Comments Add Comment

ताप्लेजुङको फुङलिङमा कांग्रेस-माओवादी भर्सेस एमाले, राप्रपा दाउमा

१८ जेठ, ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको मेयरमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हने भएपछि मेयर पदमा नेकपा एमालेका उम्मेदवार छत्रपति प्याकुरेल र कांग्रेस उम्मेदवार केशवप्रसाद दाहालबीच प्रतिस्पर्धा निश्चित भएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा कांग्रेस-माओवादीले जिल्लाको एक मात्र नगरपालिका र दुई गाउँपालिका गरी तीन तहमा तालमेल गर्ने अन्तिम तयारी गरेका छन् । जसअनुसार फुङलिङ नगरपालिकामा मेयर पद कांग्रेस र उपमेयर माओवादी केन्द्रले लिने सहमति भएको छ ।

चुनावको मिति सरेपछि यसबारे औपचारिक घोषणा भने केहि दिनमा मात्रै गर्ने तयारी भएको कांग्रस स्रोतले जानकारी दिएको छ । उपमेयरमा माओवादी केन्द्रले बमबहादुर भट्टराई (तारा) लाई उठाएको छ । केही दिनमा नगरका अन्य वडाको समेत पद बाँडफाँड टुंगो लागेपछि कांग्रेससँग तालमेलबारे घोषणा हुने माओवादी केन्ऽले बताएको छ ।

माओवादीसँगको तालमेलमा मेयरको उम्मेदवार रहेका कांग्रेसका केशव दाहाल ताप्लेजुङ कांग्रेसका पूर्व सभापति तथा स्थाई समिति सदस्य हुन् । पहिले शिक्षण पेसा गरेका दाहाल फुङलिङका स्थायी बासिन्दा हुन् भने तालमेलका उपमेयर भट्टराई साविक फावाखोला गाविसका स्थाई बासिन्दा हुन् ।

यसअघि माओवादी केन्द्रले भट्टराईलाई मेयरको उम्मेदवार घाषणा गरेको थियो भने अहिले तालमेल पछि उपमेयरमा सारेको छ । माओवादी केन्द्रले नगरका अन्य वडामा पनि तालमेल गर्ने गरी अहिले दुई पार्टीबीच आन्तरिक छलफललाई तीब्रता दिएको छ ।

कांग्रेस भने माओवादीबाट गाउँपालिका र नगरपालिकाको कुन कुन क्षेत्र तालमेलमा सहमति गर्न सकिन्छ भन्ने विषयमा अध्यानरत छ । कांग्रेस-माओवादीले जिल्लाको मेरिङ्देन गाउँपालिका र सिदिङ्मा गाउँपालिकामा पनि तालमेल गर्ने भएका छन् ।

दुवै गाउँपालिकामा प्रमुख पदमा कांग्रेसले आफ्नो उम्मेदवार उठाउँदा उपप्रमुखमा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाउनेछ । अन्य दुई गाउँपालिकामा तालमेलको कसरत भइरहे पनि टुंगो लागिनसकेको माओवादीले जनाएको छ । ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका सहित जम्मा ९ स्थानीय तह छन् ।

यता कांग्रेस-माओवादी तालमेलको घोषणा नजिक पुगिसक्दा जिल्लाकै बलियो मानिएको नेकपा एमाले पनि तालमेलकै कसरतमा रहेको एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङले बताए ।

नगरपालिकामा कांगे्रस र माओवादीबीच तालमेल हुने भएपछि राप्रपा वा नयाँशक्ति र फोरम लोकतान्त्रिकको गठबन्धन कसलाई रोज्नेमा एमाले व्यापक छलफलमा रहेको एमाले स्रोतले बताएको छ ।

एमालेका केहि नेता नयाँसक्ति गठबन्धन लाई उपमेयर दिएर जानुपर्ने पक्षमा रहेका छन् भने केहि राप्रपासँग राम्रो भोट बैंक रहेकाले जित्नकैलागि भए राप्रपासँग तालमेल गर्नुपर्ने पक्षमा छन् ।

चुनाबको चर्चासँगै नयाँशक्तिले एमालेलाई तालमेलका लागि आग्रह गर्दै आएको थियो । फुङलिङ नगरपालिकामा कांग्रेसको पनि राम्रै प्रभाव रहेको र माओवादीले समेत साथ दिँदा एमालेले सो गठबन्धन सँग प्रतिस्पर्धा गर्न राम्रै साथको खोजिमा रहेको देखिन्छ ।

फुङलिङ नगरपालिकामा एमालेले मेयर पदमा उठाएका उम्मेदवार छत्रपति प्याकुरेलको व्याक्तिगत प्रभावले पनि आफ्नो भोट काट्ने डर कांग्रेस-माओवादीलाई डर छ । शिक्षण पेसाबाट राजनीतिमा आएका प्याकुरेलले शिक्षक महासंघको जिल्ला अध्यक्षको दुई कार्यकाल सम्हालिसकेका छन् ।

उनको मतदाता रिजाउने र प्रभाव पार्ने पक्ष राम्रो रहेकाले नगरमा एमालेको प्रभाव राम्रो रहेको एमालेको बिस्लेसण छ । तर उम्मेदवार छनोटमा नगरमा मेयरका आंकाक्षी धेरै भएपछि जिल्लाले प्रदेश कमिटीमा सिफारिस गरेमध्येबाट एमालेले प्याकुरेलको नाम टुंगो लगाउँदा पार्टीका केहि नेता तथा कार्यकर्ताबाट अन्तरघात हुने संभावना पनि उतिकै रहेको बताइन्छ ।

यता राप्रपाले पनि तालमेलको ठाउँ राख्दै नगरपालिकामा उपमेयरसहितका उम्मेदवारमात्र घोषणा गरेको छ । उसले उपमेयरमा अमिर मादेनलाई अघि सारेको छ ।

यस पटकको निर्वाचनमा ताप्लेजुङमा ७० हजार ७ सय ७८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment