Comments Add Comment

पाइल्सको यस्तो छ सजिलो उपचार विधि

पायल्स, निकै कष्टकर समस्या हो । गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन् । तर, लाजको कारण रोग लुकाउँछन् । जबसम्म समस्याले जटिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन ।

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।

जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।

कति प्रकारका हुन्छन् ?

यसलाई विभिन्न श्रेणीमा राखिएको छ । १. शिराहरु सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर, बाहिर नआउने । २. सुन्निएका नसाहरु मल त्याग गर्दा बाहिर आउने, दिसा गरिसकेपछि पुन आफ्नै स्थानमा जाने । ३. शिराहरुको डल्लो बाहिर आउने र आफैं यथास्थानमा नजाने । ४. सुन्निएको नशाका डल्लाहरु निरन्तर मलद्वार बाहिर नै रहने ।

पायल्स भएको कसरी थाहा पाउने ?

दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा खलास नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

किन हुन्छ ?

कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ । यस्तो अस्वस्थ्यकर खानेकुरा खाने तर, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, फाइबरयुक्त खानेकुरा, फलफूल सेवन नगर्ने बानीले कब्जियत निम्त्याउँछ । कब्जियतले पायल्स ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ ।

त्यस्तै, दिसा रोक्ने बानी अर्को कारण हो । दिसाको वेगलाई रोक्ने बानीले कब्जियतको समस्या ल्याउँछ । गहु्रंगो भारी उचाल्ने, पेटको समस्या भएका, गर्भवती र गर्भपात गर्नेहरु, मोटोपन भएका, गुदा मैथुन गर्नेहरुमा यो समस्या देखापर्न सक्छ ।

के गर्ने त ?

सुरुमा त रोग लाग्न नदिनु नै उत्तम हो, जसका लागि खानपान र जीवनशैली बदल्नुपर्छ । स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या आउँदैन ।

पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधी अपनाउनु पर्छ । सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ । योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ ।

पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पायल्सबाट छुटकारा पाउन सकिन्छ ।

के नखाने ?

यस्तो खानेकुरा सेवन नगर्ने जसले पेटलाई भद्दा बनाउँछ । पाचन यन्त्रमा समस्या ल्याउँछ । जस्तो कि, बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड डिं्रक आदिको सेवन नगर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ । सकेसम्म अन्न नखाएकै राम्रो हुन्छ ।

के खाने ?

सुपाच्य खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा जस्तो कि, हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ ।

प्राकृतिक विधी के छ ?

– नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन ।
– यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ ।
– रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ ।
– रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ ।
– दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ ।
– मिठो मसिनो भन्दा खस्रो-मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।

घरेलु विधी के छ ?

पायल्सको समस्या घरेलु विधीबाट पनि हटाउन सकिन्छ । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठूलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको संभावना बढाउँछ ।

गलत खानपान, पुग्दो पानी नपिउने जस्ता बानीले कब्जियत हुन्छ । यस्तो अवस्थामा दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । पछि त्यसैले पायल्सको संभावना बढाउँछ ।

– पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ ।
– तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ ।
– पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ ।
– कागती पानीको सेवनले पायल्समा राहात दिन्छ ।
– पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ ।
– बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment