 
																			११ फागुन, विराटनगर। ताप्लेजुङको पाथीभरा ( मुकुम्लुङ) क्षेत्रमा निर्माणधीन केबुलकार रोक्नका लागि कोशी प्रदेश सांसदहरुले माग गरेका छन् । आइतबार प्रदेश सभाको शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले तत्काल रोक्न माग गरेका हुन् ।
‘कुनै व्यक्तिको प्रलोभनमा परेर सरकारले नागरिकमाथि दमन गर्ने र नागरिकमाथि गोली हानेर जबरजस्ती विकास र व्यापारका नाममा जुन गतिबिधि गरिरहेको छ, यो उचित छैन,’ विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘तत्काल केबुलकार निर्माण रोकिनुपर्छ, त्यहाँबाट(निर्माण क्षेत्रबाट) फिर्ता बोलाएपछि स्वत स्थिति शान्त हुन्छ ।’
उनले मन्त्री स्तरमा वार्ता गरेर केबुलकार निर्माण गर्ने वा नगर्ने निष्कर्षमा पुग्न आग्रह गरे । उनले आर्थिक लाभ र फाइदाका लागि नागरिकमाथिको दमन सह्य नहुने बताए । माओवादी केन्द्रले केबलकार विरोधको आन्दोलनलाई नैतिक समर्थन गरेको बताउँदै उनले सरकारले तत्काल पहलकदमी नलिए आन्दोलनमा उत्रिने बताए ।
‘केबुलरकार निर्माणको काम रोकेर सरकारले उच्चस्तरीय वार्ता टोली बनाई निकास खोज्नुपर्छ’ उनले भने, ‘निषेधाज्ञा र कर्फ्यू लगाएर स्थानीय समुदायमाथि गरेको दमन सैह्य हुँदैन ।’ ताप्लेजुङ अशान्त रहेको बेला सरकारले ‘केही भइरहेको छैन’ भनेजस्तो गरेको आङ्बोको गुनासो छ ।
विशेष समयमा बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले आन्दोलनका नाममा नागरिकको घरघरमा आगोको पुल्ठो फाल्नु गलत भएको बताए । आगो घरघरमा फाल्दा नागरिक त्रसित भएको उनले बताए। उनले केबलकारको पक्ष र विपक्षमा देखिएको परिस्थीतिलाई धेरै लामो राख्न नहुने बताए ।
‘नेपाल सरकार र आन्दोलनरत पक्षलाई जतिसक्दो छिटो समस्या समाधान गर्न आग्रह गर्छु,’ उनले भने,‘ बनाउने हो भने आन्दोलनरत पक्षलाई सहमत बनाएर अघि जानु पर्याे, नबनाउने हो भने बनाउनुपर्छ भन्ने पक्षलाई सहमतिमा लिएर अघि जानु पर्यो, तर यो परिस्थीति लामो समयसम्म राखिरहन हुँदैन ।’
विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पाथीभरा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारलाई आग्रह गरे । ‘मुकुम्लुङ क्षेत्रको सम्बन्धमा सरकार किन व्यवस्था गर्छ, किन भिडन्तमा लैजान्छ ? प्रहरी प्रशासन र जनतालाई किन भिडाएर बसेको ?’उनले भने,‘ सरकार किन सिरियस हुँदैन, कोशी सरकार के हेरेर बसेको छ, किन चुक्क पनि बोल्दैन ?’
जसपा सांसद निर्मला लिम्बूले विशेषसमयमा बोल्दै सरकारले मुकुम्लुङ क्षेत्रमा खटिएका नागरिकलाई दमन गरेको बताइन् । सरकारले नै अहिलेको अवस्था सृजना गरेको उनले बताइन् । उनले भनिन्, ‘अमानवीय व्यवहार भइरहदा पनि प्रदेश सरकार मौन रहन कुन नैतिकताले दिन्छ ।’
उनले राज्यले नागरिकमाथि चरम दमन गरेको दाबी गरिन् । उनले भनिन्,‘ मेरो जिल्ला (ताप्लेजुङ) शान्तिपूर्ण जिल्ला हुनुपर्यो, जनतालाई मध्यरातमा बसिरहेको सुतिरहेको अवस्थामा प्रहरी प्रशासनले दमनपूर्ण ढंगले साशन आफ्नो शक्ति प्रयोग गर्न पाउँदैन ।’
त्यसअघि प्रदेशसभाको शून्य समयमा बोल्ने क्रममा सांसद विद्या चाम्लिङ राई, खिनु लङ्वा लिम्बू, प्रदीपकुमार सुनुवार, सविना बजगाईं, प्रेमराज थाम्सुहाङ, गोबिन्द गिरीले पाथीभरा क्षेत्रको विवाद समाधान गर्न माग गरे ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4