+
+
Shares

कोशीमा बाढी पूर्वतयारी : प्रदेशका संयन्त्र ‘अलर्ट’मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ९:०५
विराटनगर महानगरपालिकाको पूर्वतयारी बैठक ।

८ असोज, विराटनगर । बिहीबारदेखि निरन्तर भारी वर्षाको चेतावनीपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएपछि प्रदेश सरकारले सतर्कतासहित पूर्वतयारी गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालयलाई सम्भावित जोखिम नियन्त्रणका लागि उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले जानकारी दिए ।

मन्त्री आचार्य

मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारमा निगरानी बढाउन, जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन हुन निर्देशित गरेका हुन् । उनले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले प्रदेश संयन्त्रले उच्च सतर्कता अपनाएको बताए । उनले सर्वसाधारणलाई सुरक्षित र सचेत रहन आह्वान गरेका छन् ।

भारी वर्षाको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले अगाडिदेखि नै पूर्वतयारी थालेको उनले बताए । जोखिमयुक्त बस्तीहरूमा पूर्वसूचना पुर्‍याउने काम सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले तीव्र पारेको मन्त्री शेर्पाले जानकारी दिए ।

बाढीको चेतावनीपछि प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालय, जोखिम रहेका स्थानीय तहहरुले सतर्कतासहित पूर्वतयारी गरेका छन् । विराटनगर महानगरपालिकाले डुबान हुने क्षेत्रहरुमा सतर्कताका लागि माइकिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?