Comments Add Comment

टेकु अस्पतालमा उपचाररत महिलामा स्क्रब टाइफस पुष्टि

के हो स्क्रब टाइफस ? कसरी बच्ने ?

२६ जेठ, काठमाडौं । टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक व्यक्तिमा स्क्रब टाइफस भएको पुष्टि भएको छ ।

बाराको गढीमाई नगरपालिका-१६ बस्ने अन्दाजी ३५ वर्षकी एक महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टण्ट फिजिसियन डा. अनुप बास्तोलाले बताए । उनले यो केस यस वर्षकै पहिलो भएको बताए ।

विगत ९-१० दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने समस्या भएपछि ती महिलालाई सुुरुमा टाइफाइडको उपचार गरिएको थियो । विभिन्न उपचार गर्दा पनि रोग निको नभएपछि उनलाई गत शुक्रवार टेकु अस्पताल ल्याइएको थियो ।

‘लक्षणका आधारमा रगत परीक्षण गर्दा उनमा स्क्रब टाइफसको देखिएको हो’, डा. बास्तोलाले भने ।

आइजीएम अलाइजा नामक रक्त परीक्षण गर्दा उनमा स्क्रब टाइफस भएको पाइएको थियो । उपचार पश्चात्त उक्त महिलाको अवस्थामा सुधार आएको र अबको एक/दुई दिनमै उनलाई डिस्चार्ज गरिने डा. बास्तोलाले बताए ।

डा. बास्तोलाका अनुसार अगष्टदेखि नोभेम्बरसम्म नेपालमा स्क्रब टाइफसका विरामी ज्यादा देखिने गर्छन् । तर यो वर्ष सिजन अगावै यसका विरामी देखा परेको उनले बताए ।

के हो स्क्रब टाइफस ?

यो रोग ‘रिकेटसिया’ नामक व्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ । यो रोग मुसा, छुचुन्द्रोमा पाइने ‘माइट’ भनिने किर्नाले मानिसमा सार्ने काम गर्छ । यस्ता किर्ना विशेषगरी झार, चौर, घासपात, पुराना काठहरुमा बस्छन् । व्याक्टेरिया मुसाबाट मानिसमा सरेपछि स्वस्थ मानिसहरु समेत यसबाट संक्रमित बन्छन् । यो रोग पहिला पनि थियो । तर पनि नेपालमा यसको असरबारे खासै चर्चा भएको थिएन ।

महाभूकम्पका कारण मानिसहरु सडक किनार वा खुल्ला चौरमा बस्न थालेपछि यसको संक्रमण बढी देखिन थालेको हो । नेपालमा महाभूकम्प लगत्तै देखा परेको स्क्रब टाइफसकै कारण आठ जनाले ज्यान समेत गुमाएका छन् ।

स्क्रब टाइफसका लक्षण

निरन्तर ज्वरो आउने यसको मुख्य लक्षण हो । ज्वरोसँगै टाउको दुख्ने, पसिना आउने, थकाई लाग्ने, कमजोर महसुस हुने, खोकी लाग्ने, आँखा वरिपरि दुख्ने, घाँटी वरिपरिका ग्रन्थीहरु सुन्निएर गिर्खा पर्ने लगायतका लक्षण पनि देखिन्छन् । यस्ता लक्षण देखापरेको पाँचौ दिनदेखि सातौ दिनमा घाँटी वरिपरि रातो विमिरा देखिने गर्छ, जुन क्रमशः पेट, हात, खुट्टा तथा अनुहारमा फैलिन्छ ।

यो रोगको सुरुमै उपचार नगरिए ज्यान समेत जान सक्छ । विशेषगरी सास फेर्न गार्‍हो हुने, कलेजो तथा मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर विरामीको मृत्यु हुने चिकित्सकहरु बताउँछन् ।

यस रोगको उपचार विधि ?

यदि कुनै विरामीमा माथिका कुनै पनि लक्षण देखा परेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लगेर उपचार गराइहाल्नु पर्छ । विशेषगरी रगतमा एन्टिजेनको जाँच गरेपछि यो रोग लागेको वा नलागेको पत्ता लगाउन सकिन्छ ।

यदि विरामीमा यस रोगको संक्रमण देखिएमा चिकित्सकको सल्लाह अनुसार पुरा डोजको एन्टिवायोटिक औषधि प्रयोग गरेमा यो रोग निको हुन्छ । यो रोगमा डोक्सिसिलिन र एजिथ्रोमाइसिन नामक औषधिको प्रयोग प्रभावकारी मानिने डा. बास्तोला बताउँछन् ।

कसरी बच्ने ?

खेतबारीमा काम गर्ने किसान, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा यो रोग सर्ने सम्भावना बढी हुने भएकाले समयमै सजग रहन जरुरी हुन्छ । त्यस्तै रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल जानु उचित हुन्छ । त्यस्तै, यो रोग फैलाउन सक्ने, किरा, मुसा, छुचुन्द्रो वरिपरि देखिएमा किटनाशक औषधि प्रयोग गरी भगाउनु वा नष्ट गर्नु उचित मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment