Comments Add Comment

बुलिङटारमा ठेक्का विवाद : प्रमुख प्रशासकीय अधिकृतले कार्यालय छाडे

१० चैत, नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्ष शशी बस्ताकोटी र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीबीच विवाद चुलिएको छ । विवाद बढेपछि प्रमुख प्रशासकीय अधिकृतसहितका तीन जना कर्मचारी गाउँ छाडेर सदरमुकाम कावासोती आएका छन् ।

उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर मन्त्रालयमा हाजीर हुन जानेसम्मको तयारी गरेका छन् । यद्यपि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने समस्या समाधानको पहल गरेको अनलाइनखबरसँग बताए । उनले भने, ‘उहाँहरुबीच विवाद बढेको मिडियाबाट थाहा पाएपछि मैले प्रमुख प्रशासकीय अधिकृतलाई सोधेको थिएँ, उहाँले डिटेल कुरा भेटेर भन्छु भन्नुभएको छ । भेटेपछि वास्तविक कुरा थाहा हुन्छ । विवाद रहेछ भने पनि हामी सहजीकरण गरेर मिलाउने प्रयास गर्छौं ।’

विवाद के हो ?

प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षबीच नदीजन्य पदार्थको ठेक्कापट्टाको विषयमा विवाद थियो । यो विवाद बढेपछि काम गर्ने वातावरण नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीसहित लेखापाल रघु काफ्ले र इन्जिनियर सञ्जय कुमालले कार्यालय छाडेर सदरमुकाम आएर बसेका हुन् ।

अधिकारीका अनुसार स्थानीय तहमा भएका नदीजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा गाउँपालिकाका अध्यक्षको चित्त बुझेको थिएन । उनले टेण्डर गरिसकेपछि पनि गाउँपालिकाका अध्यक्ष बस्ताकोटी आफैंले खोलामा ट्याक्टर हाल्न लगाउने गरेपछि प्रहरी प्रशासन लगाइएको थियो । विवादको बढेको यही विषयबाट हो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जनता लगाएर आक्रमणको धम्की दिइएकाले आफूहरुले काम गर्न नसकेको बताए । उनले भने, ‘यहाँ जनप्रतिनिधिको राज चल्छ, कर्मचारीको चल्दैन । जनता उठाएर लखेटिन्छ भनेपछि कार्यालयमा बस्न नसकेको हो ।’

अध्यक्ष बस्ताकोटीले भने जनप्रतिनिधि नहुँदाको जस्तो गरेर एकलौटी कार्यालय चलाउन खोजेकाले यस्तो कर्मचारी नचाहिएको भनेर बताएको तर कुनै धम्की नदिइएको बताए । उनले भने, ‘जनप्रतिनिधि नहुँदा जसरी गाविस कार्यालय चल्ने गर्दथ्यो त्यसरी चलाउने भए हामी किन चाहियो ? हामीले भनेअनुसार काम नगर्ने कर्मचारी चाहिँदैन भनेको हुँ ।’

टेण्डर खोल्ने बेलामा समेत आफूलाई रोहबरमा नराखेर प्रमुख प्रशासकीय अधिकृतले मनपरी ढंगले एक्लै ठेक्का खोल्ने र सदर गर्ने गरेको बताए । उनले भने, ‘तथापि यस विषयमा मेरो विमति होइन, गाउँपालिकाको आम्दानी ठाउँ नै त्यही हो । तर, प्रक्रिया र पद्दतिको कुरा हो ।’

उनले भने, ‘ककसले ठेक्का हाले पनि थाहा छैन, कसलाई पर्यो पनि थाहा छैन । कर्मचारी एक्लैले गाउँपालिका चलाउने भए जनप्रतिनिधि किन चाहियो ?’

अध्यक्षले आफूले कर्मचारीलाई काम गर्न नदिएको नभई प्रमुख प्रशासकीय अधिकृतले आफूसहितका जनप्रतिनिधिहरुलाई काम गर्न नदिएको आरोप लगाए । उनले भने, ‘जनप्रतिनिधि नभएको अवस्थामा जसरी चलाइयो, अहिले पनि त्यसरी नै चलाउन खोज्दाको परिणाम हो यो ।’

बुलिङटारका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाउँपालिका छाड्नुलाई कतिपयले विप्लव समूहको धम्कीसँग जोडेर पनि हेर्ने गरेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए पनि नवलपुरका स्थानीय तहमा चन्दा माग्ने र जनप्रतिनिधिको राजीनामा माग्ने गर्नाले जनप्रतिनिधि आतंकित भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएपछि शहरमा नेकपाको गतिविधि घटे पनि गाउँकेन्द्रित गतिविधि कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment