Comments Add Comment

दोस्रो चरणको अन्तिम परिणामः धरानमा हृयाट्रिक गर्ने यस्तो छ एमालेको हिसाब

१६ वडाको गणना सकिँदा एमाले ११ र कांग्रेस ५ वडामा बिजयी

२६ असार, धरान । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । गणनामा पटक-पटक विवाद भएका कारण धरानको परिणाम ढिलो भएको हो ।

अब कुनै व्यबधान आएन भने धरानको अन्तिम मत परिणाम आज साँझसम्म आउन सक्छ । भर्खरै १६ नम्बर वडामा एमालेको प्यानल जितेपछि अब ११, १५ र १७ नम्बरको गणना सकिन बाँकी छ । ती तीनै वडाको मतगणना भइरहेको छ ।

करीव ८ हजार जति मत गन्न बाँकी हुँदा मेयरमा एमालेका उम्मेदवार तारा सुब्बाले करीव साँढे ३ हजार र उपमेयरमा मञ्जु भण्डारी सुवेदीले करीव ४ हजारको अग्रता लिएका छन् । यो भनेको धरानमा एमालेको जित करीवकरीव सुनिश्चित हो ।

पछिल्लो मतपरिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा एमालेको फराकिलो अग्रता छ । एमालेका मेयर उम्मेदवार सुव्बाले १५ हजार ४३५ का साथ अग्रता लिइरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका तिलक राईले १२ हजार ६९८ मतका साथ पछ्याइरहेका छन् । मेयरमा माओवादी, संघीय समाजवादी फोरमसहित ८ दलका साझा उम्मेदवार अइन्द्रविक्रम बेघाले ८ हजार ७८४ मत पाएर तेस्रो स्थानमा छन् ।

उपमेयरमा एमालेकै मन्जु भण्डारीको अग्रता छ । उनी १५ हजार ६९४ मतका साथ पहिलो स्थानमा छिन् भने कांग्रेसकी श्याम रेग्मीको मत ११ हजार ५५३ मत छ । आठ दलीय गठवन्धनवाट उपमेयरका उम्मेदवार संघीय समाजवादी फोरम नेपालका पारस काम्माङ राईले ३ हजार ६३६ मत पाएको अवस्था छ ।

वडामा पनि एमाले नै हाबी

धरान उपमहानगरपालिकामा २० वटा वडा छन् । अहिलेसम्म १६ वडाको गणना सकिँदा ११ वडामा एमालेले विजय भएको छ । ती सबै वडामा मेयर र उपमेयरमा पनि एमालेकै मत बढि आयो । एमालेले जितेका वडाहरुमा ३, ४, ६, ७, ८, ९, १०, १२, १३, १९ र २० हुन् । १६ नम्बर वडाको डेढ सय भोटमात्र गन्न बाँकी रहँदा एमालेले फराकिलो अग्रता लिएकाले त्यहाँ जित पक्का छ ।

यसैगरी कांग्रेसले ५ वटा वडा जितेको छ । कांग्रेसले जितेका वडाहरु १, २, ५, १४ र १८ हुन् । गणना भइरहेका बाँकी वडाहरुमा कांग्रेसको अग्रता छैन ।

मतणना भइरहेको वडा नम्बर ११ र १५ मा मेयर र उपमेयरसहित एमालेको प्यानलले करीव ५ सय मतले अग्रता लिएको छ । १७ नम्बर वडामा वडाध्यक्षमा माओवादीको करीव ३ सय मतको अग्रता छ । तर, मेयर र उपमेयरमा भने एमालेकै उम्मेदवारको अग्रता छ ।

प्रत्येक वडामा ३ देखि ५ सय मतको अग्रता भइरहेकाले अन्तिम परिणाम सार्वजनिक हुँदा ५ हजारसम्मको मतान्तरमा मेयर उपमेयर जित्ने आँकलन गरिएका एक एमाले नेताले बताए ।
शुरुमा वडा नम्बर १ गणना गर्दा अग्रता लिएको कांग्रेसलाई उछिनेर अघि बढेको एमालेले त्यसयता पछि फर्किनु परेको छैन । तारा सुब्बाको टिमको बिजयसँगै धरानमा एमालेको हृयाटि्रक हुनेछ । यसअघि २०४९ मा एम्ाालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयर निर्वाचित भएका थिए ।

पुनःगणनामा एमाले नै विजयीः सभागृह बाहिर भिडभाड

एमालकोे धरानमा बिजय सुनिस्चित भएको भन्दै कार्यकर्ता र शुभेच्छुकहरु सभागृह अगाडि जम्मा हुन थालेका छन् ।

निर्वाचन आयोगले आजै साँझ ५ बजेसम्म मतगणना सक्ने गरी तीन चार ठाउँमा गणना अघि बढाएको छ ।

यसअघि ९ र १० वडाको गणनाका क्रममा अरु पार्टीको मत एमालेमा जोडिएको भन्दै विवाद भएपछि पुनः गणना भएको छ । पुनः मतगणनामा एमालेले दुवै वडा जितेको छ । धरान उपमहानगरमा जित सुनिश्चित भएको भन्दै एमाले नेताहरु पनि धरानतिर जम्मा भएका छन् । सुनसरीका धेरै स्थानीय तहमा पराजय भोगेको एमालेलाई दुई उपमहानगर इटहरी र धरानले राहत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment