Comments Add Comment

महान्यायाधिवक्ता रमण श्रेष्ठको राजीनामा किन आएन ?

म प्रचण्ड र शेरवहादुर दुवैको विश्वासपात्र हुँ-श्रेष्ठ

२६ जेठ, काठमाडौं । सामान्यतः आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री पदमुक्त भएसँगै महान्यायाधिवक्ताले राजीनामा दिने परम्परा छ । तर, यसपटक रमण श्रेष्ठको हकमा भने त्यो परम्परा क्रमभंग भएको छ ।

रमण श्रेष्ठलाई महान्यायाधिवक्ता बनाउने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेको चार दिन बितिसक्दा पनि श्रेष्ठले राजीनामा नदिएपछि सर्बोच्च अदालत परिसरमा चासोको विषय बनेको छ ।

वकिल र न्यायिक क्षेत्रमा चासो र चर्चा भएपछि हामीले रमणलाई सोध्यौं- तपाई प्रधानमन्त्री देउवाको पनि कानुनी सल्लाहकार हुने हो ?

श्रेष्ठले शुक्रबार अपरान्ह अनलाइनखबरसँग भने- ‘सबैले राजीनामा नदिएको चासो राखेका छन्, प्रचलन र परम्परा पनि आफूलाई नियुक्त गर्ने प्रधानमन्त्रीसँगै राजीनामा दिने नै हो । तर, मेरो हकमा यो लागु भएन । म प्रचण्ड र देउवा दुवैजनासँग निकट रहेर काम गरेको र दुवैको विश्वास जितेको हुनाले अहिले राजीनामा नदिने भएँ ।’

रमण श्रेष्ठ माओवादी समर्थक वकिल हुन् । देउवा सरकारका महान्यायाधिवक्ता बन्न कांग्रेससम्वद्ध वकीलहरुबीच प्रतिस्पर्धा चलिरहेका बेला रमणले आफू नै निरन्तर रहने संकेत गरेका छन् ।

स्रोतका अनुसार रमणलाई अहिले नै राजिनामा नदिन देउवा र प्रचण्ड दुवैले आग्रह गरेकाले उनी ढुक्क भएका हुन् । महान्यायाधिवक्ता श्रेष्ठले आफूले देउवाका पालामा पनि निरन्तरता पाउने सम्भावना रहेको बताए ।

रमणले भने- ‘अहिले प्रधानमन्त्रीज्यू उम्मेदवार तय गर्ने लगायतका काममा व्यस्त हुनुहुन्छ । असार २ सम्म त मैले राजीनामा दिने कुरै छैन, त्यसपछि पनि उहाँहरुसँग सल्लाह भएपछि के गर्ने भन्ने टुंगो लाग्ला ।’

देउवा निकट स्रोतका अनुसार कम्तिमा दोस्रो चरणको चुनावअघि देउवाले कांग्रेससम्वद्ध वकिलबाट महान्यायाधिवक्ता ल्याउने छैनन् । उनले रमणलाई जति विश्वास गरेका छन्, त्यति विश्वासिला वकिल कांग्रेसमा नभएको देउवाका एक सहयोगीले बताए ।

तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेदेखि हरेक विषयमा देउवा र प्रचण्डलाई रमणले विश्वासपात्रका रुपमा कानुनी सल्लाह र सहयोग गरेकाले उनलाई देउवाले समेत रुचाएको स्रोतले जनाएको छ ।

अहिले सर्बोच्च अदालतमा आइजीपी नियुक्ति र भरतपुरको मतपत्र च्यातिएको सन्दर्भमा निर्वाचन आयोगको निर्णय विरुद्धका मुद्दा बिचाराधीन छन् । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको सदभाव पनि रमण श्रेष्ठलाई रहँदै आएको बताइन्छ ।

सरकार परिवर्तन भए पनि प्रचण्ड र देउवाले आपसी सल्लाहमै काँध फेरेको हुनाले पनि श्रेष्ठ कमसेकम दोस्रो चरणको स्थानीय चुनावअघिसम्म महान्यायाधिवक्ताका रुपमा कायम रहने धेरैको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment