यकार हो । परशु प्रधानसँग मेरो अन्तरंग सम्वन्ध छ । उसको बिराटनगरको घरमा गएको छु ।’
‘प्रतीक प्रधान अहिले केपी ओलीको लाइनमा आइसक्यो, उसको कांग्रेससँग कुनै सम्वन्ध छैन,’ कांग्रेस समर्थकले दाबी गरे ।

केपी ओलीबारे वादप्रतिवाद  

‘केपी ओलीको लाइन नै देशका लागि ठीक छ नि त,’ एमाले समर्थकले दाबी गरे ।
उनले अगाडि भने, ‘केपी ओलीले गफ मीठो गर्छन् । ठीक कुरा बोल्छन् । अरु को छ र राष्ट्रियताको कुरा गर्ने ?’
‘तर राष्ट्रिय स्तरको नेता, राजनेताको क्वालिटी भएको नेताले चर्को कुरा गर्नु त भएन नि । सर्टेन बर्गलाई सन्तुष्टी दिने र डिप्लोमेसी नपुग्ने छुद्रपना भनेको उनलाई सुहाउँदैन ।’ कांग्रेस समर्थकले भने ।
‘छुद्रपना होइन । यहाँ गलत व्याख्या भएको छ । केपी ओलीले पहाड र मधेस एउटै क्षेत्रमा ल्याउने कुरा भन्दा मधेसी र पहाडीबीच फाटो ल्याउन खोजे भन्छन्’ एमाले समर्थक ।
‘मन पो जोड्नु परो त, भूगोल जोडेर के हुन्छ ?’ कांग्रेस समर्थक ।
‘भूगोल बिनाको देश हुन्छ ? देश बन्नलाई भूगोल चाहिएन ?’ एमाले समर्थक ।
‘नेपाल देशलाई पो जोड्नुपरो त, प्रदेश मात्रै जोडेर हुन्छ ?’ कांग्रेस समर्थक ।
‘पहाड र मधेस जोड्दा नेपाल जोडिँदैन ?’ एमाले समर्थक ।
‘होइन, मन जोडिनुपर्छ,’ कांग्रेस समर्थक ।
‘मन नजोडिएको भए ५ नम्बर क्षेत्रमा त्यस्तो आन्दोलन भयो, कुनै मधेसी आयो हामी पहाडबाट छुटिन्छौं भनेर ? यहाँ त जोडिएका मनलाई फुटाउन खोजिरहेका छन् ।’ एमाले समर्थक ।
‘नेपालको राष्ट्रियता सम्वन्धी नीति नै कमजोर छ । आफूअनुकुल व्याख्या हुन्छ । सत्तामा हुँदा एउटा बाहिर हुँदा एउटा,’ कांग्रेस समर्थक ।
‘हामीलाई यस्तो मान्छे चाहियो जसले हाम्रो पक्षमा बोलिदियोस । त्यो बोल्ने भनेको ओली नै हो । माधव नेपाल त्यस्तो होइन फेरि । त्यो भनेको दहीच्यूरे हो ।’ एमाले समर्थक ।

उनी बोल्दै जान्छन्, ‘जो आफू सुरक्षित छ, उसलेे आदर्शको कुरा गर्छ, तराईको ग्राउन्ड रियालिटी अर्कै छ । त्यहाँ कसरी पहाडीहरुलाई खेदो गरिएको छ भन्ने हामीलाई थाहा छ । दुई नम्बर क्षेत्र भनेको नेपालको कश्मिर हो ।
‘त्यो चुरेभावर मात्रै नजन्मेको भए सर्लाहीको हालत के हुन्थ्यो ? पहाडिया त्यहाँ बस्नै नहुने रे । हामी चुपो लागेर बस्यौं भने घरघरै छिरेर पिट्छन् ।’
अर्का व्यक्तिले थपे, ‘जहिलेसम्म नेपाल रहन्छ, त्यहिलेसम्म मधेस आन्दोलन चलिरहन्छ । मागहरु नयाँ नयाँ थपिँदै जान्छन् ।’

बल्ल महानगरमा विषय प्रवेश

पहाड र मधेसको चर्चापछि काठमाडौंमा कसले जित्छ भन्ने प्रसंग निस्कियो ।
एमाले समर्थकले भने, ‘१५ देखि २० हजारको अन्तरले विद्यासुन्दरले जित्छन् । २३ नम्बर २२ नम्बर १३ नम्बर, १४ नम्बर लटै छ एमालेको । २२ नम्बरको दुईचोटि वडाध्यक्ष भएका हुन् विद्यासुन्दर । भोटेबहाल असनदेखि कुलेश्वर डल्लु सबै खर्लप्पै लैजान्छन् ।’
‘मंका खलको सपोर्ट छ रे । जातीय भोट आइहाल्छ नि ।’ अर्काले थपे ।
‘कपनजस्तो गगनको एरियामा त अगाडि छ ।’ एमाले समर्थक भन्छन् ।
यत्तिकैमा सभागृह भवनभित्रबाट मतगणनाको अपडेट घोषणा हुन्छ । पछिल्लो रिपोर्ट सुन्न सबै मौन बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment