+
+
Shares
प्रतिवाद :

तुलसीको पत्र विष्णुलाई

तुलसीलाई त मोठमा चढायौ। तर वृन्दा? ऊ न पूजनीय, न कुनै कुराको प्रतीक, न पतिव्रता – वृन्दालाई तिमीले कोही पनि हुन र रहन दिएनौ। म कति वृन्दा हुँ र कति तुलसी, मलाई नै थाहा छैन।

केदार शर्मा केदार शर्मा
२०८२ असार २३ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘विष्णुप्रिया’ नामक पात्रले आफ्नो पीडा र असन्तुष्टि व्यक्त गर्दै धर्म, सतीत्व र स्त्रीअधिकारको विषयमा प्रश्न उठाइन्।
  • उनीले ब्रह्मा, जालन्धर र तिम्रो धर्मका नाममा भएको अन्याय र छलको आलोचना गरेकी छन्।
  • उनले आफ्नो आत्मसम्मान र पीडाको मूल्यांकन गर्न र जवाफ माग गर्न यो खुला पत्र लेखिन्।

ठुली एकादशीमा सबैतिर तुलसी रोपियो। एका बिहानै श्रद्धापूर्वक उखेलेर सारिएकी म, अहिले अपराह्नमा पनि ओइलाएकै छु र बडो अनिच्छापूर्वक जाग्ने प्रक्रियामा छु। वृन्दा हुँदा आत्मदाह गरेकी थिएँ, उद्‌भिद भएपछि त्यो सम्भावना रहेन। के गर्नु, प्रकृतिको नियमको विरुद्धमा जाने हक मान्छेमा मात्र सीमित छ!

चतुर्मास सुरू भएसँगै नयाँ र पवित्र ठाउँमा सारिएकी म जसोतसो बाँच्छु, जाग्छु  र तिम्रा मन्दिरका प्राङ्गण तथा हरेक सनातनी घरका आँगन र कौसीमा पुजिन थाल्छु । ममाथि चोखो जल चढाइन्छ, सन्ध्यामा दीप बालिन्छ। तिम्रो पूजा पनि मबिना अधुरो छ भनिन्छ र यसबेला त तिम्रो आराधनामा पनि मेरो नाम सँगसँगै आउँछ।

म ‘विष्णुप्रिया’ भनेर पुकारिन्छु। तर म विष्णुप्रिया होइन। म आफूलाई विष्णुप्रिया स्वीकार्नै सक्दिनँ। मेरालागि यो शब्द त्यति नै अप्रिय छ, जति तिम्रो छल थाहा पाउनसाथ तिम्रो ‘प्रेम’ अप्रिय भएको थियो। त्यो ‘प्रेम’ ले मलाई यति जलाएको थियो कि त्यो ताप आत्मदाहको ज्वालाले मात्र शान्त भएको थियो ।

यो चतुर्मासमा तिमी योग निद्रामा सुत्छौ भनिन्छ र म यही समयमा जाग्छु। र तिमी योगनिद्राबाट बिउँझिने दिन वा भोलिपल्ट मेरो विवाह शालिग्रामसित गराइन्छ, त्यही ढुङ्गासित, जे हुनु भनेर मैले तिमीलाई सरापेकी थिएँ। हे छली, त्यसबेला त छल्यौ, अनि मेरो पुनर्जन्म पछि पनि शास्त्रका नाममा अनेक शब्दजाल बिछ्यायौ र धर्मभीरु जन, अझ मूलतः स्त्रीहरूलाई मसित जोडी बाँधेर आफ्नै पूजा गराउने प्रपञ्च रच्यौ, बलात्कारलाई धार्मिकता र वैधानिकता दिने कोशिश गर्‍यौ र सफल पनि भयौ।

तुलसी-शालिग्रामको पूजा गर्ने महिलाहरूलाई देख्दा मलाई अझ पराजित भएजस्तो लाग्छ; डाको छाडेर रुन मन लाग्छ। खासमा तिमीले मेरो पूजा गराएको कि मलाई सधैँ रुवाउने षड्यन्त्र गरेको ?

अँ, यो पत्रको सुरुमा आएको शब्द ‘प्रिय’ तिमीप्रतिको प्रीतिको अभिव्यक्ति होइन, अत्यन्त अप्रिय व्यक्तिलाई गरिने सम्बोधनका लागि शब्द नभेटेर, अंग्रेजीको ‘डियर’ को निष्प्राण अनुवाद मात्र गरेकी हुँ। कोष्टकमा राखिएको ‘पुरुषोत्तम’ को अर्थ त बुझाइरहनु नपर्ला है ?

ए ‘अच्युत’, आज ठुली एकादशी भनेर पवित्र मानिने दिनमा, जब करोडौँ मानिसले मलाई तिम्री प्रियतमा मानेर पूजा गरिरहेका बेला, ब्रत बसिरहेका बेला, मेरो मनमा हजारौँ वर्षदेखि गुम्सिएका तीतो यथार्थ र प्रश्नहरूको ज्वालामुखी दन्किरहेका छन्। त्यसैले आज मैले तिमीलाई यो खुला पत्र लेखिरहेकी छु। आज म त्यो पौराणिक कथाका केही पत्र खोतल्न चाहन्छु र तिमीले धर्मको रक्षाका नाममा ममाथि गरेको जघन्य अपराध को सत्यलाई नङ्ग्याउन चाहन्छु।

तुलसी-शालिग्रामको पूजा गर्ने महिलाहरूलाई देख्दा मलाई अझ पराजित भएजस्तो लाग्छ; डाको छाडेर रुन मन लाग्छ। खासमा तिमीले मेरो पूजा गराएको कि मलाई सधैँ रुवाउने षड्यन्त्र गरेको?

जालन्धरको र मेरो, अर्थात् वृन्दाको कथा-प्रसङ्ग तिमीले चाहेर पनि बिर्सिन सक्दैनौ भन्ने थाहा छ। त्यसैले आज यो प्रसङ्ग म तिमीलाई सम्झाउन होइन, तिमीलाई बिरोल्नका लागि दोहोर्‍याउँदै छु।

मेरा पति समुद्रपुत्र असुरराज जालन्धर पराक्रमी थिए। उनले धर्मयुक्त जीवनशैली अपनाएर र कठोर तप-साधना गरेर ब्रह्माबाट अमरताको वरदान प्राप्त गरेका थिए। ब्रह्माले अनौठो शर्त राखेका थिए, जबसम्म उनकी पत्नीको, अर्थात् मेरो पतिव्रता धर्म अटल रहन्छ, तबसम्म मात्र उनी अजेय हुनेछन्।

तिमी देवताहरू साँच्चै बाठा हौ। ब्रह्मा बाजेले मेरा पतिलाई वरदान त दिए, तर उनको अमरताको आकाङ्क्षामा मलाई अनावश्यक हिसाबले जोडिदिए र थोपरिदिए मेरो पातिव्रत्यप्रतिको निरन्तरको चासोको बोझ पनि।

प्रकटमा जालन्धरको अजेयताको एकमात्र स्रोत मेरो सतीत्व र  मेरो अटूट पतिव्रता धर्म थियो भन्ने देखियो। तर परोक्षतः उनले जालन्धरलाई एउटा अनावश्यक चिन्तामा फसाए। मेरो, कुनै पनि उमेरमा कसैतिर नढल्किएको, नलोभिएको मनका लागि त्यो ठूलो कुरा थिएन। मैले कहिल्यै कुनै पुरुषलाई, तिमीजत्तिको सुदर्शन पुरुषलाई पनि कामभावले हेरेकी थिइनँ। मेरा लागि मेरा पति नै सर्वस्व थिए।

ब्रह्माको वरदानले आफ्ना पतिप्रतिको मेरो निष्ठा अझ बढायो। म पनि आफूलाई जालन्धरको जीवनको मात्र होइन, उनको विवेकपूर्ण शासन व्यवस्थाको पनि आधार ठान्न थालेँ। मेरो विश्वास यति दृढ थियो कि कुनै पनि शक्ति, कुनै पनि देवताले उनलाई पराजित गर्न सक्दैनथे।

तर जालन्धर त एउटा पुरुष न थिए, उनी मेरो सतीत्वप्रति अबसेस्ड हुनपुगे। उनको ध्यान जहाँ केन्द्रित हुन आवश्यक नै थिएन, त्यता केन्द्रित हुन थाल्यो। अनि, हाम्रो ठीकठाक चलिरहेको कथामा बडो अनावश्यक, अनपेक्षित र बडो अस्वीकार्य ढङ्गले तिमी मिसिन पुग्यौ र सबै कुरा बिथोलिदियौ।

ए, सृष्टिका पालनहार, धर्मका रक्षक मानिने त्रिविक्रम! तिमीले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर पनि जालन्धरलाई प्रत्यक्ष युद्धमा पराजित गर्न सकेनौ र लाग्यौ देवताहरूको प्रिय छलनीतितर्फ। जब तिम्रा सबै प्रयास विफल भए, तिमीले कुमार्ग अपनायौ; नीच, घृणित र कायरतापूर्ण छलको सहारा लियौ।

तिमी जालन्धरको रूप धारण गरेर मेरो पवित्र आश्रममा प्रवेश गर्‍यौ र मेरो पतिव्रता धर्म, मेरो निष्ठा र मेरो विश्वासलाई निर्ममतापूर्वक कुल्चियौ। मैले लामो वियोगपछि घर आएका पतिको सेवा र प्रेममा जे जे गर्नुपर्थ्यो ती सबै गरेँ र तिमीले जे जे नगर्नुपर्थ्यो तीसबै गर्‍यौ।

मैले थाहै नपाई तिमीले मेरो सतीत्व हरण गर्‍यौ र आफ्ना चर अनुचरहरूलाई लगाएर तत्कालै र सप्रमाण त्यो खबर जालन्धरकहाँ पनि पुर्‍यायौ। उनलाई पहिल्यै तिमीहरूले आफ्नो पौरख र सामर्थ्यमाथिभन्दा मेरो सतीत्वमाथि विश्वास गर्ने बनाइसकेका थियौ। म पतिव्रता नरहेको सुन्नासाथ उनका नौनारी गले। उनी हारे र मारिए।

जब मलाई यो छलको बारेमा थाहा भयो, मेरो संसारै ढल्यो। एकैछिन अघि आफू जालन्धरसित नभई तिमीसित थिएँ भन्ने कुरा पनि मेरालागि पत्याइसक्नु थिएन। म साँच्चै नै व्यथित भएँ।

जालन्धर मारिनु र मेरा कारण मारिनु मेरालागि जति सन्तापको विषय थियो, त्यति नै पीडादायी थियो तिमीबाट ठगिनुको बोध। मलाई प्रतिपल मरेर बाँच्न स्वीकार्य भएन। मैले त्यो सन्तापबाट मुक्त हुन चाहेँ, त्यसैले मैले सम्भवतः मैले जीवन विसर्जनका लागि मान्छेले अपनाउने सबभन्दा कठोर उपाय आत्मदाह रोजेँ।

मैले हजारौँवर्षदेखि यो तृणावतारमा बाँच्दा पनि त्यस दिनको घटनाक्रम बिर्सिन सकेकी छैन। मलाई थाहा छ, तिमीले पनि बिर्सेका छैनौ। म त्यो ‘प्रेममय बलात्कार’ को विवरण लेख्न चाहन्न।  ती सबै कुरा तिमी नै सम्झ, आफ्नो अभिनय र आफ्ना हर्कतहरू सम्झ र आफूलाई के ठान्नुपर्छ, ठानिराख।

मैले प्राण त्याग्नुअघि तिम्रो पाषाण हृदयलाई सक्दो सरापेँ, तिमीलाई सबभन्दा कठोर ढुङ्गो हुने श्राप दिएँ। तर कुरा श्रापमा सकिएन।  मेरो श्रापले शालिग्राम भएपछि पनि विवाह गर्न म तुलसी नै चाहियो, अनि फेरि प्रश्नहरू जागे र बढ्दै गए।

हे ‘समदर्शी’, जालन्धरलाई मार्नै पर्ने आवश्यकता किन थियो? उनको ‘अधर्म’ के थियो? के उनले तिम्रो सत्तालाई चुनौती दिएकै कारण उनलाई समाप्त पार्नु पर्थ्यो? फरक विश्वास भएकै कारण, तिमीले ‘असुर’ मानेका व्यक्तिलाई मार्न, त्यो पनि छल गरेर, किन जायज ठहराइयो? बलियाले कमजोरलाई दबाउने, फरक विचार राख्नेलाई समाप्त पार्ने, एउटा रजौटालाई सुहाउने प्रवृत्तिले तिम्रो देवत्व अनुकूल नै थियो?

तर म यस पत्रमा त्यतातिर गएर विषयान्तर गर्दिनँ।

अहिले असमान समाजव्यवस्थाको इतिहासका अध्येताहरू पुरुषसत्तात्मक सोच र संरचनाको इतिहास समाजमा खोज्छन्। म भने सिधै तिमीकहाँ पुग्छु, ब्रह्माकहाँ पुग्छु। तिम्रा शास्त्रहरूले नारीको सतीत्वलाई पुरुषको सम्पत्ति र उसको गौरवको प्रतीकका रूपमा प्रस्तुत गरेकाछन्।

ए श्रीपति, छल गरेर वृन्दाको सतीत्व नाश गरेपछि तिमीलाई लक्ष्मीसित आँखा जुधाउन कसरी आँट आयो? उनले केही भनिनन्? हे धर्मरक्षक, तिम्रो धर्म यही हो?

अनि पुराकथाहरूले नारीको शरीर र उसको पवित्रतालाई पुरुषहरूको युद्धको मैदान बनाएका छन्। मेरो सतीत्व भङ्ग गरेर तिमीले जालन्धरलाई पराजित गर्‍यौ, तर त्यसमा मेरो इच्छा, मेरो आत्मसम्मान र मेरो पीडाको कुनै मूल्य राखेनौ। ए श्रीपति, छल गरेर वृन्दाको सतीत्व नाश गरेपछि तिमीलाई लक्ष्मीसित आँखा जुधाउन कसरी आँट आयो? उनले केही भनिनन्? हे धर्मरक्षक, तिम्रो धर्म यही हो?

मलाई केवल एउटा साधन का रूपमा प्रयोग गर्‍यौ। माथिको प्रश्नको जवाफ मसितै छ। तिमीले लक्ष्मीलाई पनि कुनै नारीलाई पुरुषको स्वार्थ सिद्ध गर्ने वस्तुका रूपमा प्रयोग गर्दा पनि तिमीलाई प्रश्न नगर्ने अवस्थामा पुर्‍याइसकेका थियौ, उनले पनि तिमीलाई केही सोधिनन्, केही भनिनन्। तिमीले नगर्नु गर्‍यौ सत्यव्रत!

अहिले पनि संसारभरमा कुनै पुरुषले अर्को पुरुषलाई अपमानित गर्न र उसको अहङ्कारमा चोट पुर्‍याउनका लागि त्यो पुरुषसँग सम्बन्धित महिलामाथि, चाहे त्यो पत्नी होस्, दिदीबहिनी होस् वा आमा नै किन नहोस्, बलात्कार वा सामूहिक बलात्कार गर्छ। यसले पुरुषलाई शारीरिक रूपमा चोट नपुर्‍याए पनि उसको आत्मसम्मान र प्रतिष्ठामा गहिरो चोट पुर्‍याउँछ। म यो प्रवृत्तिको जनकका रूपमा तिमीलाई औँल्याउँछु। तिमीसित कुनै जवाफ छ?

मेरो देहत्यागपछि मलाई तुलसी बनायौ, पूजनीय बनायौ। अन्यायको रूपान्तरण गर्‍यौ,  पीडाको सौन्दर्यीकरण भयो। सतीप्रथाको अत्याचार भोगेकी स्त्रीलाई ‘देवी’ भन्नुजस्तै त हो नि यो पनि। छल वृन्दामाथि भएको थियो, ऊ खरानी भइसकी प्रश्न गर्न सक्दिन। पूजा गरिएकी तुलसी पूजित भएकैमा दङ्ग पर्छे, प्रश्न गर्दिन, आलोचना गर्दिन। पूजाको पात्र बनाइनु भनेको ज्युँदै राखेर बोली बन्द गरिदिनु हो। श्रद्धा र पूजाको आवरणले ढाकेर मलाई आवाजहीन बनाउने, मलाई निष्क्रिय तुल्याउने षड्यन्त्रको हिसाब मागेँभने तिमी के भन्छौ?

तुलसीलाई त मोठमा चढायौ। तर वृन्दा? ऊ न पूजनीय, न कुनै कुराको प्रतीक, न पतिव्रता – वृन्दालाई तिमीले कोही पनि हुन र रहन दिएनौ। म कति वृन्दा हुँ र कति तुलसी, मलाई नै थाहा छैन। वा, पूजित हुँदाहुँदै बोल्न बिर्सेकी लक्ष्मीको अंश पनि पो छ कि ममा? त्यसैले म एउटा  प्रश्न, एउटा आवाज र एउटा विद्रोह हुने प्रयासमा छु।

सक्छौ भने जवाफ लेख है।

तुलसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?