+
+
Shares

किन आयातमुखी छ पुष्प उद्योग ?

साढे ११ अर्ब लगानी र ६२ हजारलाई रोजगारी, निर्यातभन्दा २२ गुणा बढी आयात

सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट भविष्यमा आयातलाई उल्लेख्य रूपमा घटाउन सक्ने छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ कात्तिक ११ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पुष्प व्यवसाय ७७ जिल्लामा पुगेको छ र ५४ जिल्लामा व्यावसायिक खेती भइरहेकाले यसमा ११ अर्ब ५० करोडभन्दा बढी लगानी भएको छ ।
  • आर्थिक वर्ष २०८१/८२ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात १ करोड १५ लाख ७८ हजार र आयात २६ करोड १३ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
  • फ्यानका महासचिव हिरामणि शर्माले चाडपर्वको अस्वाभाविक माग, नीतिगत कडाइ र खुला सीमाना आयात बढ्नुका मुख्य कारण भएको बताए ।
  • आर्थिक वर्ष २०८२/८३ मा पुष्प व्यवसायको कारोबार ३ अर्ब ९४ करोडभन्दा बढी पुगेको छ भने आलंकारिक बोटबिरुवाको हिस्सा सबैभन्दा ठूलो छ ।

११ कात्तिक, काठमाडौं । नेपालमा फूल प्रयोग अब चाडपर्व, पूजापाठ र विवाह व्रतबन्धमा मात्र सीमित छैन । बढ्दो सहरीकरण, जीवनशैलीमा आएको परिवर्तन र सौन्दर्यप्रतिको बढ्दो चेतनाले पुष्प व्यवसायलाई एक आकर्षक र ठूलो सम्भावना बोकेको व्यावसायिक कृषिका रूपमा स्थापित गरेको छ ।

सामान्य स्तरबाट सुरु भएको नेपालको पुष्प व्यवसाय आज अर्बौंको लगानी र हजारौंको रोजगारी जोडिएको एक बृहत उद्योगका रूपमा रूपान्तरण भइसकेको छ ।

तर बाहिरबाट हेर्दा जति सुन्दर र सुगन्धित देखिन्छ, पुष्प उद्योगको भित्री तथ्यांक र यथार्थ भने त्यति नै चुनौतीपूर्ण छ । लगानी र बजार विस्तारबीच नेपाल फूल तथा पुष्पजन्य सामग्रीमा अझै पनि परनिर्भरताको सिकार भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को पछिल्लो तथ्यांकले देखाएको छ ।

आजको दिनमा नेपालबाट हुने फूल निर्यातभन्दा आयात करिब २२ गुणा बढी छ ।

इतिहासदेखि वर्तमानसम्म : यसरी आकासियो लगानी

नेपालमा पुष्प व्यवसायको औपचारिक इतिहास निकै पुरानो छ । २०११ सालमा सामान्य स्तरबाट सुरु भएको यो व्यवसायले लामो समयसम्म व्यावसायिक गति लिन सकेको थिएन । २०४९ सालसम्म आइपुग्दा देशभरि जम्मा ८० वटा मात्रै नर्सरी व्यवसायी थिए ।

फ्यान महासचिव हिरामणि शर्माका अनुसार हाल नेपालका ७७ वटै जिल्लामा फूलको बजार पुगिसकेको छ भने ५४ जिल्लामा त व्यावसायिक रूपमै पुष्प खेती भइरहेको छ ।

२ सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको यस व्यवसायमा हाल १ हजार ४ सय ८५ भन्दा बढी व्यवसायी प्रत्यक्ष संलग्न छन् । जसमध्ये नर्सरी व्यवसायी ५ सय ९४, कट फ्लावर उत्पादक ४ सय १८, कट फ्लावर खुद्रा व्यवसायी १ सय १०, पुष्प थोक व्यवसायी २ सय ९१ र इनपुट सप्लायर्स २५ छन् ।

आजसम्म आइपुग्दा पुष्प व्यवसायमा अनुमानित ११ अर्ब ५० करोडभन्दा बढीको लगानी भइसकेको छ । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५ सयभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याइरहेको फ्यानको दाबी छ ।

किन हुन्छ २२ गुणा बढी आयात ?

नेपालको पुष्प उद्योगले भोगिरहेको सबैभन्दा ठूलो चुनौती भनेको यसको आयात र निर्यातबीचको खाडल हो । भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक हेर्ने हो भने पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात जम्मा १ करोड १५ लाख ७८ हजार रुपैयाँ बराबर मात्र छ । यो अघिल्लो वर्षको तुलनामा ४५.७१ प्रतिशतले कम हो ।

अर्कातर्फ, आयात अवस्था भने असामान्य छ । सोही आर्थिक वर्ष पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक आयात कारोबार २६ करोड १३ लाख ७२ हजार पुगेको छ । यो अघिल्लो वर्ष (जम्मा १२ करोड ७० लाख) को तुलनामा १०५.६६ प्रतिशतको वृद्धि हो ।

निर्यातको तुलनामा आयात करिब २२ गुणा बढी हुनुले नेपालको पुष्प उद्योग अझै पनि आयातमुखी रहेको स्पष्ट छ ।

तर, यति ठूलो मात्रामा आयात किन भइरहेको छ त ? फ्यानका महासचिव हिरामणि शर्मा यसलाई ‘बाध्यतात्मक परिस्थिति’ मान्छन् ।

‘उत्पादन नभएर भन्दा पनि बजार माग अस्वाभाविक बढ्दा आयात बढेको हो,’ महासचिव शर्माले भने, ‘हामी स्वदेशी उत्पादनमा आत्मनिर्भर उन्मुख छौं, तर जुन अनुपातमा बजार बढ्यो, त्यो अनुपातमा उत्पादन बढाउन सकिएन ।’

उनका अनुसार विशेषगरी पर्व लक्षित मागले गर्दा आयातको ग्राफ ह्वात्तै बढेको हो । ‘तिहारमा ४–५ दिनका लागि लाखौं माला चाहिन्छ, भ्यालेन्टाइन डेको एक हप्तामा लाखौं स्टिक गुलाब चाहिन्छ, त्यही ४–५ दिनलाई मात्रै टार्गेट गरेर पूर्वाधार बनाउन र उत्पादन गर्न सम्भव हुँदैन,’ शर्माले अनलाइनखबरसँग भने, ‘यदि गर्ने हो भने अघि र पछि फुलेका फूलहरू खेर फाल्नुपर्छ, त्यसैले यस्ता पर्व विशेषमा नपुगेर बाहिरबाट ल्याउनु हाम्रो बाध्यता हो ।’

विगतका वर्षहरूमा सरकारी नीतिका कारण पनि यस व्यवसायले धक्का खानुपरेको उनको भनाइ छ । आव २०८१/८२ मा पुष्प प्रवर्द्धन नीति २०६९ को प्रभावकारी कार्यान्वयन नहुनु र सरकारले कृषिका नीति परिमार्जन गर्दा आयातमा भएको कडाइले नकारात्मक असर पारेको उनी बताउँछन् ।

विशेषगरी प्लान्ट क्वारेन्टिन ऐन र बिउबिजन ऐनमा भएको कडाइले फूलको आन्तरिक उत्पादनमै गम्भीर असर परेको व्यवसायीको गुनासो छ ।

‘पहिले बाहिरबाट बिउबिजन र मदर प्लान्ट ल्याउँदा सिधै आउन सक्ने व्यवस्था थियो, तर पछिल्लो समय बिउबिजन दर्ता हुनुपर्ने र पीआरए गरेरमात्र ल्याउन पाउने व्यवस्था गरियो,’ उनले भने, ‘नीतिगत रूपमा यो राम्रो भए पनि एक्कासि कडाइ गर्दा करिब एक–डेढ वर्ष हामीले ठूलो झमेला भोग्यौं ।’

उनका अनुसार समयमा बिउबिजन र मदर प्लान्ट आउन नसकेपछि त्यसको प्रत्यक्ष असर फूल उत्पादनमा पर्‍यो । स्वदेशी उत्पादन घटेपछि बजार माग धान्न पुन: तयारी फूलकै आयात बढाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो ।

साढे ११ अर्ब लगानी, तर बिउका लागि युरोप र भारतकै भर

नेपालमा मुख्यतया जीवित बिरुवाहरू, विभिन्न पुष्पका बिउबिजन, फ्रेस कट फ्लावर, बल्ब, ट्युबर आदि भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, अमेरिका, थाइल्यान्ड लगायत देशबाट भित्रिने गरेका छन् ।

साढे ११ अर्बको लगानी भइसक्दा पनि नेपालमै बिउबिजन उत्पादन गर्ने वा टिस्यु कल्चर ल्याब किन खुल्न सकेनन् त ? यो प्रश्नमा महासचिव शर्मा नेपालको बजारको आकारलाई मुख्य कारण मान्छन् ।

‘बिउबिजन र टिस्यु कल्चरको ल्याब बनाउन ठूलो पूँजी र पूर्वाधार चाहिन्छ, तर हाम्रो बजार सानो छ, नेपालमा उत्पादन भएको बिउ यहीँमात्र बेचेर ल्याबको लगानी उठ्दैन,’ शर्माले भने, ‘ठूलो लगानी गरेर अनुसन्धान केन्द्र खोल्नुभन्दा प्रविधि सस्तो भएका भारत वा अन्य देशबाट बिउ ल्याउनु नै सानो देशका लागि सजिलो र सस्तो विकल्प बनेको छ, यो हाम्रो लागि एउटा बाध्यता नै हो ।’

निर्यात र खुला सीमाना चुनौती

नेपालबाट निर्यात हुँदै नभएको भने होइन । विशेषगरी तिहारको समयमा मखमली र सयपत्री मालाको विदेशमा राम्रो माग छ ।

‘अमेरिका, अस्ट्रेलिया, जापानजस्ता नेपालीहरूको बाक्लो बसोबास भएका देशबाट चाडबाडमा मालाको माग आउने गरेको छ,’ उनी भन्छन्, ‘हामीले बाक्लो रूपमा मालाहरू निर्यात गरिरहेका छौं, यसका अलावा केही रैथाने बिउ र कहिलेकाहीँ अन्य फूल पनि विदेश जाने गरेका छन् ।’

तर, स्वदेशी बजारमा भने भारतीय खुला सीमानाले बेलाबखत ठूलो समस्या निम्त्याउने गरेको छ । तिहार लगायत चाडबाडमा सीमावर्ती नाकाहरूबाट अवैध रूपमा फूल भित्रिने गरेको फ्यानको बुझाइ छ ।

‘खुला सिमानाका कारण भन्सार छलेर अवैध रूपमा फूलहरू आइरहेका हुन्छन्, यसको आधिकारिक तथ्यांक त हामीसँग हुँदैन, तर चाडबाडका बेला सस्तो पर्ने हुनाले व्यापारीले यस्तो बाटो रोज्दा सीमावर्ती सहरहरूमा स्वदेशी किसानलाई पक्कै मार पर्ने गरेको छ,’ शर्माले थपे ।

बजारको वर्तमान अवस्था र ४ अर्बको कारोबार

फ्यानका अनुसार केही अपवादका वर्ष छाड्ने हो भने पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक १० देखि १५ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । तर, आन्तरिक उत्पादन वृद्धिदर भने वार्षिक ७ देखि ९ प्रतिशत हाराहारीमा सीमित छ ।

विगतको नीतिगत झमेला र उत्पादनमा आएको कमीले अघिल्लो आव ३ अर्ब ३७ करोडको मात्र वार्षिक कारोबार भएको थियो । तर, आव २०८२/८३ को कारोबारमा १६.९१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोडभन्दा बढी पुगेको एसोसिएसनको तथ्यांक छ ।

त्यसमा नेपाली बजारमा सबैभन्दा ठूलो हिस्सा आलंकारिक बोटबिरुवाको छ, जसको कारोबार १ अर्ब १२ करोड १९ लाख बराबरको छ ।

त्यसैगरी कट फ्लावरतर्फ ७९ करोड ३९ लाख, सिजनल फूल बिरुर्वा २८ करोड ७७ लाख, ल्यान्डस्केप तथा गार्डेनिर्ङ २९ करोड २६ लाख, र मखमली/सयपत्री मालातर्फ ११ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र तथ्यांक र सरोकारवालाको भनाइ विश्लेषण गर्दा नेपालको पुष्प व्यवसाय विस्तारोन्मुख र रोजगारीमुखी कृषि उद्योगका रूपमा स्थापित भइसकेको छ ।

तर, महासचिव शर्माले औँल्याए जस्तै नीतिगत अस्थिरता, बजार आकारको सीमितता र चाडपर्वमुखी मागले गर्दा आयात खाडल तत्काल पुरिने सम्भावना कम छ ।

यदि सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट भविष्यमा आयातलाई उल्लेख्य रूपमा घटाउन सक्ने छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?