Comments Add Comment

धितोपत्र बोर्डको ढोकामा लगानीकर्ता, कर्मचारीलाई प्रवेश निषेध !

बोर्डका कर्मचारीहरु घाम ताप्दै

१० चैत, काठमाडौं । सेयर बजार विकास र बिस्तारका लागि भन्दै आन्दोलनको घोषण गरेको लगानीकर्ताहरुको एउटा समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा धर्ना दिएको छ । सेयर लगानीकर्ता दबाव समूहको टोली जावालाखेलस्थित बोर्डको कार्यालयमा बिहानै ताला लगाएर धर्नामा बसेको हो ।

लगानीकर्ताहरुले मूख्य ढोकामा ताला लगाएर ढोकाकै अगाडि धर्नामा बसेपछि बोर्डका कर्मचारीहरु भने कार्यालयमा पस्न पाएका छैनन् । ताला लगाएर ढोकामै धर्ना सुरु भए पछि बोर्डको दैनिक कामकारबाही समेत ठप्प भएको छ ।

बोर्डका एक जना कर्मचारी कार्यालयभित्रै थुनिएका छन् । बाँकी कुनै पनि कर्मचारीहरु कार्यालय प्रवेश गरेका छैनन् । यसले बोर्डबाट हुने दैनिक कामकारबाही पूर्ण रुपमा प्रभावित भए पनि बोर्डका अधिकारीहरु भने समस्या समाधानमा अग्रसर देखिएका छैनन् ।

धर्नामा सहभागी लगानीकर्ताहरुका अनुसार बोर्डका अधिकारीहरुले अहिलेसम्म औपचारिक वा अनौपचारिक समस्या समाधान गर्न वार्तामा बस्न प्रस्ताव गरेका छैनन् ।
यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्नो पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउँदै आएको छ ।

यसअघि पनि अथमन्त्री खतिवडाका साथै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतको राजीनामा समूहले माग गर्दै आमरण अनसन बसेको थियो ।

आफ्ना माग पूरा नभइ आमरण अनसन तोड्न बाध्य भएको समूहले त्यसबेला आफ्नो आंशिक मागहरु पूरा भएको दाबी गर्दै आएको छ । यसपटक भने समूहले गभर्नर, बोर्डका अध्यक्षलगायतको राजीनामा मागलाई भने अघि सारेको छैन ।

बोर्डका कर्मचारीहरु घाम ताप्दै

लगानीकर्ताहरुले ताला लगाएर बोर्डमा धर्ना बसेपछि कार्यालयका कर्मचारीहरु भने कार्यालय अघि घाम तापेर बसेका छन् । बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालसहितका कर्मचारीहरु कार्यालय अघिको चौउरमा बसेर घाम तापिरहेका छन् । पौड्यालसहित करिब ३ दर्शन कर्मचारीहरु बाहिर घाम तापेर आनन्द लिइरहेको बोर्डकै एक कर्मचारीले बताए ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की भने कार्यालय पुगेका छैन । लगानीकर्ताहरुले धर्ना दिने भए पनि कार्की घरमै बसिरहेका छन् ।

बोर्डकै अर्का कार्यकारी निर्देशक निरज गिरी भने सम्पर्क बिहिन बनेका छन् । ताला लगाएको केहिबेरसम्म सम्पर्कमै रहेका गिरी यतिबेला मोवाइल अफ गरेर बसेका छन् । प्रवक्तासमेत रहेका गिरी मोवाइल अफ गरेर सम्पर्कबिहीन भएपछि सूचना आदानप्रदानमा समेत समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment