
१७ असार, बुटवल । रुपन्देही–३ मा उपनिर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । मंगलबार मात्रै सागर ढकालले फेसबुक स्टाटस लेख्दै रुपन्देही–३ बाट इतिहास रच्ने घोषणा गरेका छन् । उनले यो चुनाव रुपन्देही–३ को मात्र नभई देशकै चुनाव तथा जनता भर्सेस राणा शासनको लडाईं भएको उल्लेख गरेका छन् ।
उनले देशको पीडा, आंशु र आवाज बोल्न तयार भएर बस्न मतदातालाई आग्रह गरेका छन् । ‘नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ’ उनले लेखेका छन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डढेल्धुरामा पराजित ढकालले चितवन २ मा रविको ५४ हजार १७६ र काठमाडौंमा बालेनको ६१ हजार ७६७ मत आएको तथ्यांक राख्दै अब रुपन्देही–३ मा करिब ९० हजार मत रहेकोमा ६२ हजार मत पार गरी नेपालको इतिहास रच्नुपर्छ भनेका छन् ।
‘कांग्रेस, एमाले मावोवादी एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ’, ढकालले लेखेका छन्, ‘जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यी तीन पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नुपर्छ, यो रुपन्देही–३ को एक तिरले तीन पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ ।’
ढकालले रुपन्देही–३ को चनाव नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो भन्दै गएको चुनावमा मतदाताले नयाँ अनुहारहरू स्थापित गरिदिए जस्तै अब फेरि पालो आएको उल्लेख गरेका छन् । सागरले भने रुपन्देही ३ मा उनी आफू उम्मेदवार नबन्ने बताएका छन् ।
रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
यहाँ तराई केन्द्रित ७ दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । पार्टीबाट उम्मेदवार चयनको जिम्मा संरक्षक रेशम चौरीलाई दिइएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र धनिराम चौधरीको नाम चर्चामा छ । धनिरामले २०७९ को चुनावमा रुपन्देही–१ बाट छविलाल विश्वकर्मा, घनश्याम भुसालसँग प्रतिस्पर्धा गर्दा १५ हजार मत पाएका थिए ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उपचुनाव हुन लागेको हो । रुपन्देही–३ को उपनिर्वाचनमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरूले पार्टीबाट टिकट हात पार्न आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् ।
रुपन्देही–३ मा नेपाली कांग्रेसबाट बालकृष्ण खांण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको चर्चामा छ । एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई , व्यवसायी शशि पौडेल, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक बोहराका छोराहरु क्या. गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, पुर्व मेयर सागर प्रताप राणा लगायत आकांक्षी छन् ।
माओवादी केन्द्रसहित विपक्षी दलबाट एकीकृत समाजवादी महासचिव घनश्ययाम भूसाल र युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ । रास्वपाबाट उम्मेदवारका आकांक्षी खुलेका छैनन् । रास्वपाले यहां जसरी पनि जित निकाल्ने रणनीतिमा रहेकाले अन्य दललाई पर्ख र हेरको अवस्थामा रहेको रुपन्देही–३ सभापति मधु अर्यालले बताए ।
२०७० सालमा पुरानै निर्वाचन क्षेत्र हुंदा दीपक बोहरा राप्रपाबाट विजयी भएका थिए । २०७४ मा नयां भूगोल समेटेर क्षेत्र बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुन: राप्रपाका दिपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।
यस्तो छ विगतको नतिजा
२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि रुपन्देही–३ को भुगोल नयाँ भएको हो । जस अनुसार रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वडा–१ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा–२, मायादेवी गाउँपालिकाको वडा–७ र ८, तिलोत्तमा नगरपालिकाको वडा–१३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा–१४ देखि १९ वडा समेटिएको छ ।
२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भूसालले जिते ।
२०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण निर्वाचित भए । २०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो ।
तर एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । २०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा विजयी भए भने बालकृष्ण खाँण दोस्रो भए ।
समानुपातिक मत कसको कति ?
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ मत पाएको छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।
प्रतिक्रिया 4