Comments Add Comment

४ हजारमा बेच्दा चिनियाँ इन्डक्सनको ‘हारालुछ’


२१ जेठ, काठमाडौं । मूल्य घटाएपछि चीनबाट आएको ‘इन्डक्सन चुल्हो’ सजिलै बिक्री भएको छ । अब चुल्हो किन्न चाहानेलाई पुर्‍याउन नसकिने अवस्था नै आएको छ ।

मंगलबारबाट बिक्री सुरु भएको चिनियाँ चुल्हो ४ दिनमै ११ सय वटा बिकेको हो । शुक्रबार चुल्हो किन्न सर्वसाधारणको नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण ब्यवस्था कार्यालयमा ठूलो भीड लागेको थियो । अब २ सय चुल्हो मात्रै बेच्न बाँकी रहेको कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि १२ हजार रुपैयाँ कायम गरिएको इन्डक्सन भोलिबाट घटाएर ४ हजार रुपैयाँमा बेचिँदैछ । आज नै चुल्हो बेचेर सकिने अनुमान नेशनल ट्रेडिङको छ ।

‘यसअघि कायम गरेको मूल्यमा एउटा मात्रै इन्डक्सन बिकेको थियो । यसपाली भने हामीले सुलभ मूल्यमा यसलाई बेच्दा सर्वसाधारणले निकै चासोका यसलाई किने’ श्रेष्ठले भने ।

अहिले चीनबाट पहिलो चरणमा आएका १३ सय इन्डक्सन बिक्री गरिएको हो । चीनबाट नेपाल आएका अरु १० हजार इन्डक्सन कुन मूल्यमा बेच्ने भन्ने अन्योल अझै कायमै छ ।

नेपालीले नाकाबन्दीका समयमा भारतबाट ग्यास नपाएर खानै बन्द हुने भएपछि चीनले नेपाललाई इन्डक्सन चुल्हो सहयोग गरेको थियो । अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो ।

नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सन बिक्री नभएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

चुल्हो भन्सारमा थन्किँदा विक्रीको जिम्मा पाएको नेशनल ट्रेडिङले करोडौं रकम जरिवाना स्वरुप बिलम्ब शुल्क बेहोनुपर्ने अवस्था छ । अब इन्डक्सनको मूल्यभन्दा बढी डिटेन्सन चार्ज नै भएको छ । यो जरिवना मिनाह नगरी सरकारलाई सुखै छैन ।

२०७२ को मंसिरको मध्यमा काठमाडौं आएको १० हजार इन्डक्सनको अझै भन्सार पास गराउन सरकारले चासो देखाएको छैन ।

नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो ।

सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो । अहिले भने मूल्य घटाएर बेच्ने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment