Comments Add Comment

मोरङ जिससमा कांग्रेस एक्लियो, एमालेको नेतृत्वमा चार दलको गठबन्धन

नरेश पोखरेल बन्ने भए मोरङ जिससको सभापति

२८ असार, विराटनगर । मोरङको जिल्ला समन्वय समिति गठन गर्न नेपाली कांग्रेस बाहेक सबै दलबीच गठबन्धन हुने भएको छ । जिल्लाका १७ स्थानीय तहको परिणाम आउँदा जिल्ला समन्वय समितिमा कुनै पनि पार्टीको एकल बहुमत नभएपछि एमालेको नेतृत्वमा अन्य साना दलको गठबन्धन हुने भएको हो ।

स्रोतका अनुसार एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकबीच सहमति भएको छ । गठबन्धनबाट मोरङ जिल्ला समन्वय समितिको प्रमुखमा एमाले नेता नरेश पोखरेल उम्मेदवार बन्नेछन् ।

पोखरेलले एमाले मोरङको नेतृत्व दुर्इ कार्यकालसम्म गरेका थिए । पोखरेल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १२ बाट सदस्य निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिको उपप्रमुख माओवादीले पाउने भएको छ । त्यस्तै ९ सदस्यीय समन्वय समितिमा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले ३/३ र एमालेले एक सदस्य पाउने सहमति भएको माओवादी नेता कुशल लिम्बुले बताए ।

मोरङमा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहमा उपप्रमुख जितेको छ । एमालेले ५ स्थानीय तहमा प्रमुख र ९ स्थानीय तहमा उपप्रमुख जितेको छ । यसो गर्दा एमालेसँग १४ र कांग्रेससँग १३  जिल्ला समन्वय समितिमा मतदान गर्ने मत छ ।

समिति गठनका लागि १८ संख्या चाहिने भएकाले दुवै दलले साना दलसँग छलफल थालेका थिए । मोरङमा माओवादीसँग २, फोरम लोकतान्त्रिकसँग ३ र संघीय फोरमसँग २ मत रहेको छ ।

एमालेले जिल्लाका सबै दललाई आफ्नो नेतृत्वमा ल्याएपछि जिल्लाभर बहुसंख्यक स्थानीय तह जितेको कांग्रेसले जिल्ला समन्वय समितिमा भने प्रवेश नपाउने भएको छ ।

एमालेले आफ्नो बहुमत नरहेका जिल्लामा यसरी नै गठबन्धन बनाएर नेतृत्व लिने नीति लिएको देखिएको छ । दाङमा माओवादीसँग र बाँकेमा संघीय समाजवादी फोरमसँग गठबन्धन गरिसकेको एमालेले रुपन्देहीमा पनि फोरमसँग तालमेल गर्ने सम्भावना छ ।

एमालेले अहिलेसम्म निर्वाचन भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एकलौटी जिसस बनाउदैछ । कांग्रेसले ९ र माओवादीले ३ जिल्लामा एकलौटी जिसस बनाउनेछन् । कसैको बहुमत नरहेका २५ मध्ये तीन जिल्लामा एमालेले प्रमुख लिएर तालेमेल गरिसकेको छ ।

यो पनि पढ्नुहोस् 

३० जिल्लाको जिससमा एमालेको एकलौटी, कांग्रेस ९ र माओवादीको ३ जिल्लामा बहुमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment