Comments Add Comment

निन्द्रा खल्बलिन्छ ? यसरी पाउनुहोस् गहिरो निन्द्रा

राती राम्ररी निन्द्रा नलाग्नु एउटा साझा समस्या हो, जुन दशा धेरैले झेलिरहेका हुन्छन् । राम्ररी निन्द्रा नलागेकै कारण ‘स्लिपिङ ट्याब्लेट’ चपाउनुपर्ने वाध्यता पनि धेरैलाई छ ।

जब तपाई मस्त निदाउन सक्नुहुन्न, शरीर बोझिलो हुन्छ । दिमागले सहि ढंगले काम गर्न सक्दैन । त्यतीमात्र होइन, यसले शरीरमा रोगसमेत निम्त्याउँछ । अनिन्द्राकै कारण उच्च रक्तचाप बढ्छ, मधुमेहको खतरा हुन्छ ।

गहिरो निन्द्रा किन ?

स्वस्थ्य जीवनका लागि गहिरो निन्द्रा अपरिहार्य छ । एक वयस्क व्यत्तिले दिनमा ७ वा ८ घण्टा सुत्नुपर्छ । तर, कति समय सुत्ने भन्ने भन्ने कुराले त्यसबेला मात्र अर्थ राख्छ, जब त्यो सुताई आरमदायक र गहिरो हुन्छ । गहिरो निन्द्राले मानसिक एवं शारीरिक स्वस्थ्यमा राम्रो प्रभाव पार्छ । यसरी गहिरो निन्द्रा सुतेपछि दिनभर शरीर चंगा हुन्छ । स्फूर्ति बढ्छ । काम गर्न जाँगर चल्छ ।

किन निन्द्रा लाग्दैन ?

निन्द्रासँग जोडिएको केहि समस्या हुन्छ, त्यसमा सबैभन्दा बढी दुई प्रकृतिको देखिन्छ । एक त, कम निन्द्रा लाग्नु । अर्को चाहि मस्त निदाउन नसक्नु ।

निन्द्रा नलाग्नुको खास कारण मानसिक तनाव नै हो । जब तपाईको मन स्थिर हुँदैन, शान्त हुँदैन निन्द्रा खलबलिन्छ । अधिक मानसिक थकानमा पनि निन्द्रा लाग्दैन । त्यस्तै कतिपय रोग, शारीरिक पीडा, दुखाई आदिले निन्द्रा लाग्दैन ।

त्यस्तै सुत्नुअघि गरिने कतिपय गतिविधिले निन्द्रा विथोलिन्छ । गलत खानपान, अपच पनि अनिन्द्राको कारण हो । त्यस्तै त्यहाँको वातावरण, ओछ्यानले समेत सुत्ने कुरामा प्रत्यक्ष असर गर्छ ।

कसरी पाउने गहिरो निन्द्रा ?

१. गहिरो निन्द्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।

२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निन्द्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।

३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन्, विगतका गल्तीहरु सम्झन्छन्, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।

४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।

५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निन्द्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।

६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निन्द्रा लाग्छ ।

७. शारीरिक रुपमा निस्त्रिmय हुँदा पनि राम्ररी निन्द्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।

८. सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निन्द्रा लाग्छ ।

९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निन्द्रा विथोलिन्छ ।

१०. सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निन्द्रा लाग्छ ।

केहि घरेलु विधी

राम्रो निन्द्रा पाउनका लागि केहि घरेलु औषधिले पनि उपयोगी हुन्छ । तर, पूर्ण रुपमा यसमै निर्भर हुनुहुदैन । स्वस्थ्य दिनचर्यासँगै घरेलु विधी अपनाएपछि गहिरो निन्द्रा पाउन सकिन्छ ।

– काचो प्याजको सेवन गर्नुपर्छ ।
– पुदिनाको पात पानीमा उमालेर उक्त पानी सेवन गर्नुपर्छ ।
– सुत्नुअघि मनतातो दुध पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment