News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतको गृह मन्त्रालयले ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदकका लागि जीवनयापन खर्च देखाउने आर्थिक मापदण्ड बढाउने भएको छ।
- लन्डनमा बस्ने विद्यार्थीले नौ महिनासम्म १४ हजार १ सय ३० पाउण्ड र बाहिर बस्नेले १० हजार ८ सय २७ पाउण्ड देखाउनुपर्नेछ।
- सन् २०२४–२५ मा बेलायतका उच्च शिक्षा संस्थामा ६ लाख ८५ हजार ५ सय ६५ विदेशी विद्यार्थी अध्ययनरत थिए, जसमा नेपाल पाँचौँ ठूलो स्रोत मुलुक बनेको छ।
११ कात्तिक, लन्डन । बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित गर्नुपर्ने भएको छ ।
बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो ।
लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ।
हाल लन्डनमा अध्ययनरत विद्यार्थीले प्रत्येक महिनाका लागि १ हजार ५ सय २९ र यो अधिकतम नौ महिनासम्म रहेको देखाउनुपर्छ। तर, नोभेम्बर ३० देखि यो रकम बढेर १ हजार ५ सय ७० हुनेछ जुन वर्षमा ३६९ पाउण्ड वृद्धि हो ।
नौ महिना वा सोभन्दा बढी समयसम्म चल्ने कोर्सका लागि अधिकतम रकम १३ हजार ७ सय ६१ पाउण्डबाट बढेर १४ हजार एकसय ३० पाउण्ड हुनेछ।
लन्डन बाहिर अध्ययनरत विद्यार्थीहरूलाई हाल प्रति महिना एक हजार एकसय ७१ पाउण्ड आवश्यक छ । यो अब प्रति महिना एक हजार २ सय ३ सम्म बढ्नेछ जसले गर्दा अधिकतम नौ महिनाका लागि आवश्यक रकम १० हजार ५ सय ३९ बाट १० हजार ८ सय २७ पाउण्ड पुग्नेछ ।
जीवनयापन खर्च (मेन्टेनेन्स रिक्वारमेन्ट फण्ड) भनिने यस खर्च विश्वविद्यालयको फी बाहेक हो । आप्रवासनसम्बन्धी काम गर्ने सोलिसिटरका अनुसार, विद्यार्थी भिजा आवेदन शुल्क र ‘इमिग्रेसन हेल्थ सरचार्ज’ (स्वास्थ्य सेवा खर्च) पनि छुट्टाछुट्टै लाग्छ ।
तथ्यांक अनुसार, सन् २०२४-२५ मा बेलायतका उच्च शिक्षा प्रदायक संस्थाहरूमा ६ लाख ८५ हजार ५ सय ६५ जना विदेशी विद्यार्थी अध्ययनरत थिए, जुन कुल विद्यार्थी संख्याको २४ प्रतिशत हो। यीमध्ये ६३ हजार ६०० विद्यार्थी युरोपेली संघ र ६ लाख २२ हजार विद्यार्थी युरोपेली संघ बाहिरका मुलुकबाट आएका थिए ।
चेस्टर विश्वविद्यालयमा ग्लोबल इम्प्याक्ट एण्ड रिसर्चका डीन प्रा. पदम सिम्खडा अन्तरराष्ट्रिय विद्यार्थीहरूले बेलायती अर्थतन्त्र र उच्च शिक्षामा पुर्याएको योगदान उल्लेख्य रहेको बताउंछन् । उनले हाल बेलायतमा करिब २.८६ मिलियन विद्यार्थी अध्ययनरत रहेको र तीमध्ये करिब ७ लाख अन्तरराष्ट्रिय विद्यार्थी रहेको बताए ।
‘सन् २०२१–२२ मा अन्तरराष्ट्रिय विद्यार्थीहरूले बेलायतको अर्थतन्त्रमा ४१.९ अर्ब पाउन्ड योगदान दिएका थिए, जसको शुद्ध लाभ ३७.४ अर्ब पाउन्ड थियो’, उनले भने ।
उनले नेपाल अहिले बेलायतमा अन्तरराष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो मुलुक बनेको पनि जानकारी दिए । भारत, चीन, पाकिस्तान र नाइजेरियापछि नेपालबाट आएका विद्यार्थीको संख्या उच्च छ बेलायतमा ।
सिम्खडाका अनुसार सन् २०२५ डिसेम्बरसम्म एक वर्षमा १९ हजार ५ सय ५३ नेपाली विद्यार्थीलाई अध्ययन भिजा प्रदान गरिएको थियो ।
सन् २०२६ मा समेत सयौं नेपाली विद्यार्थी अध्ययनका लागि बेलायत आएका छन् । तर, नेपाली विद्यार्थीहरूले बेलायतमा निकै कष्टकर जीवन व्यतित गरिरहेका छन् । बढ्दो महंगी, जागिरका अवसर कम र पढाइको चापले विद्यार्थीहरुले आर्थिक दबाब, शैक्षिक समायोजन र अन्य विभिन्न चुनौती सामना गरिरहेका हुन् ।
रोह्याम्पटन युनिभर्सिटीमा तीन वर्षे ब्याचलर्स पढ्न गत वर्ष बेलायत आएकी सृष्टि बोहोरा यहां विद्यार्थी जीवन निकै कष्टकर भएको अनुभव सुनाउंछिन् ।
‘बेलायतमा काम पाउन ज्यादै गारहो छ र पाइहाले पनि साताको २० घण्टा काम गरेर आफूलाई खान र कोठा भाडा तिर्न पनि पुग्दैन’, उनले भनिन्, ‘युनिभर्सिटीलाई तिर्ने फी त नेपालमा ऋण खोजेरै तिरिरहेकी छु ।’
प्रतिक्रिया 4