Comments Add Comment

ओखलढुंगाको चुनावः कांग्रेस एमालेलाई अन्तरघातीको डर, माओवादीलाई तालमेलको भर

सांसद यज्ञराज सुनुवार र रामहरी खतिवडाको प्रतिष्ठाको लडाइ

२ असार, ओखलढुंगा । नेपाली कांग्रेसको २००७ सालदेखिकै गढ मानिँदै आएको ओखलढुंगामा यसपटक कांग्रेसलाई अस्तित्व जोगाउने चुनौति छ । पछिल्लो समय एमालेले कांग्रेसलाई चुनौति थपिरहेको छ ।

ओखलढुंगाका २ क्षेत्रमध्ये गत संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रमा एमालेका युवा नेता यज्ञराज सुनुवारले जितेका छन् भने २ मा कांग्रेसका युवा नेता रामहरी खतिवडा सांसद छन् । स्थानीय चुनावको नतिजा आफ्नो पार्टीको पक्षमा पारेर भावी संसदीय चुनावमा प्रभावशाली बन्न यी दुवै सांसदले सम्पूर्ण शक्ति खर्च गरिरहेका छन् ।

पछिल्लो समय दुवै सांसदहरु एकले अर्कोप्रति लक्षित गरेर आरोप प्रत्यारोपमा समेत उत्रिन थालेका छन् । यस्तो लाग्छ ओखलढुंगामा चुनाव स्थानीय तहका उम्मेदवारबीच होइन, यज्ञराज सुनुवार र रामहरी खतिवडाबीच भइरहेको छ ।

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार तय गरेसँगै चुनावी प्रचार तीव्र बनेको छ । दलहरु सभा र घरदैलोमा केन्द्रित भएका छन् ।

नेकपा माओवादी केन्द्रले चुनावी सभा र घरदैलोसँगै चलाएको जनाएको छ । माओवादी केन्द्रका सिद्धिचरण नगरपालिकाका मेयरका उम्मेदवार रुपेश शाक्यले पार्टीले प्रचारमुखी भन्दा मतदाता केन्द्रित अभियान चलाएको बताए ।

कांग्रेस र एमालेले पनि गाउँपालिकामा सभा तथा घरदैलो अभियान चलाएका छन् । अभियानमा अन्य पार्टीका मतदाता तान्न पार्टी प्रवेशलाई दलहरुले प्रथामिकतामा राखेका छन् ।

१० दल चुनावी मैदानमा

ओखलढुंगामा १० दलले दलीय निर्वाच चिन्ह पाएका छन् । प्रमुख तीन दलबाहेक राप्रपा, संघीय समाजवादी फोरम, नेकपा माले, नेपाल लोकतान्त्रिक दल, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा र जनजागरण पार्टीले दलीय हैसियत र नयाँ शक्तिले संघीय समाजवादी फोरमको चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने भएको छ ।

१० दल निर्वाचनमा सहभागी हुने भए पनि प्रतिस्पर्धा भने मुख्य दलहरुबीच नै हुने देखिएको छ । एक नगरसहित ८ स्थानीय तहमध्ये तेस्रो शक्ति माओवादी केन्द्र दुई तहमा प्रतिस्पर्धामा आउने अनुमान गरिएको छ ।

अन्य ६ सहितका स्थानीय तहमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकाबीचमा हुने देखिएको छ । एमालेले पाँच स्थानमा आफ्नो जित निश्चित रहेको र अन्यमा कडा प्रतिस्पर्धा हुने अनुमान गरेको छ भने काँग्रेसले पनि पाँचै तह जित्ने दावी गर्दै आएको छ ।

एमालेको प्रतिष्ठा, कांग्रेसको प्रतिष्पर्धा

जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरणलाई दुवै नेताले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेको गढका रुपमा रहेको साविक ओखलढुंगा गाविसमा छिमेकी अरु गाविस थपिएर सिद्धिचरण नगरपालिका बनेको छ । सिद्धिचरणमा एमालेको अर्को गढ रुम्जाटार मिसिएकाले कांग्रेसले निकै संघर्ष गर्नुपरेको छ ।

यहाँ एमालेका जिल्ला अध्यक्ष नै उम्मेदवार भएकाले एमालेको थप प्रतिष्ठा गाँसिएको छ । एमालेका मेयरका उम्मेद्वार श्रेष्ठ ०५४ मा साविक ओखलढुंगा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका केन्द्रित घरदैलो र सभामा केन्द्रित छ भने एमालेले चुनावी सभाको तयारी गर्दैछ । ‘मनोनय दर्तापछि जिल्लाभर एकसाथ चुनावी सभा हुन्छन्’ घरदैलो अभियानमा जुटेका एमाले केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले भने ।

कांग्रेस सांसद रामहरि खतिवडा पनि घरदैलो अभियानमा छन् । काँग्रेसले पनि एमालेको पकड भनिएको सिद्धिचरण नगरपालिकालाई केन्द्रमा राखेर अभियान चलाइरहेको छ । सांसद खतिवडा सोमबारबाटै घरदैलो अभियानमा छन् ।

सिद्धिचरण नगरपालिकामा नेवि संघका नेता सुजन दाहालले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसभित्र विभिन्न स्थानीय तहमा अन्तरविरोध देखिएको छ । एमालेमा पनि असन्तुष्टहरुले अन्र्तघात गर्ने चर्चा चलिरहेको छ ।

माओवादीको दाउ

कांग्रेस र एमालेमा आफैंभित्रको व्यवस्थापन चुनौति बनिरहेका बेला माओवादी केन्द्र भने तालमेलबाट फाइदा लिने दाउमा छ । जिल्लाका नेतृत्व कांग्रेससँग तालमेल गर्ने चक्करमा छ । तालमेल गर्ने भने पनि उम्मेदवार घोषणा भई प्रचारमा जुटेका कार्यकर्ताको विरोधले निर्णय लिन सकिरहेको छैन ।

केही वडामा कांग्रेससँग तालमेल भएको छ भने धेरै ठाउँमा तालमेल गर्ने प्रयास भइरहेको छ । माओवादी केन्द्र एक्लैले जित्ने सम्भावना कम भएपछि कांग्रेससँग मिलेर एमाले हराउने रणनीतिमा छ । लिखु, मोलुङ र खिजीदेम्वा तथा सुनकोशीमा तालमेलको प्रयास भइरहेको माओवादीका जिल्ला नेताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment