Comments Add Comment

आज तुलसी रोप्ने दिनः कुन रोगमा कसरी प्रयोग गर्ने ?


कतिपय बनस्पती यस्ता छन्, जो मानव जीवनको निम्ती अत्यान्तै महत्वपूर्ण मानिन्छ । जस्तो कि, तुलसी । परम्परादेखि नै तुलसीलाई सुरक्षित र संरक्षित ढंगले रोप्न, हुर्काउन सिकाइएको छ । जस्तोसुकै रोगमा पनि बिना साइट इफेक्ट प्रभावकारी काम गर्ने औषधिय गुणको तुलसी कुन बेला रोप्ने, कसरी हुर्काउने भन्ने विधीको समेत सदियौंदेखि विकास भएको छ ।

आर्युवेदमा बहुउपयोगी बनस्पती हो यो । कतिसम्म भने, तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा तुलसी रोप्नुपर्छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा पनि छ । यसले हामीलाई तुलसीको सम्पर्कमा पुर्‍याउँछ र स्वास्थ्य लाभ मिल्छ ।

त्यही अनुसार, आज हरिशयनी एकादशी । अर्थात तुलसी रोप्ने दिन ।

कति प्रकारको हुन्छ ?

तुलसी पाँच प्रकारको हुन्छ । यद्यपी चलन चल्तीमा भने दुई थरीका तुलसी छन्, श्याम तुलसी र श्वेत तुलसी । श्याम तुलसी गाढा हरियो र कालो रंगको हुन्छ । श्वेत तुलसी सेतो, हल्का हरियो रंगको हुन्छ । यी दुबैमा औषधिय गुण भरपुर हुन्छ ।

तुलसीको औषधीय गुण

कुनैपनि शारीरिक संक्रमण, रोगमा तुलसी प्रयोग गर्न सकिन्छ । यो बहुउपयोगी वनस्पती हो ।

उच्च रक्तचापमा

अहिले धेरैजसो उच्च रक्तचापले ग्रस्त छन् । उनीहरुको निम्ती उपयोगी हुनसक्छ, तुलसी । हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउनुपर्छ, यसले प्राकृतिक रुपमा क्रमस उच्च रक्तचाप नियन्त्रण गर्छ । तनाव हटाउँछ ।

बच्चाका लागि उपयोगी

अक्सर बालबालिका बिमार पर्छन्, खासगरी वर्षायाममा । संक्रमित खानेकुरा, जंकफूडले गर्दा उनीहरुको पेट पनि खराब भइरहेको हुन्छ । यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउनु पर्छ । यसले पेट स्वस्थ्य त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ ।

पेटको समस्यामा

अस्वस्थ्यकर र अनियमित खानपानको कारण अहिले धेरै पेटको रोगी छन् । उनीहरुको निम्ती उपयोगी हुन्छ, तुलसी । तुलसीको पात पकाएर बिहान खाली पेटमा नियमित रुपमा पिउनुपर्छ, पेटको रोग ठीक हुन्छ । यसले अजिर्ण एवं अपचको समस्या पनि हटाइदिन्छ । साथसाथै कलेजोमा पनि फाइदा पुग्छ ।

वान्ता भएमा

यदि वान्ता भएमा तुलसीको रसमा अलैंची वा सुकुमेलको धुलो मिसाएर दिनुपर्छ । साथै तुलसीको रसमा दालचिनीको धुलो मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ ।

घाउ खटिरामा

वर्षायाममा घाउ खटिरा आउनु सामन्य हो । यस्तो अवस्थामा तुलसीको पातको रसले प्रभावकारी काम गर्छ । तुलसीको पातको रस प्रभावित भागमा लगाउनुपर्छ । यससँगै तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा अझ लाभ मिल्छ ।

यौनजन्य समस्यामा

तुलसीको सेवनले यौनजन्य समस्याबाट समेत छुटकारा दिन्छ । शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिंग शिथिलता आदिमा तुलसी उपयोगी हुन्छ । तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा मिल्छ ।

मुखको दुर्गन्धमा

मुखको दर्गन्ध हटाउनमा पनि तुलसी उपयोगी हुन्छ । यसमा निम्ति नियमित रुपमा तुलसीको पात चपाउनुपर्छ ।

अन्य फाइदा

– टाउको दुख्यो भने तुलसीको रसले निधारमा मसाज गर्नुपर्छ ।

– खोकी लागेको बेला तुलसीको पात, अदुवाको टुक्रा पकाउने । उक्त रसमा मह मिसाएर सेवन गर्नुपर्छ ।

– यदि छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाउनुपर्छ । त्यसलाई बिस्तारै छातीमा मसाज गर्नुपर्छ ।

– तुलसीको पातको रसमा ज्वानो मिसाएर पकाउनुपर्छ, यसले पेटको जुकालाई मार्छ ।

– तुलसीको पातको रस बनाउने, त्यसलाई कपडाले छानेर कानमा लगाउनुपर्छ, कानको दुखाई ठीक हुन्छ ।

– बच्चाको पेट दुखेमा तुलसीको पातको रस मनतातो बनाएर सेवन गराउनुपर्छ ।

– तुलसीको रसले मुख कुल्ला गर्नुपर्छ, दाँत तथा गिजाबाट रगत बग्न छाड्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment