Comments Add Comment

अरबको बाछिटा नेपालमाः अबुधावी हुँदै कतार जाने उडान बन्द

कतारको संकटले नेपाललाई कति असर पार्ला ?

२२ जेठ, काठमाडौं । अरब मुलुकमा चर्किएको कूटनीतिक द्वन्द्वको सोझो असर नेपालीमाथि परेको छ । साउदी अरेबिया लगायतका देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेकै दिन सोमबारदेखि काठमाडौंबाट आबुधाबी हुँदै कतार जाने नेपाली कामदार मारमा परेका छन् ।

काठमाडौबाट दुबईको आबुधावी हुँदै दोहा जाने यात्रुहरुलाई सोमबारदेखि टिकट दिन बन्द गरिएको छ । सोमबार इतिहाद एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कतारतर्फको सबै उडान अर्काे सूचना प्रकाशित नभएसम्मका लागि रद्द भएको जनाएको छ । इतिहाद एयरलाइन्सले कतारको उडान बन्द गरेसँगै नेपाली यात्रु मारमा परेका हुन् ।

इतिहादले कतारका लागि सोमबार अन्तिम उडान भर्दैछ । अन्तिम उडान स्थानीय समय अनुसार सोमबार राति ९ बजेर ३५ मिनेटमा गर्नेछ । दोहाबाट कतार भने अन्तिम उडान १० बजेर ५० मिनेटमा हुनेछ ।

साउदी अरब, इजिप्ट, युएई र बहराइनका सबै एयरलाइन्सहरुले कतारको उडान नगर्ने घोषणासँगै इतिहादको काठमाडौंबाट दोहा उडान सेवा प्रभावित भएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले सोमबार इतिहाद एयरलाइन्सले दोहा जाने यात्रुलाई टिकट नदिएको अनलाइनखबरलाई बताए ।

उनले भने ‘यसअघि यहाँबाट दोहा जाने यात्रुलाई आवुधाबीसम्म लगेर त्यहाँबाट अर्काे विमानमा लगिन्थ्यो, तर सोमबारदेखि त्यो सेवा बन्द गरेको छ ।’

अब कतार जाने नेपाली यात्रुहरुले अन्य विमान कम्पनीको सेवा लिनुपर्ने अवस्था आएको उपाध्यायले अनलाइनखबरलाई बताए ।

यसअघि नेपालबाट दोहा जाने यात्रुलाई इतिहाद एयरलाइन्सले आबुधाबीसम्म लाने गर्दथ्यो । उनीहरुलाई आबुधाबीबाट अर्काे विमानमार्फत इतिहादले यात्रुलाई दोहा पुर्‍याउने गरेको थियो । काठमाडौंमै टिकट काटेर सहजै कतार जान पाइन्थ्यो ।

तर, युएई र कतारको सम्बन्ध बिग्रिएपछि   कतार जाने नेपाली कामदारहरु अप्ठ्यारोमा परेका छन् । कतारबाट आबुधावी हुँदै स्वदेश फर्कने नेपालीहरुलाई पनि यसको असर परेको छ ।

नेपालबाट बैदेशिक रोजगारका लागि कतार जाने कैयन नेपाली यही रुट हुँदै कतार जाने गरेका थिए । तर, सोमबार देखि भने यो सुविधा अनिश्चित कालका लागि बन्द भएको छ ।

इतिहादसँगै, फ्लाइ दुबई, इमिरेट्स र एयर अरेबियाले पनि मंगलबारदेखि दोहा हमाद अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफ्ना उडान बन्द गर्ने भएका छन्

सोमबारदेखि साउदी अरब, इजिप्ट, बहराइन, युएई, यमन. लिबिया र मालदिभ्सले कतारसँगको कुटनैतिक सम्बन्ध बिच्छेद गरेसँगै यसको सोझो असर नेपाली कामदारहरुमा परेको छ । कतारले आतकंवादलाई संरक्षण गरेको भन्दै उनीहरुले कुटनैतिक सम्बन्धको अन्त्य गरेका हुन् । तर, कतारले भने उनीहरुको आरोप निराधार रहेको बताएको छ ।

मंगलबारबाट ४ कम्पनीको दोहा उडान बन्द

इतिहादसँगै, फ्लाइ दुबई, इमिरेट्स र एयर अरेबियाले पनि मंगलबारदेखि दोहा हमाद अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफ्ना उडान बन्द गर्ने भएका छन् । आबुधाबीदेखि दोहासम्म दैनिक १० वटा उडान हुने गरेका थिए । ती सबै रद्द हुने भएका छन् ।

बहराइनको परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै दोहाबाट आफ्ना कुटनैतिक कर्मचारी ४८ घण्टाभित्र फिर्ता ल्याउने जनाएको छ । साथै उसले दोहाबाट बहराइन आएका सम्पूर्ण नागरिकहरुलाई दुई हप्ताभित्र आफनो देश छाड्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यसैगरी इजिप्टको परराष्ट्र मन्त्रालयले पनि कतारसँग हुँदै आएको हवाई तथा हवाइ एवं जल यातायात दुबै रद्द भएको जनाएको छ । इजिप्ट एयरले सोमबार दुईवटा मात्रै उडान भर्ने भएको छ ।

कतार एयरवेजले भने अहिलेसम्म आफ्नो कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन । कतारका सञ्चार माध्यमहरुले भने साउदी अरबतर्फको उडान रद्द गरेको जानकारी दिएका छन् । कतार एयरवेजले प्रत्येक हप्ता साउदी अरेबियाका लागि ३३ हजार ६ सय ९१ सीट र दुबईका लागि ३१ हजार ४ सय २७ सीट बेच्दै आएको थियो ।

कतारमाथिको कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गर्नेहरुमा साउदी अरेबिया, इजिप्ट, बहराइन, युएई, यमन र मालदिभ्ससमेत छन् ।

कतारले यो निर्णयलाई अन्यायपूर्ण भनेको छ । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्ने आरोप अप्रमाणिक रहेको कतारको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । यसलाई उसले कतारको सार्वभौमिकतामाथिको हस्तक्षेप भनेको छ ।

टिप्पणीः दक्षिण एशियामा अरब संकटको बाछिटा

 

कतारमाथि लागेको छिमेकीहरुको बञ्देजले त्यहाँ कार्यरत नेपालीहरु र नेपाललाई के कस्तो असर पार्ला ? हामी नेपालीहरुका लागि यो नै चासोको विषय हो । कतार नेपाली कामदारहरुको आकर्षक गन्तव्य हो ।

नेपालका तत्कालीन डा. राष्ट्रपति रामवरण यादवदेखि एमाले अध्यक्ष केपी ओली र वर्तमान प्रधानमन्त्री प्रचण्डले समेत बेलाबखत कतारको भ्रमण गर्दै आएका थिए । यी भ्रमणहरुमा नेपाली नेताले कतारका सरकारी अधिकारीहरुसँग भेटेर नेपाली कामदारको हितका साथै नेपालमा कतारको लगानीका विषयमा समेत कुराकानी गर्ने गरेका थिए ।

तर, कतारलाई आतंकवादको संरक्षण गरेको आरोप लागेसँगै नेपाल-कतार सम्बन्धमा असर पर्न सक्ने अनुमान अस्वाभाविक छैन । यसको पहिलो असर हवाइ उडानमा देखा परिसकेको छ ।

कतार र साउदी अरब वीचको बिग्रँदो सम्बन्धको प्रभावबारे भारतमा समेत विश्लेषण हुन थालेको छ ।

नेपाल पेट्रोलियम पदार्थमा भारतसँग निर्भर रहँदै आएको छ भने भारतचाहिँ साउदी अरबसँग भर पर्दै आएको छ । यो स्थितिमा भारतले साउदी अरबसँग सम्बन्ध बिगार्न सक्दैन ।

उता कतारमा पनि करिब ६ लाख भारतीयहरु कार्यरत छन्, जसका कारण भारतले कतारसँग पनि सम्बन्ध बिगार्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा भारतीयहरु कतार-साउदी द्वन्द्वको कोपभाजनमा नराम्रोसित फस्ने सम्भावना बढेको छ ।

साउदी र कतारसँग भारतको जस्तो नेपाल सरकारको सोझो व्यापारिक सम्बन्ध नरहे पनि यी दुबै मुलुकहरु नेपालका लागि महत्वपूर्ण श्रम गन्तव्य हुन् ।

कतार क्राइसिसको  झलक

एउटा यस्तो समय थियो, खाडी मुलुकको सानो देश कतार निकै गरीब थियो । तर, छोटो समयमा उसले समृद्धि हासिल गर्‍यो । र, खाडी क्षेत्रमा उसले तीव्रताका साथ आफ्नो उपस्थिति जनाउन सफल भयो ।

पछिल्लो समयमा कतारले २०२२ को विश्व वल्र्डकप खेल आफ्नो देशमा खेलाउने तयारी गरिरहेको छ । र, यसलाई पश्चिमी देशहरुले रुचाएका छैनन् । उसले ८ वटा रंगशालाहरु बनाइरहेको छ ।

कतारको अर्थतन्त्र मुख्य रुपमा तेल र ग्यासको व्यापारमा निर्भर छ । तर, पछिल्लो समयमा तेलको मूल्यमा आएको गिरावटको असर कतारको अर्थतन्त्रमा परेको छ । यही असरकै कारण कतारले वित्तीय घाटाबाट बच्नका लागि खर्च एवं अनुदान कतौटी गर्ने नीति लिएको छ ।
अब अन्य मुलुकले उसमाथि सुरु गरेको घेराबन्दीका कारण कतारको अर्थतन्त्रमा थप गिरावट आउन सक्छ । र, यसले गर्दा त्यहाँको वैदेशिक रोजगारीमा कटौती हुन गई नेपाली कामदारहरुलाई असर पर्न सक्छ ।

कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणालगत्तै सोमबार नै युएईले आफ्नो बन्दरगाह र एयरपोर्टमा कतारी झण्डावाला विमान एवं पानीजहाजमाथि रोक लगाएको जनाएको छ ।

साउदी अरबबाट कतारका लागि लगिएका खाद्य सामाग्री सीमानामै रोकेर राखिएको छ ।

फुटबलको तयारी गरिरहेको फिफाले कतारमा निरन्तर सम्पर्क भइरहेको भन्दै आफ्नो थप प्रतिक्रिया पछि सार्वजनिक गर्ने संक्षिप्त प्रतिक्रिया दिएको छ ।
एयर अरेबियाले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै युएई र कतारवीचको उडान स्थगन गरिएको सूचना दिएको छ ।

इरानले भने अरब क्षेत्रका राष्ट्रहरुवीच द्वन्द्व बढेकोमा चिन्ता व्यक्त गर्दै छलफलको माध्यमबाट विवाद सुल्झाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment