+
+
Shares

रुपन्देही-३ मा उम्मेदवारी दिने बालेनका सल्लाहकार गिरीको तयारी

एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव रहिसकेका गिरीले नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि काम गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिलोत्तमाका सन्तोष गिरीले रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्।
  • गिरीले अनलाइनखबरसँग भने, \'उम्मेदवार बन्न रुपन्देहीका शुभेच्छुकहरूले आग्रह गरेका छन् ।\'
  • आगामी निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारहरूको नाम चर्चामा रहेको छ।

२३ असार, बुटवल । रुपन्देही ३ को उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालयमा सल्लाहकार रहेका तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने तयारी गरेका छन् । ३३ वर्षीय गिरी तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीका बासिन्दा हुन् ।

गिरीको जन्मस्थान रुपन्देही क्षेत्र नं. ३ मै पर्छ । गिरीले अनलाइनखबर सँग संक्षिप्त कुरा गर्दै धेरैतिरबाट आग्रह भएकाले उम्मेदवार बन्ने सोचका साथ तयारीमा रहेको खुलाए ।

‘उम्मेदवार बन्न रुपन्देहीका शुभेच्छुकहरूले आग्रह गरेकाले बन्नुपर्छ भन्ने सोच भयो, बन्ने सम्भावना पनि छ’ गिरीले भने, ‘तर हतार गरेर तयारी नै गरेको छैन, साउनमा थाहा हुन्छ ।’

बालेनका खाद्य सल्लाहकार गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक हुन् । उनी नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि काम गरिरहेका छन् । एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव रहिसकेका गिरीले प्रखर वक्ताको पहिचान पनि बनाएका छन् ।

गिरी निकट स्रोतका अनुसार बालेनलाई महानगरमा एक्लै पारेपछि संसदमा उनको पक्षमा आवाज उठाइदिने कोही नभएकाले बालेन समर्थकको टिमले नै गिरीलाई उम्मेदवार बनाउन लागेको हो ।

‘बालेनमाथि सत्तारुढ दुई दलले एक्लाएर काम गर्न नदिंदा उनको पक्षमा यदाकदा राप्रपाका ज्ञानेन्द्र शाहीले मात्रै संसदमा कुरा उठाउँछन्, अरूले आवाज उठाइदिएनन् भनेर बालेन समर्थकहरूले यही क्षेत्रका सम्भावना बोकेका युवालाई उम्मेदवार बनाउन लागेका हुन्,’ तिलोत्तमा–६ का बालेन समर्थक एक युवाले भने ।

उनले थपे, ‘अहिलेको युवा पुस्ताले सबैभन्दा रुचाएको बालेनलाई नै हो, उनलाई काम गर्न नदिएर दुःख दिएको देखेर उनको मान्छेलाई उम्मेदवार बनाउन हामी नै लागेका हौं ।’

बालेन समर्थकहरूले गिरीको पक्षमा रास्वपाको समेत साथ लिन खोजेका छन् ।

आइतबार नै बुटवल मोतिपुरका लेखनाथ गैरेले औपचारिक रुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

कात्तिक १७ गते हुने उप निर्वाचनमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने, अन्यथा नबन्ने उनी निकटहरू बताउँछन् ।

एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, पूर्व प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक बोहराका छोराहरू क्या. गौरव बोहरा र प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, पूर्वमेयर सागरप्रताप राणा लगायत आकांक्षी छन् ।

माओवादी केन्द्रसहितका विपक्षी दलबाट एकीकृत समाजवादीका महासचिव घनश्ययाम भूसाल र युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।

रास्वपाबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन् । तर आकांक्षी निकटहरूका अनुसार क्षेत्र नं ३ का सभापति मधु अर्याल, सहकारी अभियान्ता ज्ञानु पौडेल लगायतको नाम चर्चामा छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबीच सहमति भएको थियो । नागरिक उन्मुक्तिबाट रेशम चौधरी र धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ । तर ७ दलको सहमतिबाट पछि हटेर जनमत पार्टीले छुट्टै उम्मेदवार उठाउने चर्चा छ ।

यस्तो छ विगतको नतिजा

२०७९ सालको निर्वाचनमा ९० हजार मत खसेको यो क्षेत्रमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टीले ५ हजार मत पाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, नेकपा माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७८१ मत पाएका थिए ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नं. १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं. २, मायादेवी गाउँपालिकाको वडा नं. ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं. १४ देखि १९ वडा समेटिएको छ ।

२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भूसालले जिते । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा निर्वाचन क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण निर्वाचित भए ।

२०७० सालमा पुरानै निर्वाचन क्षेत्र कायम हुँदा भएको चुनावमा दीपक बोहरा राप्रपाबाट विजयी भएका थिए । २०७४ मा नयाँ भूगोल समेटेर क्षेत्र नं. ३ बनेपछि एमालेका घनश्याम भूसाल र २०७९ मा पुनः राप्रपाका दिपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।

२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भूसालले ३२ हजार ८६६ मत ल्याएर चुनाव जितेका थिए । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?