Comments Add Comment

गाउँ पञ्चायतकी पूर्ववडाध्यक्षले वडा सदस्य जितिन्

 गाउँ र मतदाताको सेवा गर्ने धोको

२२ असार, झापा । झापाको कनकाई नगरपालिका–१ को दलित महिला सदस्यमा निर्वाचित सरिमा दर्जीलाई बुधबार आयोजित सपथ ग्रहण कार्यक्रममा नातिनीले डोहोर्याएर ल्याइन् ।

बुुढ्यौलीले उनलाई भेटिसक्यो । ७० वर्षको उमेर भए पनि कान राम्ररी सुन्छिन् । उमेरले ७ दशक नाघ्यो । तर, उनको जोश अझै तन्नेरीवयकै जस्तो छ ।

अनलाइनखबरकर्मीसँगको कुराकानीमा उनले जोशिँदै भनिन्, ‘मैले गाउँका लागि धेरै थोक गर्नु छ, बाटो बनाउनु छ, खानेपानीको राम्रो व्यवस्था गर्नु छ ।’

भोट माग्ने समयमा आइसियूमा !

गफिँदै गर्दा उनले आफूले गर्न बाँकी अन्य थुप्रै कामहरु सुनाइन् ।

उनको किड्नीमा इन्फेक्सन छ । सपथ ग्रहण कार्यक्रमकै लागि भनेर उनलाई मंगलबार हस्पिटलबाट ल्याइएको थियो । बिरामकै कारण उनी भोट माग्न जान पनि पाइनन् ।

भोट माग्ने समयमा उनले आइसियूमै थन्किनु पर्यो । हस्पिटलले १५ दिनको लागि बिदा दिएको छ । त्यसपछि औषधिले काम नगरे डायलोसिस गर्नु पर्छ ।

३ सय ६२ मतअन्तरले प्रतिद्वन्दीलाई हराइन्

भोट पनि नमागी कसरी जित्नु भो त ? यो प्रश्न गर्दा उनले भनिन्, ‘मैले वडाका नागरिकका यसअघि धेरै थोक गरेको थिएँ, सायद त्यसैको प्रतिफल होला ।’

सरिमा गाउँमा लोकप्रिय छिन् । उनी प्रजापति सामुदायिक वन उपभोक्ता समूहको कोषाध्यक्ष पनि भइन् ।

त्यहाँ रहेर उनले वडामा गरिब तथा विपन्न परिवारलाई शौचालय र घर निर्माण गरिदिने कार्यको अगुवाई गरिन् । धेरै महिलाको नेतृत्व गरिन् । आवाजविहीनहरुको आवाज बोकेर न्याय दिलाउन हिँडिन् ।

फलस्वरुपः उनलाई कनकाई–१ का जनताले ७० वर्षका उमेरमा पनि विश्वास गरे । उनी निर्वाचित भए वडामा कायापलट हुने अपेक्षा राखे । र, मतदान गरे । यी हजुरआमाले ३ सय ६२ मत अन्तरले कांग्रेसका उम्मेदवारलाई हराइन् ।

गाउँ पञ्चायतमा वडाध्यक्ष, अहिले वडा सदस्य

दर्जी जनप्रतिनिधि भएको यो पहिलोपटक भने होइन । यसअघि गाउँ पञ्चायतको वडा नं. १ को वडाध्यक्ष पनि भइसकेकी व्यक्ति हुन्, उनी ।

आफ्नो वडाको विकासका लागि गर्नु पर्ने काम थुप्रै रहेको उनको भनाइ छ ।

‘अब सर्वप्रथम ऐलानी जग्गाको समस्या हटाउन पहल गर्छु’, उनले सुनाइन्, ‘पहिले वडाका आम जनमानसमा गाँस, बास र कपास पुर्याउन पहल गर्नु मेरो प्रमुख दायित्व हुनेछ ।’

त्यसपछि वडामा रहेका सडकहरुलाई कालोपत्रे गर्ने योजना रहेको उनले बताइन् । ‘माथिबाट आएका पैसालाई यताउति गर्न दिन्नँ’, उनी भन्छिन्, ‘अब सबै मिलेर गाउँको विकास गर्नुपर्छ ।’

उनको पुख्यौली घर खोटाङ हो । तर, परिवार यता आएको वर्षौं भइसक्यो । त्यहाँबाट तोपगाछी आएर बसे ।

त्यसपछि २०२७ सालमा कनकाई–१ मा बसेका हुन् । ८ छोराछोरी, ५ नाति र ८ पनाति पनातिनीकी धनी उनका श्रीमान् ०५५ सालमा बितिसकेका छन् । उनी सम्भवतः झापाकै ज्येष्ठ जनप्रतिनिधि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment