Comments Add Comment

चीनले दिएको इन्डक्सन भोलिबाट ४ हजार रुपैयाँमा बेचिने


१५ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको ‘इन्डक्सन चुल्हो’को भोलि मंगलबारबाट बिक्री सुरु हुने भएको छ । नयाँ दर कायम गरेर भोलिबाट चिनियाँ इन्डक्सन बिक्री गर्न लागिएको हो ।

यसअघि १२ हजार रुपैयाँ कायम गरिएको इन्डक्सन भोलिबाट घटाएर ४ हजार रुपैयाँमा बेच्न लागिएको हो । नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण ब्यवस्था कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले आफ्नो बिक्री कक्षबाट इन्डक्सन ४ हजार रुपैयाँमा बिक्री सुरु गर्न लागिएको बताए ।

‘यसअघि कायम गरेको मूल्यमा एउटा मात्रै इन्डक्सन बिकेको थियो । अब भनेहामीलेसुलभ मूल्यमा यसलाई बेच्न लागेका छौं’ श्रेष्ठले भने,’भोलि विहान १० बजेबाट टेकुस्थित हाम्रो बिक्रीकक्ष मार्फत चिनियाँ इन्डक्सन ४ हजार रुपैयाँमा बेच्न सुरु गर्छौं ।’

अहिले चीनबाटपहिलो चरणमा आएका १३ सय इन्डक्सन बिक्री गर्न लागिएको हो । चीनबाट नेपाल आएका अरु १० हजार इन्डक्सन कुन मूल्यमा बेच्ने भन्ने अन्योल अझै कायमै छ ।

नेपालीले नाकाबन्दीका समयमा भारतबाट ग्यास नपाएर खानै बन्द हुने भएपछि चीनले नेपाललाई इन्डक्सन चुल्हो सहयोग गरेको थियो । अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो । तर, यो अब वितरण नगर्दै बिग्रने अवस्थामा पुगेको छ ।

नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सन बिक्री नभएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

चुल्हो भन्सारमा थन्किँदा विक्रीको जिम्मा पाएको नेशनल ट्रेडिङले करोडौं रकम जरिवाना स्वरुप बिलम्ब शुल्क बेहोनुपर्ने अवस्था छ । अब इन्डक्सनको मूल्यभन्दा बढी डिटेन्सन चार्ज नै भएको छ । यो जरिवना मिनाह नगरी सरकारलाई सुखै छैन ।

२०७२ को मंसिरको मध्यमा काठमाडौं आएको १० हजार इन्डक्सनको अझै भन्सार पास गराउन सरकारले चासो देखाएको छैन ।
नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

नेशनल ट्रेडिङमा अनुसार अहिले बेच्न लागिएको चिनियाँ एकमुखे इन्डक्सन नेपाली बजारमा ४५ सय रुपैयाँसम्ममा पाइन्छ । अहिले नेशनल ट्रेडिङमार्फत किन्दा यसबाट उपभोक्तालाई घाटा नलाग्ने सरकारी अधिकारी बताउँछन् ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो ।

सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो । अहिले भने मूल्य घटाएर बेच्ने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment