+
+
Shares
उपनिर्वाचन :

रुपन्देही–३ मा उम्मेदवार खोज्दै दलहरू

रास्वपा ‘पर्ख र हेर’को अवस्थामा, साझा उम्मेदवार अघि सार्ने संघीय लोकतान्त्रिक मोर्चाको प्रयासमा

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि रिक्त रुपन्देही–३ मा कार्तिक दोस्रो साता चुनाव गराउने निर्वाचन आयोगको तयारीपछि आकांक्षीहरुले टिकटका लागि सक्रियता बढाएका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ असार १३ गते १२:०३

१३ असार, बुटवल । रुपन्देही–३ को उपनिर्वाचनमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरुले पार्टीबाट टिकट हात पार्न आफ्नो पक्षमा माहोल बनाउन सक्रियता बढाएका छन् ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएर रिक्त यो क्षेत्रमा कार्तिक दोस्रो साता निर्वाचन गर्ने तयारीसहित निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेसँगै उम्मेदवारका आकांक्षीहरुले आ–आफ्नो पार्टीभित्र टिकटका लागि सक्रियता बढाएका छन् ।

टिकट हात पार्ने दौडमा सबैभन्दा अगाडि एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई छन् । भट्टराईले तीन दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटो सार्वजनिक गरेपछि पार्टीले उनलाई नै टिकट दिएको भन्दै समाचारहरु आएका छन् । तर पार्टीले आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।

भट्टराईले गत आम चुनावमा रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका थिए । सोही क्षेत्रबाट एमालेकै बासुदेव घिमिरेले पनि उम्मेदवारी दर्ता गरेका थिए ।

भट्टराईले आफ्नै पार्टीका नेता घिमिरेको उम्मेदवारीको फाइल नै खोस्ने प्रयास गरेको भन्दै निकै आलोचना भएको थियो । दुबै जनाको उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले पहिले दर्ता गरेको भन्दै घिमिरेलाई आधिकारिता दिएको थियो । भट्टराईले अघिल्लोपटक फुस्केको टिकट अहिले हात पार्न खोजेका छन् ।

तर एमालेबाट भट्टराई बाहेक दधिराम न्यौपाने, शशि पौडेल, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारीले पनि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले अहिलेसम्म कसैको पनि उम्मेदवारी नटुंगिएको बताए । आकांक्षा जो कसैले राख्नु स्वभाविक भएपनि कसलाई टिकट दिने भन्ने विषयमा औपचारिक छलफल नै नभएको गैरेले प्रष्ट पारे ।

कांग्रेसबाट को ?

नेपाली कांग्रेसबाट प्रमोद यादव, रामचन्द्र ढकाल, भरत शाह लगायतको नाम चर्चामा छ । तर आकांक्षी भनिएकाहरुले औपचारिक रुपमा यसबारे मुख खोलेका छैनन् ।

यादव गत आम चुनावमा रुपन्देही ४ मा उम्मेदवार भएर लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । त्यसअघि उनले त्यहीँबाट जितेका थिए ।

अहिले यादवलाई तीन नम्बरमा टिकट दिएर उनले जितेमा भविष्यमा सो क्षेत्र नछाड्ने डर कांग्रेसभित्रै भएकाले उनलाई टिकट नदिने एकथरिको चलखेल छ ।

यसैगरी शाह गत चुनावमा रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । यसैगरी ढकाल प्रदेश सभा अन्तर्गत रुपन्देही ३ को १ मा एमालेका तुलसीप्रसाद चौधरीसँग पराजित भएका थिए ।

शाह निकट कांग्रेस नेताहरुले उनी आफ्नो क्षेत्र छाडेर ३ मा उम्मेदवार नबन्ने दावी गरे ।

कांग्रेस रुपन्देही सचिव हरि काफ्लेले अहिले चर्चामा रहेका व्यक्तिहरुले आधिकारिकरुपमा पार्टी नेताहरुसँग उम्मेदवारी दिने कुरा नराखेको बताए । ‘चिया गफ र अनौपचारिकरुपमा चर्चा भए पनि आधिकारिकरुपमा कसैले पनि उम्मेदवारीको कुरा पार्टीभित्र राखेका छैनन्, विषय प्रवेश नै गरेको छैन’ कांग्रेस सचिव काफ्लेले भने, ‘उम्मेदवारीबारे मिडियामा समाचार आएका मात्र हुन् ।’

उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक बोहराका छोराहरु क्याप्टेन गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, पूर्व मेयर सागरप्रताप राणा लगायत आकांक्षी छन् ।

गौरव र प्रज्ज्वल दीपक बोहराका दुई श्रीमतीका छोराहरु हुन् । गौरव भन्दा प्रज्ज्वल आफ्ना बुबाको निर्वाचन क्षेत्रका मतदातासँग बढी घुलमिल छन् । राप्रपाकै युवा पुस्ताले भने अन्तर्राष्ट्रियसंस्थामा समेत काम गरेकी प्रखर वक्ता र सामाजिक काममा समेत संलग्न भएकाले स्वाती थापा उम्मेदवार बन्दा उनको पक्षमा माहोला बन्नसक्ने तर्क गरेका छन् ।

पार्टीबाट धेरै जना आकांक्षी हुनु स्वाभाविक भएपनि अहिलेसम्म पार्टीले टिकट दिने विषयमा प्रवेश नगरेको र समय आएपछि  सर्वसम्मतरुपमा पार्टीले जित्ने गरी एकजनालाई टिकट दिइने राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले बताए ।

रास्वपा पर्ख र हेरको अवस्थामा

रुपन्देही ३ को उपनिर्वाचनलाई रास्वपाले निकै महत्वका साथ लिएको छ । उसले यहाँ जसरी पनि जित निकाल्ने गृहकार्यमा रहेको पार्टीका नेताहरु बताउँछन् । ‘चुनाव भयो भने यो क्षेत्र जित्ने संकल्प गरेर गृहकार्य गरिरहेका छौं, तर हतारिएका छैनौं’ रास्वपा रुपन्देहीका एक नेताले भने ।

रास्वपाका ती नेताले यो क्षेत्रमा रास्वपाले जित्ने माहोल देखेको खण्डमा सरकारले चुनावै नगराउने खतरा रहेको आशंका समेत व्यक्त गरे । ‘कांग्रेस र एमाले उम्मेदवारले जित्ने अवस्था नदेखे यहाँ सरकारले चुनाव नगराउन सक्छ, किनभने यो चुनावको नतिजाले २०८४ को चुनावको नतिजालाई असर गर्छ’ ती नेताले विश्लेषण सुनाए ।

२०७९ को चुनावमा यो क्षेत्रमा रास्वपा समानुपातिक तर्फ १४ हजार १५४ मत सहित तेस्रो धेरै मत पाएको थियो ।

मिल्ने प्रयासमा संघीय लोकतान्त्रिक मोर्चा

रुपन्देही क्षेत्रनम्बर ३ मधेशी समुदायको उल्लेख्य मत रहेको क्षेत्र हो । त्यसैलाई मध्यनजर गरेर अहिले संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार अघि सार्ने तयारी गरेर छलफल चलाएको छ । अलग–अलग जाँदा जित्न नसक्ने निष्कर्षसहित मधेश केन्द्रित सात दल छलफलमा जुटेका हुन् ।

उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भए पनि कुनै सहमति नभएको र थप छलफलका लागि आइतबार दिउँसो बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

मोर्चाको बिहीबारको बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीले आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन प्रस्ताव गरेका थिए । तर त्यसमा सहमति नजुटेको स्रोतले बतायो ।

यस्तै विपक्षी दलहरुले रास्वपा र राप्रपा बाहेकका दलहरु मिलेर साझा उम्मेदवार बनाउने र त्यसमा नेकपा एकीकृत समाजवादीका कमल भण्डारीलाई उम्मेदवार बनाउने गरी केही दलहरुले छलफल चलाएका छन् ।

यस्तै बालेन शाह समर्थकहरुले पनि उपयुक्त पात्रको खोजी गरिरहेको स्रोतको भनाइ छ । बालेन समर्थक र रास्वपाबीच सहमति कायम गरेर एकजना उम्मेदवार खडा गरेर जित निकाल्ने रणनीतिमा एउटा समूहले गृहकार्य गरिरहेको स्रोतले जानकारी दिएको छ ।

यो निर्वाचन क्षेत्रबाट २०७४ मा तत्कालीन एमालेका घनश्याम भुसाल र २०७९ मा राप्रपाका दिपक बोहोरा विजयी भएका थिए ।

यस्तो छ विगतको नतिजा

२०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ को भूगोल नयाँ भएको हो । जस अनुसार रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वडा नं १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं १४ देखि १९ वडा समेटिएको छ ।

२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि कांग्रेसकै बालकृष्ण खाँण निर्वाचित भए ।

२०७० सालमा दीपक बोहोरा राप्रपाबाट विजयी भए भने घनश्याम भुसाल उपविजेता बने । २०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।

२०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथ पाउँदै विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए ।

समानुपातिक मत कसको कति ?

२०७९ सालको निर्वाचनमा रुपन्देही ३ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?