Comments Add Comment

सेयर बजारको गणितः के प्राविधिक विश्लेषण नै अचुक अष्त्र हो ?


३ असार काठमाडौं । सेयरबजारमा कतिबेला लगानी गर्ने र कतिबेला झिक्ने भन्ने निर्णय लिनु हरेक लगानीकर्ताका निम्ति मुख्य चुनौतिको विषय हो । कम्पनीहरुको प्राविधिक विश्लेषणले उनीहरुलाई यस्तो निर्णय लिन सघाउँछ ।

तर, प्राविधिक विश्लेषण सँधै अचुक हुँदैन । एउटा उदाहरण हेरौं । नेप्सेले यसअघिको ११७५ अंकको रेकर्ड तोड्नुअघि १०२५ बाट घटेर ८ सय ४१ बिन्दुसम्म आइपुगेको थियो । तत्कालिन समयमा एक विश्लेषकले बजार ‘डेड बुल’ अर्थात् मृत साँढेको अवस्थामा पुगेको र अब माथि उठ्न कठिन हुने बताए ।

 

तर, लगभग एक वर्षपछि नेप्से उकालो लागेर ११७५ को पुरानो रेकर्ड तोड्यो । त्यसपछि लगातार नेप्से बढेर १८८१ सम्म पुगेको थियो ।

के हो प्राविधिक विश्लेषण

बजार वा कम्पनीको बिगतको सुचक वा मूल्य तथ्यांकलाई चार्ट, रेखाचित्रमा हालेर विश्लेषण गर्नु प्राविधिक विश्लेषण हो । पीभिटी, बिभिन्न रेखाचित्र प्याट्रन (प्रवृत्ती), आरएसआई, रिटे्रसमेन्ट, मुभिङ एभरेज लगायतका औजारहरुको प्रयोग यो विश्लेषणको क्रममा गरिन्छ ।

प्राविधिक विश्लेषणले बजारमा पस्न वा निस्कन तथा कुनै कम्पनीको सेयर किन्न वा बेच्न कुन समय उपयुक्त हुन्छ भनेर ठम्याउन भने सहयोग गर्छ । तर, धेरै लामो अवधिका लागि प्राविधिक विश्लेषण गर्न सम्भव हुँदैन ।

नेपालमा पछिल्लो समय प्राविधिक विश्लेषण गर्न सक्ने जमात बढेको छ । शिक्षित वर्गका लगानीकर्ता सफ्टवेयरको प्रयोग गरेरै प्राविधिक विश्लेषण गर्नसक्ने भएका छन् । परम्परागत रुपमा एक्सेलमा आधारित भएर विश्लेषण गर्नु जस्तो जटिलता पनि अहिले छैन ।

कति भर पर्ने ?

कतिपय लगानीकर्ता त प्राविधिक विश्लेषण नै अचुक अष्त्र हो भने जस्तो गर्छन् । तर, यसको आधारमा मात्र लगानी गर्नु पनि सही नहुने अर्काथरी विश्लेषकहरुको भनाई रहने गरेको छ । उनीहरु मान्छन्, ‘यो प्रभावकारी बजारको परिकल्पनामा आधारित हुन्छ र यो विश्लेषणको क्रममा प्रयोग हुने तथ्यांकमा पहिले नै बिभिन्न प्रभाव समाहित भइसकेको हुन्छ ।’

कतिपय विश्लेषकहरु मान्छन् कि यो लगानीकर्ताको मनोविज्ञानसँग पनि सम्बन्धित विषय हो । जति धेरै लगानीकर्ता यसलाई विश्वास गर्छन्, यसलाई पछ्याउँछन्, त्यति नै यसको प्रभाव देखिन्छ ।

बजार तीव्र रुपमा बढ्दा वा घट्दा पनि प्राविधिक विश्लेषण बढि प्रभावकारी हुने मानिन्छ । बजार उच्च बढ्दा कुनै कम्पनीको सेयर बास्तविक अथवा अन्तरनिहीत मूल्यभन्दा निकै उच्च भइसेकेको हुन्छ । यस्तो समयमा आधारभुत पक्ष बिर्सनु नै राम्रो हुने विश्लेषकहरु बताउँछन् ।

उच्चरुपमा बढ्दा वा घट्दा बजार वा निश्चित कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण कत्तिको देखिइरहेको छ भन्ने जानकारी पनि प्राविधिक विश्लेषणले दिने उनीहरु मान्छन् । यसैको आधारमा निर्णय गर्न सजिलो हुन्छ ।

आधारभूत विश्लेषण पनि महत्वपूर्ण

सेयर बजारका लगानीकर्ताहरुका लागि प्राविधिक विश्लेषणसँगै आधारभूत विश्लेषण पनि महत्वपूर्ण छ । कम्पनीको वित्तीय अवस्था, देशको अर्थतन्त्र, कम्पनीले यसअघि दिएका लाभांसहरु लगायतका समष्टीगत आधारमा गरिने विश्लेषणलाई आधारभूत विश्लेषण भनिन्छ । आधारभुत विश्लेषण र प्राविधिक विश्लेषण दुवैलाई मिलाएर अगाडि बढ्न सक्नेले नै बजारबाट अधिकतम लाभ लिन सक्छन् ।

नेप्सेकै सन्र्दभमा हेर्ने हो भने नेप्सेले पुरानो ११७५ को रेकर्ड तोड्नुअघि मौदि्रक नीतिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धिको व्यवस्था गरेको थियो । यो व्यवस्थासँगै बजारमा सबैभन्दा धेरै सख्यामा रहेका यी कम्पनीहरुबाट बोनस र हकप्रद सेयर पाइने आशामा लगानी बढेको थियो । सूचीकृत कम्पनीहरुको नाफा वृद्धि भइरहेकै थियो । बजारमा कारोबार प्रक्रियामा -राफसाफ अवधि छोटिएको थियो) परिवर्तन आएको थियो, कर्जा र निक्षेपको ब्याजदर न्युन रहेको थियो ।

हुनतः आधारभुत पक्षको कुरा गर्दा कतिपयले नेप्सेले १८८१ को उचाईको यात्रा गरिरहँदा भएको भूकम्प र नाकाबन्दीको प्रभाव, आर्थिक वृद्धिदरमा भएको भारी गिरावट लगायतका विषयको पनि प्रश्न गर्ने गर्छन् । तर, त्यो समय पनि अधिकांश सूचीकृत कम्पनीहरु नाफामा जानु, पुँजी वृद्धिको बाध्यता रहँदा बोनस र हकप्रदको सम्भावना रहिरहनु नै बजार बढ्ने आधारको रुपमा रहेको थियो । बैंकहरुबाट कर्जा लगानी बढ्न नसक्दा सेयर धितोमा कर्जा वा अन्य शीर्षकको कर्जा पनि सेयर कारोबारमा प्रयोग भएको थियो ।

निश्कर्षमा भन्नुपर्दा प्राविधिक विश्लेषणका कतिपय औजारले कम्पनीको मूल्य बास्तविक हुनुपर्नेभन्दा कम भएको छ भन्ने वा बढि भएको छ भने पनि जानकारी दिन्छ । यसले हुनसक्ने लाभ वा जोखिमको सम्भावना पनि देखाउँछ । त्यसैले पनि आधारभुत र प्राविधिक दुवै पक्ष बजार विश्लेषणको लागि उत्तिकै प्रभावकारी मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment