+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

बाबुरामले भने- चुनावमा पराजय भोगे पनि असफल भएका छैनौं

'यात्रा बल्ल सुरु भयो, मृत्युलेख लेख्न हतार गर्नेलाई गलत सावित गर्नेछौं'

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते १२:३२

६ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टीले स्थानीय चुनावमा प्रारम्भिक पराजय भोगे पनि असफल नभएको दाबी गरेको छ । वैकल्पिक राजनीतिक शक्ति बनाउने यात्रा बल्ल सुरु भएको नयाँशक्तिको निष्कर्ष छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले शनिबार विज्ञप्ति निकालेर निर्वाचन परिणाम आशा गरिएअनुसार नभए पनि असन्तोष गर्ने नमिल्ने बताएका छन् ।

‘समग्र परिणाम निश्चय नै हाम्रो आशा अनुरुप थिएन तर वर्ष दिन अघिमात्र खुलेको र दर्ताका हिसाबले कान्छो पार्टीको राष्ट्रिय रुपमा हामीले पाएको मतका आधारमा हाम्रो उपलब्धिलाई न्यूनीकरण गर्न मिल्दैन,’ डा. भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यात्रा बल्ल सुरु भएको छ, अघिल्तिर सम्भावनाका अनन्त क्षितिज उघि्रएका छन् ।’

‘प्रारम्भिक पराजय भोग्नु भनेको असफल हुनु होइन । हामी असफल त्यतिबेला हुन्थ्यौं जब हामी यो वैकल्पिक राजनीतिक अभियानमा लाग्ने हिम्मत गर्दैनथियौं । नयाँ शिशुले लड्दै पड्दै नै दौडन सिक्छ र सिक्नुपर्छ,’ भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

निर्वाचनमा पुराना शक्तिहरुले पैसा, बाहुबल र सत्ताको खुलेर प्रयोग गरे र धेरै ठाउँमा वैकल्पिक राजनीतिको प्रतिवद्ध मत पनि सुरक्षित गर्न कठीन भएको भट्टराईको दाबी छ ।

नयाँ शक्तिसँग डराएर दलीय निर्वाचन चिह्न नदिइँदा चुनावमा प्रतिकूल प्रभाव पारेको दाबी भट्टराईले गरेका छन् । तर, विचलित नभई दोस्रो चरणको चुनावको तयारीमा जुटिसकेको उनले बताएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘हामी किञ्चित विचलित भएका छैनौं । पहिलो चरणमा प्राप्त जनमतको सम्मान गर्दै हामी अहिल्यैदेखि दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिसकेका छौं,’

छोटो समयमा अधिकांश स्थानमा उम्मेदवारी दिन सक्नु र केही स्थानमा जित्नुको प्रतीकात्मक महत्व रहेको भन्दै भट्टराईले सन्तोष व्यक्त गरेका छन् । संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउँदा दिनहरुमा अझै जोड दिनुपर्ने नयाँ शक्तिले निष्कर्ष निकालेको छ ।

‘संगठनात्मक शक्तिमा रुपान्तरण गर्न आउँदा दिनहरुमा अझै जोड दिनुपर्ने सन्देश यो निर्वाचनमा मतदाताले दिएका छन् । हामी त्यसलाई विनम्रतापूर्वक स्वीकार्छौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘कतिपयले हाम्रो ‘मृत्युलेख’ लेख्न हतार गर्नेछन्, तर हामी तिनलाई गलत सावित गरिछाड्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?