Comments Add Comment

भोजपुरका धुर्वराजः जसले महागठवन्धनलाई हराएर राज गरे

यी हुन् महागठबन्धन हराउने एमालेका भोजपुरे नेता

२२ असार, भोजपुर । एक समय चितवनमा धुर्बे हात्तीको आतंक थियो । धेरैलाई आतंकित पार्ने धुर्वे हात्ती खोज्न सरकारले नै टोली खटाएको थियो । भोजपुरमा यसपालि धुर्वे हात्तीको चर्चा चुनावभरि चल्यो । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएका कारण एमालेका धुर्ब राईलाई ‘धुर्वे हात्ती’को संज्ञा कार्यकर्ताहरुले दिएका हुन् ।

टिकट पाउनासाथ धेरैले त पत्याएका थिएनन्, राजनीतिमा केश फुलाएका रामसिंह राईंसँग ‘ठिटो’ धुर्वराजले टक्कर देलान् भनेर । तर, जिल्लाका अधिकांश ठाउँमा एमाले हारिरहँदा टेम्के मैयुम गाउँपालिकामा भने जित्यो ।

कुनै बेला धुर्व राई अखिलको राजनीतिमा बामे सर्दा नै रामसिंह एमालेको जिल्ला नेतका रुपमा स्थापित थिए । तर, अशोक राईहरुसँग रामसिंहले पनि एमाले छाडे ।

स्थानीय चुनावमा संघीय समाजवादीले रामसिंह राई प्रतिष्ठाको उम्मेदवार पनि बनायो । किनकी उसका केन्द्रीय नेताहरु हेमराज राई, अजम्बर काङमाङ लगायत सोही गाउँका हुन् । त्यसो त एमालेका केन्द्रीय नेताहरु जयन्ती राई, हरि राई, जिल्ला सचिव शरण राईको पनि टेम्के मैयुममा गाउँपालिकाकै हुन् ।

चुुनावमा होमिँदै गर्दा एमालेले हार्दा टेम्के मैयुम र साल्पासिलिछो गुम्न सक्ने बताएको थियो । बाँकी सबै जित्ने आंकलन थियो । तर, परिणाम ठीक विपरीत आयो ।

जित्छौं भनेको भोजपुर नगरपालिकाका साथै अरुण, षडानन्द र आमचोकमा हार्दा टेम्के मैयुममा ध्रुवराजले शानदार जित निकाले । एमालेका लागि यो केवल एउटा स्थानीय तहको जित मात्र होइन, महागठवन्धनविरुद्धको जित थियो ।

ध्रुवराजले महागठबन्धनलाई १७० मतले हराए । उनले २७९० मत ल्याए भने महागठबन्धनका उम्मेदवार रामसिं राईले २६२० मत प्राप्त गरे । वडा नं. ६, ७, ८ र ९ कोट, गोगने, लेखर्कको मत नै ध्रुवको लागि निणर्ायक मत बन्न पुग्यो ।

को हुन् ध्रुवराज ?

वि. सं. ०३९ सालमा भोजपुरको पश्चिम नागीमा सामान्य परिवार जन्मिएका राईले भोजपुर बहुमुखी क्याम्पस हुँदै त्रिवि कीर्तिपुर क्याम्पसबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गरेका छन् । अनेरास्ववियूबाट राजनीतिमा होमिएका धुर्वराज भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति भएका थिए ।

अखिल सचिवालय सदस्यसम्म पुगेका उनी केन्दि्रय उपाध्यक्षमा भने पराजित भएका थिए । उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ नामले पनि चिनिन्छ । २०६२/६३ को जनआन्दोलनमा अग्र पंक्तिमा हिंडेका, युवामाझ लोकपि्रय ध्रुवलाई जिताउन एमाले कार्यकर्ताहरु एक ढिक्का बनेर सबैको घरदैलोमा पुगे । विभिन्न पेशा, व्यवसायमा रहेकाहरु विराटनगर, काठमाडौंमा बसेका युवाहरुबाट २० हजारसम्म व्यक्तिगत खर्च गरेर भोट हाल्नकै लागि आए ।

उसो त ध्रुवराजसँग प्रतिस्पर्धामा उत्रिएका संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामसिं राई पनि जिल्लामा इमान्दार, अहिलेसम्म कतै लाभको पदमा नबसी त्यागी छवि बनाएका नेता हुन् तर, यतिले मात्र विजयी गराउन सकेन ।

एमालेको अर्को ऐतिहासिक जित

भोजपुरमा यो पटक एमाले जिल्ला अध्यक्ष प्रेमकुमार राई, हतुवागढी गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्ना उनीविरुद्ध पनि ‘महागठबन्धन’ बन्यो । हतुवागढीमा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएर एमाले इतरका दलले टेम्के मैयुममा जस्तै एमालेविरुद्ध महागठवन्धन बनाएका थिए ।

तर, जिल्लामा सबैभन्दा रोचक प्रतिस्पर्धा पनि त्यहीँ भयो । एमालेले एक्ला एक्लै लडेका ठाउँमा अप्रत्याशित पराजय भोग्दा महागठबन्धन भएका ठाउँमा भने जित निकालेर सबैलाई चकित पार्‍यो । जिल्लाभरको समग्र नतिजा सन्तोषजनक नहुँदा पनि एमालेले महागठबन्धनलाई पराजित गरेर शन्तोष गरेको छ ।

को हुन् प्रेमकुमार राई ?

हतुवागढी गाउँपालिकामा संयुक्त गठबन्धनलाई एक्लै परास्त गर्ने एमालेका प्रेमकुमार राई जिल्लाको कर्णाली भनेर चिनिने दक्षिण क्षेत्रका स्थापित नेता हुन् । त्यो क्षेत्रका विकासमा अगुवाई गरिरहेका कारण उनी लोकपि्रय बनेका थिए ।

विगतको पृष्ठभूमि शिक्षण पेश रहेका राईले दक्षिणी क्षेत्रलाई तराईसँग जोड्ने पाखि्रबास-मुगा-घोडेटार र भोजपुर सदरमुकामसम्म जोड्ने सडक लगायत स्थानीय विकासका काममा नेतृत्वदायी भूमिका खेलेका छन् ।

महागठबन्धनका उम्मेदवार मदन खुलाललाई २ सय ३९ मतले पछि पार्दै राई ३ हजार ४ सय ९९ मत ल्याएर विजयी बने । कुल १२ दहजार ६ सय ३४ मतदाता रहेको हतुवागढी गाउँपालिकामा वडा नं. २ र उनको जन्मथलो ३ नं. सिन्द्राङ्ग निणर्ायक बन्न पुग्यो । जसले उनको जित सम्भव भयो ।

५२ वर्षअघि भोजपुरको दक्षिण सिन्द्राङ्गमा जन्मिएका राई ०४३ सालमा अनेरास्ववियुको रत्नराज्यलक्ष्मी क्याम्पस प्रारम्भिक कमिटीबाट राजनीतिक यात्राको थालनी गर्दै स्ववियू सदस्य भए ।

घोडेटारस्थित सगरमाथा माविमा एसएसलसी गरेका राई त्यहिं विद्यालयमा स्वयंसेवक शिक्षक भएर ०२८ सालमा शिशु शिक्षा प्रावि हुँदै ०४६ सालबाट चण्डेश्वरी प्रावि खैराङ्गमा स्थायी शिक्षण पेशामा आवद्ध भए ।

पार्टीको विभिन्न जिम्मेवारी लिँदै ०६६ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् हुँदै ०७० बैशाखमा पार्टीको सातौं जिल्ला अधिवेशनबाट राई जिल्ला अध्यक्ष बनेका थिए ।

शेरधन राईको गाउँपालिकामा माओवादीको जीत

उता एमाले नेता एवं पूर्वमन्त्री शेरधन राईको गाउँपालिका आमचोकमा चाहिँ माओवादीले जितेको छ । त्यहाँ माओवादीका अशोक राईले एमालेका बहादुर राईलाई हराएका छन् ।

भोजपुरमा माओवादीले यही एउटा गाउँपालिका जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment