+
+

चमेलियाले सक्यो रक ट्रयापिङ, साइड टनेल बन्द बन्द गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १७ गते ११:०९


१७ असार, काठमाडौं । दार्चुलामा निर्माणाधिन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले ६५ मिटर रक ट्रयापिङको काम सकेको छ । लक्ष्यभन्दा १५ दिनअघि नै रक ट्रयापिङको काम सकिएको हो ।

यसअघि तय गरेको योजनाअनुसार असार भित्रमा रक ट्रयापिङको काम सक्नु पर्ने थियो । रक ट्रयापिङ सकिएसँगै साइड टनेल टु र थ्रि बन्द गर्ने काम सुरु भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए । दाहाल भन्छन्, ‘रक ट्रयापिङको काम सक्यौं, अब अडिट टु र थ्रि प्लगिङको काम सुरु हुन्छ ।’

साइड टनेल टु बन्द गर्ने काम सुरु भइसकेको छ । साइड टनेल थ्रिमा भने अहिले गेट राख्ने काम भइरहेको छ । यो काम सकिने बित्तिकै यसलाई पनि बन्द गरिनेछ । मूख्य सुरुङ खन्नका लागि प्रयोग भएका यस्ता टनेल ३ वटा खनिएका थिए । टनेल सफा गरिएपछि यस्तो साइड टनेल बन्द गर्ने काम सुरु गरिन्छ ।

ड्राइ टेस्ट जारी 

आयोजनाले अहिले ड्राइ टेस्ट गरिरहको छ । झण्डै डेढ महिना अघिबाट सुरु भएको यो परिक्षण अहिलेसम्म सकिएको छैन । निर्माण भएका उपकरण कन्डिसनमा छन् वा छैनन् र जडान ठिक तबरले गरिएको छ वा छैन भनेर यो परिक्षण गरिएकोे हो ।

आयोजनाका कामहरु लक्ष्य अनुरुप नै अघि बढेको दाहाल बताउँछन् । उनी भन्छन्, ‘योजना अनुरुप नै काम अघि बढेको छ, बरु लक्ष्य भन्दा केहि काम १०/१२ दिन अघि नै सकिएको छ ।’

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सरकारी बेवास्ता, ठेकेदार र परामर्शदाताको लापरवाहीका कारण ८ अर्ब रुपैयाँमा बन्नुपर्ने आयोजनाको लागत १५ अर्ब पुगेको हो ।

आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ । सिभिलतर्फको काम सेप्टेम्बर सम्ममा सक्ने योजना छ । सिभिल तर्फको काम सेप्टेम्बरमा सकेपछि इलेक्ट्रोमेकानिकलको काम सुरु गर्ने आयोजनाको तयारी छ ।

रुख कटान पनि अन्तिम चरणमा

चमेलिया आयोजनाको प्रशारणलाइन यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । अहिले प्रशारणलाइन वरपर रहेका रुखहरु कटान गर्ने काम भइरहेको छ ।

निर्माण सम्पन्न भएपछि लामो समय यो प्रसारणलाइन प्रयोगबिहीन भयो । जसका कारण ठाउँ–ठाउँमा बिग्रेको थियो । त्यसको मर्मत सकेर अहिले जोखिमयुक्त रुख कटान गर्ने काम भइरहेको छ । रुख कटानको काम जेठ १ गतेदेखि सुरु भएको हो ।

असार मसान्तसम्ममा कटान सक्ने आयोजनाको तयारी छ । दाहालले भने, ‘असार मसान्तसम्ममा जोखिममा रहेका रुखहरु पनि कटान गरिसक्ने भएका छौ ।’

यो आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो । तर, लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष रोकिन पुगेको थियो । कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै वीचैमा काम रोक्न निर्देशन दिएको थियो ।

ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?