Comments Add Comment

राजबिराज पुगेका प्रमुख निर्वाचन आयुक्तले भने-चुनाव कुनै हालतमा सर्दैन

उम्मेदवारको प्रश्न- झण्डा अंकित टोपी र टी-सर्ट लगाउन किन नपाइने ?

२८ जेठ, सप्तरी । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले पछिल्लो पटक घोषणा भएको असार १४ गतको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।

आफ्नो गृहनगर सप्तरी आएका डा. यादवले सदरमुकाम राजविराजमा आइतबार आयोजित कार्यक्रममा असार १४ गते नै निर्वाचन हुनेमा जनता आशावादी रहेको बताए ।

आफ्नो जिल्लामा आएलगत्तै कालो झण्डाको सामना गरेका उनले भने, ‘असार १४ गतेको निर्वाचनबारे जनतालाई कुनै किसिमको भ्रम छैन, गुणन-भागा गर्नेलाई नै बढी भ्रम रहेको छ ।’

स्थानीय निकायको निर्वाचनबारे सरोकारवालाहरुसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचनका बारेमा कुनै आशंका नगर्न सबैलाई आग्रह गरे ।

०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा पनि निर्वाचन हुँदैन भनेर भ्रम छरिए पनि चुनाव सफल भएको स्मरण गर्दै उनले बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय चुनाव पनि धेरैको आशंकाबीच सफल भएको बताए ।

उम्मेदवारले सोधे- टोपी र टी-सर्ट लगाउन किन नपाइने ?

कार्यक्रममा उपस्थित फोरम लोकतान्त्रिकबाट राजविराज नगरपालिकाको उम्मेदबार शैलेश चौधरीले पहिलो चरणको निर्वाचनमा चुनाव चिन्ह अंकित टि-सर्ट, टोपीहरु प्रयोग गर्न छुट दिइए पनि दोस्रो चरणमा किन नदिने ? भन्दै प्रश्न गरेका थिए ।

चौधरीले सुरक्षा अवस्थाबारे पनि प्रमुख आयुक्तसँग जिज्ञासा राखेका थिए ।

पहिलो चरणको चुनावमा पनि चुनाव चिह्न अंकित टोपी र टिसर्ट प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको तर, उम्मेदवारहरुले पालना नगरेको प्रमुख आयुक्त यादवले जवाफ दिए ।

निर्वाचन आयोगको निर्देशन अटेर गर्नेहरुलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।

आचारसंहिता पालना गर्न सबै उम्मेदवारहरुलाई आग्रह गर्दै यादवले भने, ‘सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

भरतपुरमा अदालतको आदेश शिरोधार्य

प्रमुख आयुक्त यादवले चितवनको भरतपुरमा मतपत्र च्यातिएको घटनाप्रति दुःख व्यक्त गरे । उनले यो घटनामा निर्वाचन आयोगले सरकारको पक्ष लिएको भन्ने आरोप कपोकल्पित र निराधार रहेको स्पष्ट पारे ।

निर्वाचन ऐनलाई टेकेर पुनः निर्वाचन गराउने निर्णय आयोगले गरेको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

‘हामीले निर्वाचन ऐनलाई टेकेर निर्णय गरेका छौं,’ उनले भने, ‘यो कुरा अदालतमा गइसकेको छ, अदालतले सुनाउने फैसला निर्वाचन आयोगका लागि शिरोधार्य हुनेछ ।’

आफ्नै जिल्लामा कालो झण्डाको सामना

प्रमुख आयुक्तलाई आफ्नै गृहनगरमा कालो झण्डाको सामना गर्नुपरेको छ । मधेसको अधिकार प्राप्त नभएको अवस्थामा पनि आयुक्तले निर्वाचन गराउन खोजेको भन्दै राजपाका नेता-कार्यकर्ताहरुले उनलाई कालो झण्डा देखाएका हुन् ।

राजविराजस्थित सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका प्रमुख आयुक्तलाई कालो झण्डा देखाउँदै राजपाका कार्यकर्ताले
नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment