+
+
Shares

कुमाखमालिका गाउँपालिकामा माओवादीकी दिलमाया विजयी

गाउँपालिका अध्यक्षमा ६ नं. प्रदेशकै एक्लो महिला

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ९:३५
दिलमाया बुढामगर ‘सिर्जना’ र डिल्लीराज जैशी

५ जेठ, सल्यान । सल्यानको कुमाखमालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । एमालेका भैरवबहादुर शाहलाई १ हजार ५ सय ४५ मतको फराकिलो अन्तरले पराजित गर्दै माओवादी केन्द्रका दिलमाया बुढामगर ‘सिर्जना’ अध्यक्षमा विजयी भएकी हुन् ।

उनले ३ हजार ६ सय ७३ मत पाएकी छन् भने शाहले २ हजार १ सय २८ मत प्राप्त गरे । कांग्रेसका अध्यक्षका उम्मेदवार विवेकसिंह राठौरले १ हजार ९ ३९ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशी ३ हजार ८ सय १८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ति चन्दले २ हजार ७५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका उर्मीला राना बुढाथोकीले १ हजार ८ सय ८३ मत प्राप्त गरेकी छन् ।

गाउँपालिका अध्यक्षमा ६ नं. प्रदेशमै एक्लो महिला

कुमाखमालिका गाउँपालिका अध्यक्षमा निर्वाचित दिलमाया बुढामगर ६ नं. प्रदेशमै गाउँपालिका अध्यक्ष चुनिनेमा एक्लो महिला बनेकी छन् । जुम्लाको चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल नगर प्रमुखमा चुनिए पनि गाउँपालिकातर्फ कोही पनि महिला अध्यक्ष चुनिएका छैनन् ।

२०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य छिन्। युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उप–प्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी शहीद पत्नीसमेत हुन् । युद्धकालमै २०५६ चैतमा उहाँका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो ।

२०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हासिल गरेकी थिइन् । हाल माओवादीको भातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, शहीद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षमा प्रतिद्वन्द्वी उम्मेदवारभन्दा झण्डै दोब्बर मतले विजयी भएकी छन् ।

गाउँपालिकामा पनि माओवादीकै बर्चस्व

७ वटा वडाहरु रहेको कुमाखमालिका गाउँपालिकामा एउटा वडा कांग्रेस, एउटा वडामा एमाले र ५ वटा वडामा माओवादी केन्द्रले विजय हासिल गरेका छन् । जसअनुसार वडा नं. १ मा कांग्रेसका गोपाल बुढाथोकीले वडा अध्यक्षमा जीत हात पारेका छन् भने सदस्यहरुमा माओवादी केन्द्रका जनक थापा, डिल्ली राना, उषा बुढाथोकी र मीना विक विजयी भएका छन् ।

वडा नं. २ मा एमालेका वडा अध्यक्षका उम्मेदवार शेरबहादुर रावत विजयी भएका छन् । दलित महिला सदस्य बाहेक अन्य सदस्य पनि एमालेकै विजयी भएका छन् । वडा नं. ३ मा माओवादी केन्द्रका चित्रबहादुर बुढाथोकीको प्यानल, वडा नं. ४ मा माओवादी केन्द्रकै तिलबीर बुढाथोकीको प्यानल, वडा नं. ५ मा माओवादी केन्द्रकै हरिप्रकाश बुढाथोकीको प्यानल भारी मतले विजयी भएको छ ।

त्यसैगरी वडा नं. ६ मा माओवादी केन्द्रका वीरवल शर्माको प्यानल र वडा नं. ७ मा पनि माओवादी केन्द्रकै तुलाराम बोहरासहितको प्यानल विजयी भएको छ । कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?