Comments Add Comment

अछाममा एमालेका ५ सदस्य निर्विरोध, दार्चुलामा कांग्रेसकी दलित महिला सदस्य निर्विरोध निर्वाचित

 

८ असार, दार्चुला । ७ नम्बर प्रदेशका दार्चुला, अछाम, बाजुरा र बझाङमा वडाध्यक्षसहित केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । सञ्चार सम्पर्कमा ढिलाइका कारण निर्विरोधको आधिकारिक जानकारी बुधबार बेलुकामात्र निर्वाचन आयोगले दिएको हो ।

अछामको मंगलसेन नगरपालिकाका विभिन्न वडामा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध भएका छन् भने दार्चुलामा कांग्रेसकी एक दलित महिला सदस्य निर्विरोध भएकी छन् ।

मंगलसेन नगरपालिकाको वडा नम्बर २ मा एमालेका खुल्ला सदस्य उम्मेदवार पुरन बोगटी र बमहावदुर बोगटी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य सुनिता बोगटी र दलित महिला सदस्य भुन्टी ढोली पनि निर्विरोध भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

अब वडा नम्बर ५ मा वडाध्यक्षमा मात्र चुनाव हुनेछ । वडा नम्बर ७ मा पनि महिला सदस्य जमुना जैशी निर्विरोध निर्वाचित भएकी छन् । यी पदमा उम्मेदवारी दिएका केहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको र कतिपय पदमा एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेस उम्मेदवारले फिर्ता लिएपछि चार जना निर्विरोध भएका हुन् । आफ्ना ५ जना सदस्य निर्विरोध भएपछि एमालेले मंगलसेन नगरपालिकामा विजय जुलुस निकालेको थियो ।

मंगलसेनमा एमाले विरुद्ध कांग्रेस र माओवादीको गठबन्धन छ । पार्टी जिताउन एमाले उपाध्यक्ष तथा ७ नम्बर प्रदेश कमाण्डर भीम रावल अछाम आउँदैछन् । उनी यहिँका मतदाता हुन् ।

दार्चुलामा कांग्रेस सदस्य निर्विरोध

यसैबीच दार्चुला जिल्लाको व्याँस गाउँपालिकामा नेपाली कांग्रेसका दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । व्याँस गाउँपालिका वडा नम्बर ५ का दलित महिला उम्मेदवार मालती लुहार निर्विरोध निर्वाचित भएको व्याँस गाउँपालिकाका निर्वाचन अधिकृत पवन कुमार तिमल्सिनाले जानकारी दिए ।

उक्त वडामा दलित एक परिवारमात्र छन् ।

यसअघि नै बझाङको काँडा गाउँपालिका ५ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै एमाले निर्विरोध भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment