२८ असार, काठमाडौं । एएफसी अण्डर- २३ च्याम्पियनसिप छनौट प्रतियोगिताका लागि युएई जाने नेपाली युवा फुटबल टोलीलाई बिदाई गरिएको छ ।
एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका असदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले नेपाली टोलीलाई जितको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा राखेप सदस्य सचिव विष्टले नेपाली टोलीले प्रतियोगिता जितेपछि सरकारले घोषणा गरेका पुरस्कार रकम यथाशीघ्र उपलब्ध गराउने आश्वासन दिए ।
नेपाली टोलीले छनौट प्रतियोगिता अघिको मैत्रीपूर्ण अभ्यास खेलमा हिजोमात्र बंगलादेशको युवा टोलीलाई एक शून्यले पराजित गरेको थियो । बंगलादेशसँग खेलेको नेपाली टोलीले नै युएईमा प्रतियोगिता खेल्नेछ ।
नेपाली टोली बिहीबार बिहान युएई प्रस्थान गर्नेछ ।
सन् २०१८ मा चीनमा हुने एएफसी अण्डर- २३ च्याम्पियनसिपको छनौट चरणमा नेपाल समूह डी मा परेको छ । सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका समूहबिजेता र १० समूहका उत्कृष्ट ५ उपबिजेता फाइनल प्रतियोगिताका लागि छनौट हुनेछ । चीन आयोजकका हैसियदले प्रतियोगितामा स्वतः छनौट भएको छ ।
आगामी शनिबारदेखि सुरु हुने छनौट प्रतियोगितामा नेपालले पाँच दिनको बीचमा तीन खेल खेल्नेछ । नेपालले पहिलो खेल आयोजक युएईसँग शनिबार खेल्नेछ भने दोस्रो खेल सोमबार उज्वेकिस्तान र तेस्रो खेल बुधबार लेवनानसँग खेल्नेछ ।
प्रतिक्रिया 4