Comments Add Comment

देउवालाई ओलीको प्रश्नः कहिले गर्नु हुन्छ प्रदेश र संघीय निर्वाचन ?’

'चुनाव सार्ने निर्णयमा कुटिल षड्यन्त्र लुकेको छ'

४ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज २ गते चुनाव सार्ने निर्णयमा कुटिल षड्यन्त्र लुकेको बताएका छन् ।

राजपा नेपालकी कोषाध्यक्ष अनिता यादव लगायतलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले, सत्तारुढ कांग्रेसले राजपालाई प्रयोग मात्र गरेको आरोप लगाए । राजपाले चुनाव सार्न नमागेको र असोज २ को चुनावमा पनि आउँछ भन्ने नरहेको भन्दै उनले भने, ‘असोज २ गते चुनाव सार्ने निर्णयको पछाडि कुटिल षड्यन्त्र छ ।’

प्रदेश र संघीय चुनावका लागि निर्वाचन क्षेत्र समेत निर्धारण हुन नसकेको भन्दै उनले प्रधानमन्त्री देउवालाई प्रश्न गरे, ‘कहिले गर्नु हुन्छ प्रदेश र संघीय निर्वाचन ?’

उनले पटक-पटक चुनाव सार्नुले नै असक्षमताको पहिलो प्रमाण देखिएको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले ६ वटा प्रदेशमा चुनाव गरेर प्रदेश नम्बर २ मा मात्र स्थानीय तहको संख्या बढाउन नसकिने प्रष्ट पारे । सरकारको तयारी अनुचित र गैरसंवैधानिक भएको भन्दै उनले भने, ‘६ वटा प्रदेशमा चाहिँ जनसंख्याका आधारमा चाहिँदैन ?’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले कहिल्यै संविधान संशोधन हुन सक्दैन नभनेको बताए । ‘उपयुक्त ढंगले संशोधन हुन सक्छ । हामी छलफलका लागि तयार छौं,’ उनले भने, ‘तर, बलजफ्ती, कसैले गरेको सम्झौता कार्यान्वयन गरिदिनु पर्ने बाध्यता बोक्दैन । जे पायो त्यही संशोधन हुन सक्दैन ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक एमालेलाई हिमाल, पहाड र तराई छुट्याउन खोजेको आरोप लगाउने गरेको भन्दै ओलीले क्षेत्रीयतावादी वा विभाजनकारी शब्द भेट्टाएर देखाउन चुनौती दिए ।

चुनावी हुरीले हल्ला उडाएर लैजान्छ

एमाले अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा एमाले कमजोर नभएको दाबी गरेका छन् । असोज २ मा जनताले बताउने भन्दै उनले भने, ‘एमाले कमजोर भन्ने हल्ला फैलाइएको छ । चुनावी हुरीले त्यो हल्लालाई उडाएर लैजान्छ ।’

उनले सबै प्रदेशमा एमालेले जित्ने दाबी गरे । पहिलो चरणको चुनावमा एमालेले ४५ प्रतिशत जित हात पारेको भन्दै उनले अब त्यतिमा चित्त नबुझाउने बताए । अध्यक्ष ओलीले भने, ‘०७० को चुनावको परीणामलाई हेरेर प्रमुख प्रतिपक्षी भनिएको हो । तर, एमाले अब सत्तासिन र प्रमुख पार्टी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment