+
+

डोटीमा चुनाव जितेको एमालेले भन्यो– सत्ता र राज्यस्रोतको चरम दुरुपयोग भयो

एकमात्र महिला मेयरको भनाइ– नमूना काम गरेर एमालेको प्रतिष्ठा जोगाउँछु

 रामहरि ओझा रामहरि ओझा
२०७४ असार २० गते ११:४४

२० असार, डोटी । जिल्लाका ९ मध्ये ५ तह जितेर बहुमत हासिल गरेको एमाले डोटीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षले शक्ति र साधन स्रोतको दुरुपयोग गरेको आरोप लगाएको छ ।

एमाले जिल्ला कमिटी डोटीद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले सत्ता र राज्यस्रोतको चरम दुरुपयोग गरिएको बताए ।

एमालेले निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, राजनीतिकर्मीहरु र आम मतदातालाई धन्यवाद दिएको छ । तर, सत्तापक्षले चुनावको दिनसम्म पनि आफूहरुमाथि आतंक मच्चाएको एमालेको आरोप छ ।

एमालेले पुरानो क्षेत्रीय सदरमुकाम टोटी सिलगढी नगरपालिकासहित ५ स्थानमा पूरै र एक स्थानमा उपाध्यक्ष जितेको आधिकारिक जानकारी मल्लले दिए । उनले भने, ‘हामीले भरसक नौ वटै स्थान नत्र ७ स्थान त सजिलै जित्ने भन्ने अनुमान गरेका थियौं, तर सत्ता, शक्ति र स्रोतको दुरुपयोग भएकाले अरु ठाउँमा सफलता हात पार्न सकिएन ।’

पार्टी संगठन राम्रो हुनु, कार्यकर्ताहरु सक्रिय भएर लाग्नु, समाजमा उम्मेदवारहरुको छवि राम्रो हुनु र एमालेको नीति र विचार जनताले स्वीकार गर्नु जितका मुख्य कारण भएको मल्लले बताए ।

चुनाव हारे लगत्तै कांग्रेसले अन्तरघात र एमालेको पैसाका कारण चुनाव हारिएको निष्कर्ष पत्रकार सम्मेलनमा सुनाएको थियो । कांग्रेसको आरोपको खण्डन गर्दै मल्लले भने, ‘एमालेसँग बाँड्नलाई न पैसा छ, न त एमाले चुनावमा पैसा बाँड्ने निकृष्ट हर्कत गर्छ । एमाले जनताको मतमा विश्वास गर्ने पार्टी हो, जनताले मत दियो र जितियो । सत्ता र स्रोतका दुरुपयोग गर्नेले यस्ता आरोप लगाएका छन् ।’

एमालेले एक्लै जिल्ला समन्वय समिति बनाउने भएकाले अब पार्टीभित्र सल्लाह गरेर उपयुक्त इमानदार व्यक्ति चयन गरिने मल्लले बताए । अब ५ वर्ष जनताको सेवा गरेर पार्टीलाई थप जित दिलाउने एमाले नेताहरुले बताए ।

पत्रकार सम्मेलनमा दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित मेयर मञ्जु मलासीले नगरको विबिकासका लागि ठोस योजना बनाएर लागू गर्ने बताइन् । नगरपालिकालाई नमुना नगरपालिका बनाउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?