Comments Add Comment

राजपा नेताद्वयले भने-हामी चुनावमा भाग लिन्नौं, उपेन्द्र कटप्पा हुन्

२६ जेठ, सप्तरी । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का शीर्ष नेताले कुनै पनि हालतमा स्थानीय निर्वाचनमा भाग नलिने बताएका छन् । उनीहरुले चुनावमा गएको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चर्का आलोचना गर्दै मधेस विरोधीदेखि कटप्टाको संज्ञा दिएका छन् ।

राजविराजमा शुक्रबार एकै मञ्चबाट राजपाका नेताद्वय राजेन्द्र महतो र राजकिशोर यादवले भने, ‘माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा जान्नौं ।’

आफूहरु पनि चुनाव चाहेको तर, यथास्थितिमा गरिने चुनावमा हामी सहभागी हुन नसक्ने महतोले बताए ।

उनले संविधान संशोधन, जनसख्याको आधारमा स्थानीय तह, आन्दोलनमा मारिएकालाई शहीद घोषणा, मुद्दा फिर्ता नभएसम्म चुनावमा नजाने बताए । ‘२० बर्षसम्म चुनाव नहुँदा केहि भएन, अझै २० दिन नहुँदा कुनै फरक पर्दैन’ उनले भने, ‘केहि दिन अगाडि सारेर माग पूरा गरियोस् र निर्वाचन गराइयोस् ।’

यसो नगरिए मधेसी जनताले निर्वाचन हुन नदिने उनको भनाइ थियो ।

विगतमा कांग्रेस, एमाले, माओवादीको नाममा भोट लिनेहरुले मधेसीको पक्षमा नबोलिदिएकै कारण आफूहरु आन्दोलनमा आउनुपरेको भन्दै उनले अब यस्ता पार्टीको नाममा भोट माग्न आउनेलाई सवक सिकाउन आग्रह गरे । उपेन्द्र यादवप्रति इंगित गर्दै उनले भने, “त्यस्तालाई धूलो चटाइ नै दिनुस् ।’

उपेन्द्रसँग प्रश्न, संविधान पुर्नलेखन भइसक्यो ?

राजपा नेता महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्रसँग प्रश्न गरे, उपेन्द्रजी तपाईंले राख्दै आउनुभएको संविधान पुर्नलेखनको माग पूरा भयो ? भएन भने कसरी निर्वाचनमा जान तयार हनुभयो ?’

आफूहरुले त संशोधनको माग मात्रै राख्दै आएको बताउँदै उनले पुर्नलेखन नै गर्नुपर्छ भन्दै आएको व्यक्ति संशोधन समेत नभएको अवस्थामा सत्ता पक्षसँग मिल्नु मधेसीसँग खेलबाड बाहेक केहि पनि नभएको बताए ।

मधेसी जनताको भावनामाथि खेलेर फोरम नेपाल सत्ता पक्षसँग मिलेको भन्दै उनले मधेसी जनताको माग पूरा गर्नका निम्ति आन्दोलनमा सहकार्य गर्न उनले आग्रह गरे । उपेन्द्रलाई मधेश बिरोधी संज्ञा दिदैं उनले थपे, ‘मधेसी जनताको अन्तरिम संविधानले दिएको अधिकार पनि खोसे निर्माण गरिएको संविधानमा हस्ताक्षर गर्ने बाबुराम भट्टराइसँग मिलेर उनी पनि मधेशीबिरोधी भएका छन् ।’

राजकिशोरले भने, ‘उपेन्द्र कटप्पा हो’

राजपाका अर्का नेता राजकिशोर यादवले अधिकार प्राप्तिको आन्दोलन छाडेर सिधै राज्य सत्तासँग मिलेको भन्दै उपेन्द्र यादवको चर्काे आलोचना गरे । उनले राज्यसत्ताको आदेशमा जसरी बाहुबली २ फिल्ममा कटप्पाले बाहुबलीकै हत्या गर्‍यो त्यसरी नै उपेन्द्र यादवले मधेशीको हत्या गरेर निर्वाचनमा गएको बताए ।

उनले भने, ‘तपाईंहरु बाहुबली २ फिल्म हेर्नुभएको होला । फिल्ममा एक जना कट्प्पाको अभिनय गरेका छन् । कटप्पाले राज्यको धेरै कुरा मान्छन् । तर, त्योभन्दा बढी माया बाहुबलीलाई गर्छन् । तर राज्य सत्ताको आदेश आएपछि उसले बाहुबलीलाई नै सिध्याउँछन् । हो, उपेन्द्र यादव त्यहीं कटप्पा हो, जसले मधेशी जनताको अधिकारलाई कुल्चदैं सत्ता पक्षसँग मिलेका छन् ।’

अधिकांश समय उपेन्द्र यादवमै खर्च गरेका उनले साधारण व्यक्तिको हैसियतमा रहेका उपेन्द्रलाई जनताले रातारात मधेशको मसिाहो ताज पहिराइदिएपनि उनले मधेशीलाई धोका दिएको बताए । उपेन्द्रलाई आग्रह गर्दै उनले भने, ‘अहिले पनि समय छ । मधेशी जनताको अधिकारका लागि अघि आउनुस् । हामी तपाईंलाई साथ मात्रै होइन नेता मान्न समेत तयार छौं ।’

राजपा एउटा पार्टी नभई मुलुककै एउटा पक्ष भएको बताउँदै राजपा बिना चुनाव हुन नसक्ने तर्क गरे । ‘हामी बिना चुनाव हुन सक्दैन् । यदि बलजफ्ती गराउन खोज्यो भने सत्ताधारीलाई सत्ताबाट हात धुनुपर्नेछ ।’ उनले भने ।
त्यो गल्ती नदोहोरियोस्

नेताद्वय महतो र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले विगतको गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त गरे ।सहमति भए बमोजिम संविधान संोधनसहित सम्पूर्ण माग पूरा गरेर मात्रै निर्वाचन गराउने विश्वास व्यक्त गरे ।

‘जसरी शेरबहादुरजीले माओवादीको ४० बुँद माग पत्रलाई टोकरीमा फ्याँकेर मुलुकमा हजारौं जनताको ज्यान लिए र देश बर्बाद पारे, अब त्यस्तो नगरियोस्’ महतोले भने, ‘अन्यथा आन्दोलनले मधेश त जल्छ नै । देश पनि खरानी बन्न सक्छ ।’

कार्यक्रममा राजपाका केन्दि्रय नेताहरु मृगेन्द्रकुमार सिंह यादव, शेखर सिंह, जयप्रकाश ठाकुर, मनिष सुमन, माधुरी साह, नेत्रबिक्रम साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment