+
+

वडा सदस्यको भोट २० हजारमा बिक्री

सांसदजस्तै स्थानीय तहमा पनि खरिद विक्रीको खतरा

 दिनेश थापा दिनेश थापा
२०७४ जेठ १९ गते २०:४६

१९ जेठ, सिन्धुपाल्चोक । गाउँ र नगर कार्यपालिकालाई पूर्णता दिनका लागि बिहीबार सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा निर्वाचनको कार्यक्रम थियो । तर, बलेफी गाउँपालिकाको चुनावले विगतमा सिंहदरबारमा हुने गरेको ‘सांसद खरिद विक्री’को झल्को दियो ।

केन्द्र सरकार गठन गर्दा सांसदहरुको किनबेच हुने गरेका घटना नयाँ होइनन् । तर, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याउने भनेर अधिकार सम्पन्न बनाइएको स्थानीय सरकार गठनमा समेत किनबेचको रोग संक्रमित भइसकेको बलेफी गाउँ कार्यपालिकाको चुनावमा देखियो ।

बलेफी गाउँपालिकामा नेकपा एमाले प्रमुख र उपप्रमुखसहित चार वडामा जितेको छ । गाउँ कार्यपालिकाको चुनावका लागि एमाले एक्लैको २१ मत छ भने कांग्रेस र माओवादीको मत पनि २१ मत नै छ ।

मतदानमा दुबै पक्षको २१/२१ भोट हुने र गोलाप्रथाबाट निर्णय हुने भएता पनि केही सिट जित्ने एमालेको अनुमान थियो । तर, मतगणनामा एमालेले सोचेको भन्दा फरक नतिजा आयो । गठबन्धनका उमेदवारहरुको २१ मत नै खस्यो । तर, एमालेको २० भोट मात्रै खस्यो, एउटा मत खाली हालिएको भेटियो ।

वडा सदस्य २० हजारमा बिकेपछि …

गाउँ कार्यपालिकाको मतपरिणाम सार्वजनिक भएलगतै एमालेले कसरी यस्तो भयो भनेर समीक्षा गर्‍यो । एमालेको बैठकमा २१ मध्ये एकजना दलित महिला सदस्यलाई उपस्थित नभएको पत्तो लगायो । र, ती महिला सदस्यको खोजी गर्न टोलीले खटायो । ती दलित महिलालाई खाडीचौरमा भेटिइन् ।

खाडीचौरमै जनप्रतिनिधिमाथि एमाले टोलीले सोधपुछ सुरु गर्‍यो ।सुरुमा त उनले आफूले मत दिएको जिकिर गरिन् । तर, टोलीले पत्यार नलागेपछि फेरि सोध्यो ।

मत हाल्ने क्रममा भित्र पुगेपछि आफ्नो हातखुट्टा नचलेको र आँखा नदेखेपछि खाली मत बाकसमा हालेर हिँडेको उनले आफ्नो पार्टीका नेताहरुलाई बताइन् ।

उनले आफूले मत नहाली खाली राखेको स्वीकार गरिन् । कृष्णबहादुर तामाङ भन्ने व्यक्तिले आफूलाई गाउँ कार्यपालिकाको चुनाव हुँदैछ, हामीलाई भोट दिनुपर्दैन, तर भित्र गएर कसैलाई भोट नहाली खाली मतपत्र ढ्वाङमा राखे २० हजार दिने भनेपछि सोही अनुसार गरेको उनले वयान दिइन् ।

भूकम्पले ढलेको घर बनाउन २० हजार पाउने आशले मतपत्र खाली राखे पनि आफूले पैसा भने नपाएको उनले बताइन् । चुनावपछि पैसा दिने भनेको उनले बताइन् ।

दलित महिला सदस्यले भनिन्- चुनाव जितेको केही दिनपछि मेरा घरमा केही मान्छे आएर के-के दिन्छु, हामीलाई सहयोग गर्नुपर्छ भने, तर मैले मानिनँ । कृष्णबहादुर तामाङ भन्ने मान्छे आएर तपाँइलाई २० हजार दिन्छु, हामीलाई भोट दिनुपर्दैन, भित्र गएर खाली मतपत्र बाकसमा हाले हुन्छ भने । घर ढलेको थियो, मैले हुन्छ भनें । तर, पैसा दिएको छैन, चुनाव सकिएपछि पैसा दिन्छु भनेका छन् ।

उनले आफू एमालेको सामान्य शुभचिन्तक भए पनि कार्यकर्ता नभएकै बेला एमालेले दलित महिला सदस्यमा उम्मेदवार बनाएको बताइन् । उनले भनिन्- यो चुनावमा मलाई एमालेबाट सदस्यमा उठ्नुपर्छ भनेर नेताहरुले भने, सुरुमा मलाई डर लाग्यो, केही हुँदैन, हामी सहयोग गछांै भनेपछि चुनावमा भाग लिएँ, यसअघि म सूर्यमा भोट हाल्ने समर्थक मात्र थिएँ ।

बिक्ने डरले पोखरा भ्रमण

उता निर्वाचित जनप्रतिनिधिहरु आर्थिक प्रलोभनमा परेर कार्यपालिकाको चुनावमा बिक्री हुने अनुमानसहित नेपाली कांग्रेसबाट बाह्रबिसे नगरपालिकाबाट निर्वाचित प्रतिनिधिहरुलाई पार्टीले चार दिनसम्म पोखरा र दामनको भ्रमणमा गराएको छ ।

उनीहरुलाई कार्यपालिका निर्वाचनको दिन मतदान गरेपछि मात्रै छाडिएको थियो । उनीहरुलाई एमालेले खरिद गर्ने सम्भावना रहेको भन्दै कांग्रेसले पोखरा घुमाउन लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?