Comments Add Comment

बिराटगरः भावी मेयरका एजेण्डा- प्रदेशको राजधानीदेखि चीन भारत जोड्नेसम्म


२१ जेठ, बिराटनगर । केही दिन अघिमात्रै महानगरपालिका घोषणा भएको बिराटनगरमा चुनावी चहल-पहल बढेको छ । विभिन्न दलहरुबाट मेयर र उपमेयरका सम्भावित उम्मेदवारलाई हामीले सोधेका छौं-तपाईहरु कस्तो बिराटनगर बनाउन चाहनुहुन्छ ? तपाईहरुका चुनाबी एजेण्डा के कस्ता छन् ?

प्रायः सबै उम्मेदवारले बिराटनगरलाई ‘स्मार्ट सिटी’ बनाउने र समग्र विकासमा ध्यान दिने बताएका छन् । चीन र भारतको व्यापारिक नाकाका रूपमा बिराटनगरलाई  विकास गर्ने उनीहरुले बताएका छन् ।

मतदाता एवं नागरिक समाजका अगुवाहरुले भने बिराटनगरको मेयरको उम्मेदवार छनोट गर्दा राम्रो छवि भएका, विकासप्रेमी एवं भ्रष्टाचारमा नफसेका नेतालाई छान्नु पर्ने सुझाव दिएका छन् ।

बिराटनगरका नेताका चुनाबी एजेण्डा यस्ता छन्ः

अन्तरराष्ट्रिय विमानस्थल बनाउँछु
डीला संग्रौला, मेयरकी सम्भावित उम्मेदरवार, (कांग्रेस)

राजनीतिक पहिचान बनाएको बिराटनगरले सोही अनुसारको विकासमा फड्को मार्न नसकिरहेको अवस्थामा यसको विकास गरी स्वच्छ, सुन्दर र हराभरा बिराटनगर बनाउन पहल गर्नेछु ।

सर्वप्रथम बिराटनगरलाई पूर्वाधारयुक्त शहर बनाउने मेरो लक्ष्य छ । नगर क्षेत्रका सबै भित्री सडक कालोपत्रे गर्नुका साथै ढल, खानेपानी बिजुली वत्तिको व्यवस्थापनमा लाग्नेछु ।

खेलकुदको विकासका लागि रंगशालालाई थप व्यवस्थित गर्ने र बिराटनगर शहरसँग परिचय जोडिएको ऐतिहासिक स्थल विराट राजाको दरबारलाई संरक्षण एवं व्यवस्थापन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा अगाडि बढाउने लक्ष्य लिएकी छु ।

काठमाण्डौपछिको शहर बिराटनगरमा भएको विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न मेरो पहल हुनेछ ।
बिराटनगरमा व्यवस्थित पुस्तकालय बनाउने, सिंगिया खोला र केसलिया खोलालाई तटवन्ध गरी ग्रीन वेल्ट निर्माण गर्ने र पर्यटन प्रवर्द्धन गराउने मेरो लक्ष्य छ ।

बिराटनगरमा रहेका रुग्ण उद्योगहरुलाई पुनः सञ्चालन गर्ने वतावरण तयार गरी औद्योगिक उत्पादन बढाउने र सिचाइँको प्रवन्ध गरी कृषि उत्पादन एवं कृषिको बजारीकरणका साथै प्रर्दशनी स्थल निर्माण गर्ने मेरो लक्ष्य छ ।

कोशी अस्पताललाई थप व्यवस्थित गरी क्षेत्रीय अस्पतालका रुपमा विकास गर्ने लक्ष्य बनाएकी छु । सो अस्पतालमा जेष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक पिछडिएका वर्गको निःशुल्क उपचारको व्यवस्था गर्न पहल गर्ने छु ।

त्यसैगरी बिराटनगर बाहिरको चक्रपथ निर्माणको कार्यलाई तिव्रता दिँदै व्यवस्थित शहर निर्माणको पहल गर्नेछु ।

कटहरीसम्म रेलवे सेवा विस्तारको कामलाई तिव्रता दिन पहल गर्दै बिराटनगर जुट मिल पुनः सञ्चालन गरी त्यसलाई थप व्यवस्थित गर्न पहल गर्दै रोजगारी सृजना गर्ने मेरो पहल हुनेछ । बिराटनगरलाई लोडसेडिङ मुक्त शहर घोषणाका लागि पहल गर्नेछु ।

एक नम्बर प्रदेशको राजधानी बनाउँछु
महेश रेग्मी, मेयरका सम्भावित उम्मेदवार (एमाले)

सर्वप्रथम त भर्खरै बिराटनगर महानगरपालिका घोषणा भएको छ । नाम घोषणा भएको बिराटनगर शहरलाई साच्चिँकै विकासको पूर्वाधारयुक्त शहर निर्माण गर्नेे लक्ष्य राखेको छु ।

बिराटनगरलाई बेरोजगाररहित सहर बनाउने र यसका लागि अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने मेरो लक्ष्य छ ।

बिराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने, ग्रेटर रिङरोड निर्माण गर्ने, क्लिन सिटी बनाउने, व्यवस्थित शहर, शिक्षा, स्वास्थ्यको हब बनाउने मेरा मुख्य एजेण्डा रहेका छन् ।

बिराटनगर एक नम्बर प्रदेशको आर्थिक मात्रै नभएर सम्भावित प्रशासनिक राजधानी पनि हो । अब म एक नम्वर प्रदेशको राजधानी बिराटनगरलाई बनाउन पहल गर्नेछु । यति मात्र हैन, अग्रणी औद्योगिक, व्यापारिक नगरका रुपमा मुलुककै नम्वर एक सिटीका रुपमा यसलाई विकास गर्ने मेरो लक्ष्य छ ।

बिराटनगरको रानीदेखि किमाथाङ्का नाकासम्मको सडक छिटै निर्माण सम्पन्न गरी चीन र भारतको व्यापारिक नाकाका रूपमा बिराटनगरलाई विकास गरी औद्योगिक नगरको पहिचानलाई अझ वढुवा दिने लक्ष्य रहने छ ।

बिराटनगर शहरको पूर्वमा केसलिया खोला र पश्चिममा सिगिंया खोलालाई व्यवस्थित गरी सिचाईंको प्रवन्ध गरी यस क्षेत्रमा अन्नबाली उत्पादनलाई टेवा पुर्‍याउने मेरो लक्ष्य छ ।

त्यसैगरी बिराटनगर पौराणिक शहरका रुपमा परिचित छ । बिराटनगरको थप विकासका लागि बिराट राजाको दरबारलाई व्यवस्थित गरी धार्मिक पर्यटनलाई टेवा पुन्याउने मेरो लक्ष्य छ ।

चीन र भारतको व्यापारिक नाका बनाउँछुः भोगेन्द्र यादव
मेयरका उम्मेदवार, माओवादी केन्द्र

चीन र भारतको व्यापारिक नाकाका रूपमा बिराटनगरलाई विकास गर्न मेरो लक्ष्य छ । संखुवासभाको नाकाबाट बिराटनगर हुँदै जोगबनीबाट व्यापार गर्न सकिन्छ । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न सकेको खण्डमा बिराटनगरलाई आर्थिक हब बनाउन सम्भव छ ।

यसैगरी बिराटनगरमा वैज्ञानिक संग्रहालय बनाउने र सुविधासम्पन्न नाचघर बनाउने पनि मेरा एजेन्डा छन् ।

यी बाहेक पर्याप्त सिचाइँको व्यवस्था गगर्न सकेको खण्डमा मोरङले कृषि उत्पादनमा फड्को मार्न सक्छ । यसमा पनि मेरो ध्यान जानेछ ।

बिराटनगरलाई पूर्वाधारसम्पन्न शहरका रुपमा विकास गर्ने मेरो चाहाना छ । स्वच्छ हराभरा शहर बनाउने उद्देश्यका साथ काम गर्ने र औद्योगिक नगरीका रुपमा बिराटनगरलाई स्थापित गरी रोजगारयुक्त शहरका रुपमा चिनाउने मेरो लक्ष्य छ ।

मेयर भैसकेको व्यक्ति हुँ, समृद्ध बिराटनगर बनाउँछु

प्रह्लाद साह, राप्रपा, मेयरका सम्भावित उम्मेदवार

मुलुककै समृद्ध शहरका रुपमा बिराटनगर महानगरपालिका निर्माणका लागि पहिलो पहल मेरो हुनेछ । आम नगरवासीलाई सेवा प्रदान गर्ने सोच एकातर्फ छ भने अर्कोतर्फ न्यून करयुक्त महानगर बनाउनुपर्ने अहिलेको आवश्यकता छ । यसका लागि मेरो पहल हुनेछ ।

विगतमा म मेयर हुँदा व्यवस्थित बसपार्क र गि्रन बेल्टको अवधारणा ल्याएको थिएँ अहिलेसम्म सो कुरा पूर्णरुपमा कार्यान्वयनमा नआइसकेको अवस्थामा यो अवधारणालाई लागु गर्नेतर्फ मेरो ध्यान जानेछ ।

म पूर्वमेयर समेत भइसकेको हुनाले सुन्दर, स्वच्छ र हराभरा शहर बिराटनगर बनाउन विषेश योजनासहित अगाडि बढ्नेछु ।

फोहोरमैला व्यवस्थापन वैज्ञानिक तरिकाले गरेर यहीँ रोजगारी सिर्जना गर्ने, समृद्ध नगर एवं सुखी नगरपालिकाबासी बनाउने मेरो लक्ष्य छ ।

निजी क्षेत्रसँगको सहकार्य गर्ने उम्मेदवार चाहिन्छ
राजेन्द्र राउत, पूर्ववरिष्ठ उपाध्यक्ष, मोरङ व्यापार संघ

आसन्न स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार बन्ने हो । स्थानीय सरकारले स्थानीयको जनजीविकाको सवालमा काम गर्न सक्ने क्षमतावान व्यक्ति मेयरको उम्मेदवार हुन जरुरी छ ।

राजनैतिक, सामाजिक र आर्थिक क्षेत्रको नेतृत्व लिने शहर बिराटनगर भएकाले दलहरुले टिकट दिने कुरामा जनताले रुचाएको, जनतासँग भिजेको एवं विकासको भिजन भएको व्यक्तिलाई दिनुपर्छ । ताकि भोलिका दिनमा सबै क्षेत्रसँग मिलेर काम गर्न सक्ने वातावरण तयार होस् । यसले गर्दा विराटनगरको विकासमा समेत यसले टेवा पुर्‍याउन सहयोग पुग्ने छ ।

हाम्रो भन्दा पनि राम्रो मन्छेलाई दलहरुले टिकट दिनुपर्छ । जनताले रुचाएको विकास प्रेेमी नेतालाई टिकट दिनुपर्छ । राजनीतिभन्दा माथि उठेर काम गर्न सक्ने क्षमतावान व्यक्ति नै बिराटनगरका लागि अहिलेको आवश्यकता हो ।

सर्वप्रथमतः बिराटनगर महानगरपालिकाको गुरुयोजना बनाउन आवश्यक छ । सुस्त गतिको बिराटनगरको विकासलाई गति दिनु अहिलेको आवश्यकता हो ।

बिराटनगर औद्योगिक नगरी भएकाले निजी क्षेत्रसँगको सहकार्यमा बिराटनगरको विकासमा अघि बढाउन आवश्यक छ । नगरभित्रका विकासका कामहरुमा निजी क्षेत्रलाई समेत साथमा लिएर जान सक्ने व्यक्तिलाई दलहरुले मेयरको उम्मेदवार बनाएकोे खण्डमा सबै क्षेत्रको साथ र सहयोग उसलाई रहने छ ।

बिराटनगर अार्थिक क्षेत्रको हब भएकाले आर्थिक क्षेत्रका विकास र सुदृढीकरण गर्न सक्ने, आर्थिक क्षेत्रलाई बुझेको व्यक्ति हुन पनि आवश्यक छ, सोहीअनुसार दलहरुले त्यस व्यक्तिको छनोट गरी टिकट लिनुपर्दछ ।

भ्रष्टाचारमा नमुछिएको मेयर चाहिन्छ
-तोरेन्द्रमानसिंह प्रधान, नागरिक अगुवा

बिराटनगरको आर्थिक सामाजिक एवं राजनैतिक दख्खल राख्ने विकासप्रेमी व्यक्तिलाई दलले मेयरको टिकट दिनुपर्छ । स्थानीय सरकारले अाफ्नो क्षेत्रभित्र पर्ने सबैलाई सरकारको प्रत्यानुभूति दिने गरी काम गर्न सक्ने हुनुपर्छ ।

दलहरुले उम्मेदवार बनाउँदा विकासप्रेेमी नेतालाई पहिलो प्राथमिकतामा राखेर छनोट गर्नुपर्छ । स्थानीय तहको निर्वाचनमा दलहरुले उम्मेदवार उठाउँदा योग्य, सक्षम र भिजन भएको व्यक्तिलाई उठाउनुपर्छ ।

भ्रष्टाचारमा नमुछिएको स्वच्छ छवि भएकालाई टिकट दिनुपर्छ । प्रभाव र दबावमा नपरी दृढ अठोटका साथ काम गर्न सक्ने निडर व्यक्ति हुनुपर्छ । व्यक्तिगत सम्बन्ध राम्रो भएको र दलभन्दा माथि उठेर जनताको पक्षमा काम गर्न सक्ने पनि हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment