Comments Add Comment

ललितपुरको विवाद व्यूँतियो ! धाँधली भएको भन्दै अदालत पुगे एमाले उम्मेदवार

धाँधली गरेर हराएको अारोप

१८ जेठ, काठमाडौं । स्थानीय तहको चुनाव-२०७४ मा आफूलाई हराइएको भन्दै ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकार अदालत गएका छन् ।

व्यञ्जनकारले बुधबार उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका हुन् । मत गणनाकै क्रममा दिइएका पटकपटकका निवेदनहरुको सुनुवाई नभएको ब्यन्जनकारले बताएका छन् ।

गणना कार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकलौटी रुपमा मतगणनाा गरेको लगायतका विषय किटानी गरी मुद्दा दायर गरेको व्यञ्जनकारले बताएका छन् ।

महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगका कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ ।

आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् । व्यञ्जनकारको उक्त मुद्दाको शुक्रबार पेशी तोकिएको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन विजयी भएर मेयरको कार्यभारसमेत सम्हालिसकेका छन् ।

ब्यन्जनकारले मतगणनामा धाँधली भएको भन्दै अन्तिम गणना बहिस्कार गरेका थिए । महर्जन २४६४२ मत प्राप्त गरी विजयी भएका थिए भने ब्यन्जनकारले २४३१६ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment