Comments Add Comment

ललितपुर महानगरपालिकामा कांग्रेसको जित, चिरिबाबु बने मेयर

उपमेयरमा कांग्रेसकै गीता सत्याल विजयी

चिरीबाबु महर्जन र गीता सत्याल विजयी भएपछि कार्यकर्तालाई अभिवादन गर्दै । तस्वीर: कविन अधिकारी अनलाइनखबर

१० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् ।

महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन् ।

मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाए ।

(यो पनि पढ्नुहोस्-  चिरीबाबु महर्जनः ज्यामीदेखि ललितपुरको मेयरसम्म)

यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् ।  उपमेयर निर्वाचित गीता सत्यालको पक्षमा १९ हजार ८१९  मत परेको छ भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे ।

गीता सत्याल

ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ ।

ललितर जिल्लामा पहिलो पार्टी बन्यो कांग्रेस

ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।

ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याल, गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी तथा वागमती गाउँपालिका अध्यक्षमा बीरबहादुर लामा र उपाध्यक्षमा रन्जना घिमिरे निर्वाचित भएका छन् ।

(यो पनि पढ्नुहोस्: मध्यरातमा ललितपुर कांग्रेसको विजयउत्सव तस्वीरमा हेर्नुहोस्)

यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।

माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा गोपिलाल सिङ्तान र उपाध्यक्षमा मिङ्मा लामा छन् ।

पहिलो चरणको चुनावको हालसम्मको परिणाममा भने नेकपा एमाले ११९ स्थान जित्दै पहिलो पार्टी बनेको छ । तेस्रो स्थानको माओवादी केन्द्रले ४६ स्थान जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment