२१ असार, दाङ । स्थानीय चुनावमा दाङको लमही नगरपालिकामा रमाइलो संयोग परेको छ । लमही नगरपालिकाको मेयरमा एमालेका कुलबहादुर केसी ८३ मत अन्तरले निर्वाचित हुँदा उनका दाइ बिम बहादुर केसी वडा नम्बर पाँचको अध्यक्षमा प्यानसहित चुनिए । उनी आफूमात्रै चुनिएनन् सोही वडाको मतबाट भाइ कुलबहादुरलाई पनि जिताए ।
एक नम्बर वडामा एक मत अन्तरले एमालेका नुमराज पौडेल प्यानलसहित विजयी भए । नुमराज ५६० मतसहित निर्वाचित हुँदा कांग्रेसका दामोदर पौडेलले ५५९ मत पाए ।
लमही नगरपालिकामा एमालेले जितेका १ र ५ वडामात्र हुन् । कांग्रेसले २, ४, ६, ७, ८ र ९ नम्बर वडामा प्यानलसहित जितेको छ । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु प्यानलसहित विजयी भए ।
दाइको वडाले भाइलाई जितायो
मतगणनाको सुरुदेखि नै कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीसँग पछि परेका एमालेका कुलबहादुर केसीलाई वडा नम्बर पाँचको मतले राहत दिएको थियो ।
सुरुमा कांग्रेसभन्दा ६ सय मत अन्तरले पछि परेको एमालेले वडा नम्बर ६ बाट मतअन्तर घटाउँदै ५ नम्बरमा आइपुग्दा ८३ मतको झिनो अन्तरले विजयी नै बन्यो । अर्थात दाइको वडा नै भाइलाई फाप्यो र मेयर पद दिलाउन सफल भयो ।
मेयर पदमा निर्वाचित केसीले वडा नम्बर ५ बाटै सर्वाधिक मत पाएका थिए । पाँच नम्बर वडाबाट एमालेको पक्षमा १ हजार ३६ मत आयो जुन एमालेका लागि अप्रत्यासित थियो । यो वडाबाट माओवादीलाई ६ सय १६ र कांग्रेसलाई ४ सय ३५ मत गयो ।
पाँच नम्बर वडामा लमही बजार, रातो डाँडा र कोलही पर्दछन् ।
प्रतिक्रिया 4